नर्सको एप्रोन उतारेर कोरिया छिरेकी दिपाको कथा !

कोरिया समाचार

दिपा मेवाहाङ राई

‘तपाईं त स्वास्थ्यकर्मी । देश यस्तो हाहाकारमा छ, तपाईं भने पराईभूमीमा ।’

दिपा मेवाहाङ राई-लेखक

एक परिचितको सन्देश च्याट बक्समा आइपुग्यो, ठीक त्यतिबेला, जतिबेला नेपालमा कोभिड-१९ तीव्र गतिमा फैलिरहेको खबर थियो । अस्पतालहरू बिरामीले टनाटन भरिन थालेका थिए । बेड नपाएर कतिपय बिरामी अस्पताल परिसरमै पल्टाइराखेको हृदयविदारक दृश्य सामाजिक सञ्जालमा छरपष्ट थियो । अक्सिजनको अभाव विकराल थियो । स्वास्थ्यकर्मीको अभाव उस्तै देखियो । एकजना स्वास्थ्यकर्मीले एकैपटकमा धेरै बिरामी हेर्नुपरेको थियो । यस्तो लाग्दै थियाे, देश नै बिरामी छ । मन भारी भइरह्यो ।

भन्ने के ? आफ्नै स्वाभीमानमाथि प्रहार गरेजस्तो लाग्यो । लेखेँ- ‘पूर्व स्वास्थ्यकर्मी पो त ! परदेशमा त झन् खाँट्टी श्रमिक ।’

पछाडि जोडिदिएँ मुस्कानवाला इमोजी । मनमा चोट लागेको थियो । तर इमोजीले ढाकिदियो ।

अनि मनमा विगतका दिन स्मृति बनेर दौडिन थाले ।

०००

अढाई दशकअघि । काठमाडाैंको थापाथलीस्थित प्रसूतिगृहमा म जन्मिदा नै मेरो साईनो अस्पतालसँग जोडिइसकेको थियो । त्यसयता कतिपटक अस्पताल भर्ना भएँ, हेक्का राखिरहनु आवश्यक ठानिनँ । तर, जबदेखि मभित्रको चेतनाले मलाई घच्घच्यायो, त्यतिबेलादेखि नै म स्वास्थ्यकर्मी भएर काम गर्नेछु भन्ने ठानेकी थिएँ । एकपटक बस दुर्घटनामा परेँ । अस्पतालको बसाइँ अवधिभर नर्सहरूको सम्पर्कमा रहेँ । उनीहरूको सरल व्यवहार, मृदुभाषाले स्वास्थ्यकर्मी बन्नुपर्छ भन्ने सोचमा छाप ठोकिदियो । अझ विशेषतः मलाई नर्सको पहिरनले आकर्षित गरेको थियो ।

‘नानी ठूलो भएपछि के बन्ने ?’ त्यसपछिका दिनहरूमा कसैले सोधे मेरो रेडिमेट उत्तर हुन्थ्यो-नर्स ।

Islington
ISMT
नर्स बन्ने सपनामा थप बल पुर्‍याएको थियो- फ्लोरेन्स नाइटिङ्गेलको जीवनीले । विश्वयुद्धको लाखौँ घाइतेहरूको उपचारमा दिनरात नभनी समर्पित फ्लोरेन्सको कथाबाट म प्रभावित भएँ । सोच्थेँ- फ्लोरेन्स जसरी नै आजीवन बिरामीको सेवामा खट्नेछु ।

त्यसो त नर्स बन्न पढाइमा तेज हुनुपर्छ । म औसत विद्यार्थी थिएँ । नर्स बन्ने सपनाले घच्घच्याउँथ्यो । म खुब मेहनत गर्थेँ । र, परीक्षामा सन्तोषजनक अंक प्राप्त हुन्थ्यो । सोच्थेँ- अबको पाँच वर्षमा म नर्स हुनेछु ।

तर, जीवनमा धेरै थोक नसोचेको भइदिँदोरहेछ । समय पापाको अप्रत्याशित मृत्यु बोकेर आयो । मेरो सपनाको मृत्यु बोकेर आयो । पापाको काँध गुम्यो । अब कसको काँध चढेर यात्रा गर्नु ? पापामाथि भर परेको मेरो यात्राले विश्राम लिनुपर्ने भयो । निम्नमध्यम वर्गीय परिवारमा यस्तै हुन्छ ।

जसोतसो कक्षा ९ पास गरेँ । दसमा भर्ना भएँ । अभावको भुमरीमा रुमलिँदै एसएलसी सकेँ । फसाद् अब पो सुरु भयो । कुन विषय लिएर पढ्ने ? मैले रोजेको विषय पढ्न तिर्नुपर्ने शुल्क कसरी जोहो गर्ने ? अन्योल बढ्यो । तर, यो लामो समय रहेन । जसरी भाँचिएको रुखमा नयाँ मुना पलाउँछ, त्यसरी नै मेरो सपनाको मुना पलायो । त्यसमा मलजल गरेर हुर्काउने जिम्मा लिएर कान्छा मामा आउनुभयो । पुनः एकपटक मेरो सपना ब्युँतियो । नर्स बन्ने सपना ।

मैले इन्ट्रान्सका लागि फर्म भरेँ । कडा तयारी गरेँ । मेरो नाम पनि निस्कियो । म मेची टेक्निकल ट्रेनिङ सेन्टर बिर्तामोडमा सीएमएमा भर्ना भएँ । मेरो कोठा भाडा, खाना खर्च , कलेज फी, अतिरिक्त क्रियाकलाप र व्यक्तिगत खर्च कान्छा मामाले भरिदिनुभयो । मामा आफू भने कतारको ४० डिग्रीको घाममा सेकिनुहुन्थ्यो । मलाई छहारी उपलब्ध गराउन । १८ महिने कोर्स थियो । मैले निकै मेहनत गरेँ । मेरो सपनाको हाँगाबिँगा पलायो । झ्याम्म हुँदै आयो । प्राक्टिकल समयमा मैले पहिलोपटक सेतो एप्रोन भिर्न पाएँ । त्यो क्षण मलाई औलोकिक आभास भयो । चरम सुखानुभूति गरेँ ।

१८ महिना मेहनत गरेको फल प्राप्त गरेँ । राम्रो अंक ल्याएर म उत्तीर्ण भएँ । मामालाई फोनबाट जानकारी गराएँ । फोनमा मामाको काँपेको आवाज सुनेँ । काँप्न त मेरा खुट्टा पनि काँपिरहेका थिए । मलाई अत्यन्तै खुसी महसुस हुँदा यस्तो हुन्छ ।

हातमा सर्टिफिकेट पर्‍याे । लाग्यो, अब मेरा दुःखका दिनहरू सकिए । मसँग मेरो दक्षताको प्रमाणपत्र छ । बस् अब काम गर्नु थियो । तर, मलाई पहिलो झड्का लाग्यो । जब म सर्टिफिकेट बोकेर अस्पताल धाउँन थालेँ । जब स्थानीय पत्रीकाको भ्याकेन्सी हेरेर कुद्न थालेँ । र, खाली हात फर्किन बाध्य हुन थालेँ । नातावाद र कृपावादको परिधिमा नअटाउँदा मजस्ता थुप्रै निराश हुन्थे ।

यसबीच ममीको स्वास्थ्यमा समस्या आयो । ममीलाई लिएर म अस्पताल जान थालेँ । फलोअपमा गइरहनुपर्थ्याे । संयोग भनाैं, ममीलाई लाने गरेको अस्पतालमा एकजना फिजिसियनसँग भेट भयो । उहाँलाई म पहिल्यैबाट चिन्थेँ । ममीको उपचारसँगै मैले कतै जागिर खाली भए भनसुन गरिदिन अनुरोध गरेँ । उहाँमार्फत मैले दन्त-अस्पतालमा काम पाएँ । यसरी म नातावाद, कृपावादलाई पश्रय दिनेमध्ये थप एक हुन पुगेँ । जीवनमा एउटा थकथकी बोकेर काम गर्न थालेँ ।

काम त पाएँ । फेरि अर्को झड्का लाग्यो । मैले जुन मेहनत र अर्थ लगानी गरेर सर्टिफिकेट हात पारेकी थिएँ, त्यसको छेउछाउ पनि नपुग्ने पारिश्रमिक । मैले थाहा पाएँ- सेतो एप्रोन त आवरण मात्र रहेछ । भित्र-भित्र त खोक्राे हुँदो रहेछ ।

मैले अस्पतालमा काम गर्न थालेपछि घरबाट प्राप्त हुने सम्पूर्ण खर्च कटौती गरेँ । त्यो मेरो स्वाँग थियो । जागिरे छोरी हुनुमा धाक लाउनु थियो । घरमा विश्वास दिलाउनु थियो- पढेलेखेकी छोरी हुँ । आफ्नो थप अध्ययन खर्च मात्र होइन, परिवारको पनि खर्च उठाउन सक्छे । तर त्यो खाेक्राे धाक कतिञ्जेल धान्न सक्थेँ ?

निजी अस्पतालको नाथे तलब कति नै हुन्थ्यो र ! कलेजको फी, कोठा भाडा, महिनादिनको रासन, पकेट खर्च । कता-कता धान्नु ? मेरो मुस्किल बढ्यो । हतास बढ्यो ।

म आफूले रोजेको क्षेत्रको भविष्य सम्झेर निराश हुन्थेँ ।

‘नमस्कार सिस्टर’ । बाटोमा अपरिचितहरूले हलुका मुस्कानसहित गर्ने अभिवादनले भने पुलकित हुन्थेँ । जवाफमा ओठमा उस्तै मुस्कान फुलाएर भन्थेँ- नमस्कार । अहिले कस्तो छ तपाईंलाई ?

अहिले ठीक छु- प्रतिउत्तरले मेरा अघिका सारा निराशाहरू हट्थे ।क्षणभरलाई म आफ्नो कामबाट सन्तुष्ट हुन्थेँ । तर, त्यो क्षणिक सन्तुष्टिले खाना, माना र छानाको आपूर्ति नगर्दो रहेछ । पापाको काँध नहुँदाको थप सकस थियो । अभिभावकत्वको जिम्मेवारी मेरो काँधमा सरेको थियो । मैले निकै सोचेर जागिर छोड्ने निर्णय गरेँ । मेरो निर्णयबाट साथीभाइ, घरपरिवार कोही पनि खुसी थिएनन् । तर म अडिग थिएँ । यो जागिरले मलाई कहीँ पुर्‍याउँदैन भन्ने बोध भएको थियो । र, मैले अढाइ वर्ष गरेकाे अस्पतालको जागिरबाट बिदा लिएँ । अनि कोरियन भाषा पढेँ । इपीएस परीक्षा उत्तीर्ण गरेँ । र, दक्षिण कोरियाको श्रम बजारको एक श्रमिकको रूपमा देश छोडेँ ।

मलाई देश छोड्ने रहर पटक्कै थिएन । वास्तवमै राज्यले हामीजस्ता युवाहरूको भविष्यबारे चासो लिइदिएको भए ? हाम्रो सीप, योग्यताअनुरुपको आर्थिक निर्भर हुने वातावरण बनाइदिएको भए ? शिक्षा र स्वास्थ्य राज्यले जिम्मा लिइदिएको भए ? हामीले आफ्नो बलबुत्ताले संघर्ष गरेर प्राप्त गरेको प्रमाणपत्र दराजको एक कुनामा थन्काउन पर्थेन होला । पासपोर्टमा श्रमको लागि भिसा लगाउन पर्थेन होला । मैलेजस्तै लाखौँ युवाले देश छोड्न पर्थेन होला । ती मनपरी शुल्क उठाउने कलेजलाई के थाहा ? खाडीको कन्टेनरमा बाफिनुको पीडा । घरको छानो बन्दकी राख्नुपर्दाको चोट । उनीहरूलाई हाम्रो पसिना र रगतसँग कुनै सरोकार छैन । सरोकार छ त केवल समयमै कलेजको खातामा डिपोजिट हुने रकमसँग ।

यो लेख तयार पारिरहँदा त्यो साथीको याद ताजा भएको छ, जसले देश छोडेर गएकोमा चिन्ता व्यक्त गरेको थियो । हो, मैले आत्मसम्मानमा अरु कसैले बजाएको तालीभन्दा जोड-जोडले बजेको भोक विद्रोहको आवाज सुनेँ । यतिखेर, यो दक्षिण कोरियाको श्रमबजारमा उभिएर मलाई सोध्न मन छ- कसलाई मन हुन्छ ? अर्काको देशमा गुलामी गर्न ? अरे यार, बाध्यताको पासाेमा जकडिएको दिन तिमी आत्महत्याको बाटो रोज्छौ कि हरियो पासपोर्ट ?

दिपा मेवाहाङ राईले शिलापत्र को लागी लेखेकी हुन।

Leave a Reply

Your email address will not be published.