दक्षिण कोरियामा रहेकी दिपा लाई कोरोनाले मान’सिक त’नाव दिएपछी …

विचार

दक्षिण कोरियामा हिउँ फूल फुल्ने याम शुरु भएको थियो । चिसो सिरेटो चल्न थालेको थियो । चोक, भट्टी, बार र सडकमा खस्ने बाक्लो तुसारोले दैनिकीलाई प्रभावित पार्न थालिएको थियो । त्यसैले मानिसहरु सक्दो घरभित्रै बस्थे । बोईलर जडानका कारण घरभित्रको तापक्रम अनुकुल हुन्थ्यो । कदमकदाचित बाहिर निस्कन परे लामालामा बाक्ला ज्याकेट लगाएर मात्र निस्कन्थे ।

हामी बसेको कोठाको तापक्रम पनि हाम्रो शरीर अनुकुल बनाइएको थियो । तातो सुप, कफीको चुस्कीसँगै बिदाका दिनहरुमा कोठामा बस्नुको आनन्द बेग्लै हुन्छ । भित्ताको क्यालेण्डरले २०१९ को अन्तिम सास लिइरहेको थियो । पुरानो क्यालेण्डरको आत्महत्यासँगै नयाँ क्यालेण्डर भित्तामा झुण्डिन हतारमा थियो ।

गएका वर्षहरु भन्दा यो वर्ष अधिक जाडो महसुस भयो । हाम्रो कम्पनी र हामी बस्ने कोठाबीचको दुरी बसमा १० मिनेट त्यसपछि हिँडेर १५ मिनेटको थियो । बसबाट ओर्लेर हिँड्ने क्रममा बतास हाम्रो नरम गाला सुम्सुम्याउन आईपुग्थ्यो । त्यो बडो कष्टकर हुन्थ्यो । गाला चहर्याउँथ्यो । यसबाट मुक्ति मिल्ने सम्भावना पनि त थिएन । रोजगारीको लागि आइपुगेका हामीले जस्तो मौसममा पनि सक्रिय रहनुपर्थ्यो । आफैलाई पराई भूमिमा बन्दकी राख्नुको विकल्प कहाँ छ र हामीसँग ?यसैबीच चीनको हुवेईमा कोभिड- १९ ले आफ्नो डरलाग्दो स्वरुप देखाइसकेको थियो । हामी दक्षिण कोरियामा रहनेहरु भने अनलाइन पोर्टलहरुमा ति समाचारहरु पढेर सशंकित भइरहेका थियौं ।

तर खासै सुरक्षाको लागि कुनै पहल भने भएको थिएन । कोरियामा नयाँ वर्षको स्वागत गरिदैं थियो । मानिसहरुको चहलपहल, भेटघाट बाक्लो चलिरहेको थियो । बिस्तारै कोरियामा पनि कोभिड- १९ देखिन थाल्यो । सामाजिक संजाल, टेलिभिजन, रेडियो र अनलाइनहरुमा यस प्रकोपको फैलावट र बचावटबारे जानकारी सहित चेतावनी देखा पर्न थाल्यो । मोबाइलमा केही समय अन्तरालमा अर्लट बज्न थाल्यो । यसले गर्दा कोभिड- १९ को मानसिक आतंक व्यापक रुपमा बढेर गयो । सार्वजनिक ठाउँहरुमा मानिसको चहलपहल निकै कम भएर गयो । क्याफे र चोकहरु सुनसान देखिन थाल्यो । सार्वजनिक बस, ट्रेन लगायतका सवारीसाधनहरुमा भीड कम हुन थाल्यो । एकाएक कोरियामा मास्कको प्रयोग ह्वात्तै बढ्यो । मास्क नलाउनेहरुलाई अर्कै ग्रहबाट आएको प्राणी जसरी हेरिन थाल्यो । उनीहरुसँग भौतिक दुरी कायम गर्न थालियो ।

अर्को दिन उही पुनरावृत्ति । उस्तै उकुसमुकुस समय । छटपटी । हैरानी । मानसिक यातनाले मलाई गाल्दै लगेको थियो । दुई दिन मलाई दुई वर्ष जस्तो लाग्यो । अत्यास लाग्दो । यस्तो लाग्यो मानौ घाम एकदम ढिलो हिडिरहेको छ । त्यस साँझ कोठामा फर्किएपछि सेभ नगरिएको नम्बरबाट फोन आयो । मैले रिसिभ गरें । अस्पतालबाट आएको रहेछ ।कोरियाको दोस्रो ठूलो शहर हो, बुसान । जहाँ २० लाखको हाराहारीमा मानिसहरु बसोबास गर्दछन् । त्यही शहरभित्रको एउटा ठाउँ थेगु हो । यो निकै प्रख्यात ठाउँ मध्ये गनिन्छ । कोरियनहरु मात्र नभई विदेशबाट कामको सिलसिलामा बसोबास गर्नेहरुको संख्या पनि उल्लेख्य छ । यही थेगुको सिङचेओन्जी चर्चमा प्रार्थनाको लागि भेला भएकाहरुमध्ये ३७ जनालाई एकै पटक कोरोना पोजेटिभ देखियो । जसको प्रभाव सउल, छल्लाबोक्दो, ह्वासाङ लगायत कोरियाको विभिन्न स्थानहरुमा देखिन शुरु भयो ।

यो अत्यन्त तिव्र गतिमा फैलिन थाल्यो । थेगुमा मात्रै एउटै अर्पाटमेन्टको ७० प्रतिशत मानिसमा कोरोना संक्रमण देखियो । यही अनुपातमा अन्यत्र पनि यसले आफ्नो प्रभाव जमाउँदै गयो । फलतः थेगुमा कोरियन सरकारले कर्फ्यु नै लगाउनुपर्यो । त्यहाँ आंशिक भनिएतापनि पूर्ण लकडाउन गरियो । कडाइका साथ मानिसहरुलाई बाहिर आवतजावत गर्न रोकियो ।कोरियामा लगातार रुपमा कोरोनाको बिरामी बढिरहेकै थियो । तर कम्पनीहरु बन्द गरिएन । नियमित काम संचालन भइरहेकै थियो । सार्वजनिक यातायातहरु संचालनमै थिए । मास्कको भाउ भने आकासिएर गएको थियो । पहिले २००० वनमा पाइने मास्क ४००० वनमा बिक्री हुन थाल्यो । त्यही मास्कको पनि मेडिकल, मार्ट्तिर अभाव हुन थाल्यो । धोएर प्रयोग गर्न मिल्ने कपडाको मास्क प्रयोग गरिन थाल्यो । कोभिड- १९ फैलनु अघि साताको एकपटक साथीभाई भेटघाट चल्थ्यो । दुःख सुखका बात मारिन्थ्यो । त्यो पुरै बन्द भयो । कोठाबाट कम्पनी, कम्पनीबाट कोठासम्मको सिधा रुट चल्न थाल्यो । दैनिक रुपमा प्रयोग हुने खाद्यान्न सामग्री अनलाइनबाट मगाउन थालियो । हामीले जतिसक्दो आफूलाई सुरक्षित राखिराखेका थियौं । कुनै दिन यो प्रकोप रोकिन्छ र पुनः सामान्य अवस्थामा दैनिकी चल्ला भन्ने आशामा थियौं ।

मेरो दैनिकी यतिसम्म त ठिकठाकै चलिरहेको थियो । समयानुकुल हुने प्रतिक्षामा काम गर्दै थिएँ । बेठीक त्यतिखेर भयो जतिखेर सामाजिक संजालमा दक्षिण कोरियामा कोभिड–१९ को संक्रमण बारे केही अनलाइनहरुले भ्रामक समाचारहरु पोष्ट गरे । खतराको जोनमा दक्षिण कोरिया भनेर बडेबडेमाको हाइलाइट गरिएका समाचारहरु राखे । त्यसले गर्दा नेपालमा बस्ने हाम्रा आफन्तहरुलाई मानसिक रुपमा टर्चर भयो । रातोदिन म्यासेन्जर, भाइबर कलहरुमा छिटो काम छोडेर नेपाल फर्कनका लागि तारान्तार गर्न थालियो । दैनिक एकपटक नियमित बातचित हुने आमाले चार पाँच पटक कल गर्न थाल्नुभयो । हरेक संवादमा घर फर्क भन्ने आग्रह हुन्थ्यो । म प्रत्येक पटक आमालाई सम्झाईरहन्थें ‘म सुरक्षित छु । यहाँ प्रायः सबैलाई यसबारे जनचेतना छ । कसैलाई केही हुदैन । ढुक्क हुनुस ।’ आमाको मन त हो, कहाँ मान्थ्यो र ! फेरी अर्को संवादमा उही कुरा दोहोरिन्थ्यो । म आफैमा पनि ढुक्क थिएँ ।

तर मार्च १२ बिहिबारको दिन मेरो ढुक्कको मानसिकतामा स-सानो पहिरो गयो ।म दुईवटा कम्पनीमा काम गर्थें । एउटामा बेसिक काम आठ घण्टाको सकेर अर्को कम्पनीमा जानुपर्ने थियो । त्यहाँ तीन घण्टा ओभरटाइम गरेर आएर म सुतें । थकानले हुनुपर्छ म छिटै निदाएँ । एकैपटक बिहानको चार बजे ब्युँझिएँ । मलाई कम ज्वरो आइरहेको थियो । छेउमा निदाईरहेका साथीहरुलाई उठाउन मन लागेन । आफु जस्तै काम गरेर थकित साथीहरुलाई दुःख नदिने मनसायले तातो पानी पिएर पल्टिएँ । बिहानपख कम्पनीमा जाने बेलासम्मै पनि ज्वरो आइरहेकै थियो । टाउको भारी भईरहेको थियो । मैले अघिपछिको जस्तो शरीरमा स्फूर्ति महसुस गरिनँ । अब भने मैले साथीहरुलाई नभनी धेरै थिएन कि मलाई सञ्चो छैन भनेर । त्यसपछि उनीहरु काममा गए । म भने ओछ्यानमै लडिरहें । केही समयपछि कम्पनीको मेनेजरको फोन आयो ।

उसले मेडिकल गएर जचाउनको लागि भन्यो । म धरमराउँदै नजिकैको मेडिकल पुगें । सामान्य चेक जाँचपछि केही औषधि लिएर फर्किएँ । औषधिले केही राहत दियो । भोलिपल्ट शनिबार परेको थियो । त्यसैले कम्पनीको तर्फबाट नआए पनि हुन्छ भन्ने खबर बोकेर साथीहरु कोठामा फर्किए । यसले मलाई राहत दियो । तर शनिबार साँझ साथीहरु फर्किदा कम्पनीमा अर्डर बढि आएकोले आइतबार भने काममा आउनु भन्ने निर्देशन गरेको सुनाए । औषधिको कारण अलिअलि शरीरले हलुका महसुस भएको थियो । म काममा गएँ । दिउँसो एक बजेसम्म काम गरेर फर्किएँ । कोठामा फर्किएको केही समयपश्चात मलाई पुनः ज्वरोले थलायो । शरीरमा कम्पन शुरु भयो । मेरो हालत नाजुक हुदै गएपछि भने कम्पनीकै एकजना दाईसँग अस्पताल गएँ । अस्पतालको गेट प्रवेशमै सेनिटाइजरको व्यवस्था गरिएको रहेछ । गार्डको संकेत बुझेर हामीले हात सेनिटाइजर लगायौं । त्यतिन्जेलसम्म गार्डले मेरो स्वास्थ्य स्थितिबारे सोध्न भ्याईसकेको थियो । दाईले सम्पुर्ण यथार्थ लक्षण भनिसकेको थियो। गार्डले हामीलाई तुरुन्तै गेट बाहिर निस्कन भन्यो । गेट बाहिरबाटै फर्म भर्न लगायो । र अर्को साइडमा जान अह्रायो ।

बाहिर जाडो अत्याधिक थियो । बाहिर तीनवटा कुर्सी राखिएको थियो । हामी त्यसैमा बस्यौं । चिसो बतास चलिरहेकै थियो । बाक्लो ज्याकेट लगाए पनि ज्वरोको कारण म काँपिरहेकी थिएँ । लगभग आठ मिनेट पश्चात एकजना स्टाफ आएर मलाई क्याम्पभित्र लग्यो । लक्षणको बारे सोध्यो । मैले बताएँ । उनीहरुले त्यो कोरोनाको लक्षणसँग मेल खाएको बताउँदै एकपटक कोभिड- १९ को परीक्षण गर्नुपर्ने बताए । मलाई भाउन्न भयो । मुटु बुरुक्क उफ्रेर यथास्थानबाट कतै उछिटिए जस्तो लाग्यो । साँच्चै कोरोना लागेको हो रहेछ भने ? म मरें भने ? जीवनमा कयौं दुःख भोगेर सुदन जीवन बाँच्ने अभिलाषा बोकेर परदेश हान्निएको मबाट परिवारले कति आशा गरेका होलान् । म आफैलाई पनि त रङ्गीन जीवन बाँच्न मन छ । भरभराउँदो उमेरको खुड्किला टेक्दैछु । जीवनमा धेरै थोक गर्नुछ । के ति सबै सपनाहरुको हत्या हुदैंछ ? उफ् ! मेरो टाउको जोडजोडले रिङ्ग्याउन थालेछ ।

‘तपाईं अर्को क्याम्पमा जानुस् ।’स्टाफको आवाजले म झसंङ्ग भएँ । क्षणभरमै मैले के के सोच्न भ्याएछु । कति पर पुगेछु । म सम्हालिएँ । कोभिड- १९ परीक्षणको लागि अर्को साइडमा जानुपर्ने रहेछ । तिनीहरुले स्वाब परीक्षणलाई मेरो नाक र घाँटीबाट खकार झिके । अब दुई दिन पश्चात मात्र नतिजा प्राप्त हुने कुरा बताए । सँगसँगै अलग कोठा, बाथरुम, भान्सा प्रयोग गर्न र भिडभाडमा नजान सल्लाह दिए । अनिवार्य मास्क प्रयोग गर्न भने । कम्पनीमा नजानेदेखि मसिनो कुराहरु सुझाए । तर बाथरुम प्रयोग गर्न लाइन बस्नुपर्ने र एउटै फ्ल्याटमा सात जना बस्नुपर्ने बाध्यताबारे मैले तिनीहरुलाई केही बताइनँ । मात्रै हस भनेर टाउको हल्लाएर कोठामा फर्किएँ ।

अस्पतालबाट फर्किएपछि मैले साथीहरुलाई यथार्थ बताएँ । मलाई अहिले पनि अचम्म लाग्छ कि कोरोनाको त्यस्तो प्रकोपमा पनि म प्रति विश्वास गरे । मलाई माया गरे । सहज रुपमा स्वीकारे । एउटै कोठामा बसे । नत्र त हाँच्छ्यिु गर्दा पनि तीन हात पर भाग्नुपर्ने सशंकित समयमा मेरो के हविगत हुन्थ्यो होला ? म ओछ्यान्मा पल्टिएँ । आँखा चिम्म गरें । तर मन अशान्त थियो । छटपटी बढ्दो थियो । आफन्त, परिवार, साथीभाई सम्झिरहें । सबै भन्दा बेसी आमालाई सम्झिएँ । रातभर भाईको अनुहार नाचिरह्यो । नराम्रा विचारले छाती ओगटिरह्यो । निदाउनै सकिनँ । मैले आफुलाई सम्हाल्न, ध्यान अन्त लगाउन फन्नी भिडियो र पोष्ट हेरें । तर पनि मष्तिस्कलाई एकिकृत गर्न सकिनँ । त्यो छरपष्ट भइरह्यो । बिहानीपख भने मेरा आँखाहरु लोलाएछन् । कानमा एयरफोन लाएर निदाएँ । सदाझैं बिहान सात बजेको आलारामले मलाई ब्युँझायो । फेरी उस्तै दैनिकी शुरु भयो । दिनभरी जसो नै काममा मन लागेन । मनमा उज्यालो नपसेपछि अनुहार पनि अँध्यारो देखिदोँरहेछ ।

जसोतसो आठ घण्टाको काम सकेर फर्किएँ । अर्को दिन उही पुनरावृत्ति । उस्तै उकुसमुकुस समय । छटपटी हैरानी । मानसिक यातनाले मलाई गाल्दै लगेको थियो । दुई दिन मलाई दुई वर्ष जस्तो लाग्यो । अत्यास लाग्दो । यस्तो लाग्यो मानौ घाम एकदम ढिलो हिँडिरहेको छ । त्यस साँझ कोठामा फर्किएपछि सेभ नगरिएको नम्बरबाट फोन आयो । मैले रिसिभ गरें । अस्पतालबाट आएको रहेछ । भाषाको कठिनाईले धेरै त बुझिनँ । धेरै पटक हजुर हजुर भनेपछि उनीहरुले कोभिड १९ परीक्षण नेगेटिभ आएको बताए । अनि ज्वरो आए नआएको बारे सोधे । हल्का ज्वरो आएको बताएँ । बढ्दै गए अस्पताल आउन भने । अन्त्यमा टेक केयर भने । मेरो अनुहारमा आनन्दको लहर दौडिन थाल्यो । खुसीको रेखाहरु तछाडमछाड गर्दै भरिन थाले। साथीहरुलाई खुसीको कुरा सुनाएँ । सबैजना प्रफुल्ल भए । मलाई नलडेरै एउटा ठूलो युद्ध जिते जस्तो लाग्यो । जीवन सक्किएको छैन । अझै धेरै बाँच्नु छ जस्तो लाग्यो ।लगत्तै म अँध्यारोमै बाहिर निस्किएँ । चिसो बतास अनुहार भएर बग्यो । शरीरभरी एउटा कम्पन दिएर । अरुबेला आतंकित पार्ने त्यो बतासको लय मलाई त्यसै त्यसै मिठो लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *