सीमामा भारतीय ड्याम, १३ सय परिवार डुबानको जोखिममा

मुख्य समाचार

शिवरत्नपुर (कैलाली) – सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ। भारतीय पक्षले कैलारी गाउँपालिकाको वडा नम्बर ३, ५ र ७ को सीमामा ड्याम निर्माण गर्न थालेको हो। सन्धि सम्झौता विपरीत मनपर्दी तरिकाले सीमामा आफूखुसी भारतीय पक्षले ड्याम निर्माण गर्न थालेपछि यो क्षेत्रको बस्ती डुबानको उच्च जोखिममा परेको छ।

वर्षातमा उसैपनि डुबानमा परिरहने यो बस्ती नजिकै भारतीय पक्षले ड्याम निर्माण गर्दा झनै जोखिममा परेको वडा नम्बर ३ का वडाध्यक्ष कैलाश चौधरीले बताए। उनले भने,‘ड्याम निर्माणले यो क्षेत्रका करिब १३ सय घरधुरी वर्षातमा डुबानमा पर्ने निश्चित छ।’ अग्लो ठाउँबाट पानी निकास हुने स्थानमै १२ फिट अग्लो माटोको ड्याम निर्माण गरिन थालिएपछि बस्ती डुबानको उच्च जोखिममा रहेको उनले बताए। ‘यो ड्यामले वर्षामा हामी डुबानको चपेटामा पर्ने छौँ,’ उनले भने,‘हामीले पटक–पटक ड्याम निर्माण नगर्न भन्दा भारतीय पक्षले उल्टै हामीलाई आफ्नो जमिनमा हामीे जे पनि निर्माण गर्न पाउँछौँ भन्दै हकार्ने गर्छन्।’

यसअघि भारतीय पक्षले धनगढी नजिकै रहेको कञ्चनपुरको डोकेबजार क्षेत्रमा पनि एकलौटी रुपमा सीमा नजिकै ट्रेन्च खनेको थियो। भारतीय सीमा गौरीफन्टा नाका, धनगढी र कञ्चनपुरको डोकेबजार जोडिएको सीमा क्षेत्रमा भारतीय पक्षले एकलौटी रुपमा ट्रेन्च खनेर तारबार गरेको छ।
सीमामै ड्याम निर्माण गर्दा कैलारी गाउँपालिकाको वडा नम्बर ३ को तीन सय, वडा नम्बर ५ को पाँच सय र वडा नम्बर ७ को पाँच सय गरेर करिब १३ सय घरधुरी डुबानमा पर्ने त्यस क्षेत्रका प्रदेश सभा सदस्य वीरमान चौधरीले बताए। ‘सन्धि सम्झौतामा सीमाको एक किलोमिटर वरपर संरचना बनाउँदा दुवै देशको सहमति हुनुपर्ने भए पनि यहाँ एकतर्फी रुपमा नेपाली बस्ती डुबानमा पर्ने गरी ड्याम बनाइएको छ,’ उनले भने,‘अहिलेसम्म साढे तीन किलोमिटर ड्याम निर्माण भइसकेको छ।’

भारतीय पक्षको एकतर्फी रुपमा धमाधम निर्माण गर्न थालिएको ड्यामले आफूहरु वर्षातमा डुबानमा पर्ने भन्दै वडा नम्बर ७ का स्थानीय दीपक सुनारले भने,‘उस्तै पनि होँचो ठाउँ हो यो, वर्षातमा डुबान पर्छ, ड्याम निर्माणले त बर्खामा यो बस्ती पोखरीमा परिणत हुने हो।’ उनले भारतले एकतर्फी निर्माण थालेको ड्यामलाई नेपाल सरकारबाट रोक्न पहल गर्नुपर्ने बताए। ‘सरकारले हाम्रो अवस्था हेरेर ड्याम निर्माण रोक्न लगाउनुपर्छ,’ उनले भने,‘नत्र हामी डुबानमा पर्छौ।’ बस्ती पूरै डुबान पर्ने भएकाले ड्याम निर्माण कार्य रोकेर बनेको ड्याम भत्काउन सरकारले पहल गर्नुपर्ने अर्का स्थानीय बतासु चौधरीले बताए। हरेक वर्षातमा डुबानमा पर्ने बस्ती नजिकै ठूलो ड्याम निर्माण गर्दा झनै जोखिममा पर्ने उनले बताए।

आफूले पनि पटक–पटक सीमामा भारतीय पक्षसँग ड्याम निर्माण नगर्न आग्रह गर्दा नटेरेको बताउँदै नेपाल–भारत सम्बन्ध विस्तार समितिका संयोजक तथा वडा नम्बर ५ का विष्णु चौधरीले भने,‘भारतीय अधिकारीहरुलाई सन्धि सम्झौता विपरीत ड्याम निर्माण किन गरेको भन्दा सुने पनि नसुनेझै गर्ने गर्छन्।’

कैलालीका प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठले सीमा नजिक माटाको ड्याम बनाएको जानकारी पाएपछि बिहीबार सशस्त्रको डिएसपी नेतृत्वमा एक टोली अनुगमनमा लागि पठाएको र शुक्रबार वन अधिकृतको टोली पनि पठाएर सवै कुरा बुझेर केन्द्रमा पठाउने बताए। नेपाली भूमी डुवानमा पर्ने गरी ड्याम बनाएको स्थानीयको गुनासो आएको उनले बताए।

यसअघि भारतीय पक्षले धनगढी नजिकै रहेको कञ्चनपुरको डोकेबजार क्षेत्रमा पनि एकलौटी रुपमा सीमा नजिकै ट्रेन्च खनेको थियो। भारतीय सीमा गौरीफन्टा नाका, धनगढी र कञ्चनपुरको डोकेबजार जोडिएको सीमा क्षेत्रमा भारतीय पक्षले एकलौटी रुपमा ट्रेन्च खनेर तारबार गरेको छ। सीमा क्षेत्रमा रहेको भारततर्फको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु ओहोरदोहोर गर्न थालेको, चोरी सिकारी बढेको र जंगलबाट तस्करी बढेको भन्दै भारतीय पक्षले ट्रेन्च खनेर तारबार गरेको हो। दुधुवा नेसनल पार्कसँग जोडिएको नेपालतर्फको लालझाडी जंगल जोडिएको अन्तर्राष्ट्रिय जैविक मार्गका रुपमा रहेको सो क्षेत्रमा ट्रेन्च खनेर तारबार गरिँदा वन्यजन्तु ओहरदोहार गर्न नसक्ने भन्दै वन्यजन्तु संरक्षणकर्मीले आपत्ती जनाएका थिए। स्थानीयको विरोध र संरक्षणकर्मीको आपत्तीपछि डोकेबजार क्षेत्रमा करिब एक हप्ता ट्रेन्च खन्न रोकेको भारतीय पक्षले पुनः निर्माण कार्य थालेको थियो। भारतीय पक्षले डोकेबजार क्षेत्रमै सीमा नजिक तीन किलोमिटर लामो ट्रेन्च खनेको हो।

दुधुवा नेशनल पार्कबाट वन्यजन्तु नेपालतर्फ जाने र चोरी सिकारी बढ्न थालेपछि आफूहरुले भारतीय क्षेत्रमा ट्रेन्च खनेर तारबार लगाउन थालेकाे एसएसवीका अभय यादवले बताए। उनले भने,‘दुधुवा नेश्नल पार्कको चित्तल नेपालतर्फ जाने र चोरी सिकारी हुन थालेपछि सीमामा ट्रेन्च खनेर तारबार लगाएका हौँ।’ भारत सरकारको वन मन्त्रालयबाटै यसका लागि ट्रेन्च खन्न र तारबार लगाउन अह्राएको उनले बताए। भारतीय वन विभागका फरेष्टर मनोजकुमारले दुधुवा नेशनल पार्कमा रहेका बाघ, चित्तलका साथै अन्य वन्यजन्तु नेपाल जान थालेपछि आफूहरुले सीमामा ट्रेन्च खनेको बताए।

सीमा नजिकै गहिरो ट्रेन्च खन्दा वर्षायाममा डोकेबजारमा डुबानको समस्या हुने भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन्। भारतीय पक्षले एकलौटी रुपमा आफूखुसी तारबारसहित ट्रेन्च खनेपछि बर्खायाममा नेपालतर्फको डोकेबजार डुबानको चपेटामा पर्ने डोकेबजारका स्थानीय प्रेम थापाले बताए। उनले भने,‘नेपालतर्फ हामीले केही निर्माण गर्न थाले भारतीय पक्षले अवरोध गर्छ, तर आफू भने पटक–पटक यसरी नै नेपाललाई डुबान पार्नेगरी संरचना तयार गर्छ।’ भारतीय पक्षको एकलौटी निर्णय गतल भएको उनले बताए। सीमामा रहेको दुधुवा नेश्नल पार्कमा गहिरो ट्रेन्च खन्दा जैविक मार्गका रुपमा रहेको जंगलमा वन्यजन्तुहरु वारपार गर्न नसक्ने उनले बताए। उनले भने,‘गहिरो ट्रेन्च खनिँदा जैविक मार्ग जोडिएको दुधुवा नेश्नल पार्क–लालझाडी जंगल र शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु ओहोरदोहोर गर्न सक्दैनन्।’ अर्का स्थानीय विकास घोडासैनीले डोकेबजारको छेवैमा रहेको सीमामै ट्रेन्च खनिँदा बर्खायाममा नेपाली भूमि डुबानमा पर्ने बताए। उनले भने,‘भारतीय पक्षले यो कार्य गलत हो, गहिरो ट्रेन्चले डोकेबजार डुबानको चपेटामा पर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *