मन्दीमा गयो जापान

जापान समाचार

टोकियो । जापानी अर्थतन्त्र मन्दीमा गएको छ । कोरोना भाइरसको संक्रमण बढेर वित्तीय भार चुलिएसँगै अर्थतन्त्र मन्दीमा गएको हो । सन् २०२० को पहिलो त्रैमासमा अर्थतन्त्र वार्षिक ३ दशमलव ४ प्रतिशतले खुम्चिएको छ । गत वर्षको अन्तिम त्रैमासमा पनि अर्थतन्त्र ६ दशमलव ४ प्रतिशतले खुम्चिएको थियो । योसँगै अर्थतन्त्र २०१५ यताको पहिलो पटक मन्दीमा गएको छ ।

कोरोना भाइरसको महामारी र अक्टोबरमा गरिएको विक्री कर वृद्धिका कारण जापानी उपभोक्ताहरु प्रभावित भएका छन् । जापानले गत बिहिवार अधिकांश प्रिफेक्चरमा आपतकाल हटाएको भएपनि चालु त्रैमासको आर्थिक परिदृश्य पनि धूमिल नै छ । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणअनुसार अप्रिल–जुन त्रैमासमा अर्थतन्त्र २२ प्रतिशतले खुम्चिने अनुमान छ । यो संकुचन अहिलेसम्मकै ठूलो हुनेछ ।

महामारीको मारबाट आम जनता, व्यवसाय र अर्थतन्त्रलाई जोगाउन सरकारले १० खर्ब डलरको स्टिमुलस प्याकेजको घोषणा गरेको छ । केन्द्रीय बैंक ‘बैंक अफ जापान’ले पनि स्टिमुलस उपायहरु अप्रिलमा लगातार दोस्रो महिना पनि विस्तार गरेको छ । महामारीको झट्का कम गर्न यसै महिना दोस्रो पूरक बजेट ल्याउने वाचा प्रधानमन्त्री सिन्जो आबेले गरेका छन् ।

कोरोना भाइरसको महामारीको मारमा अहिले समग्र विश्व अर्थतन्त्र छ । महामारीका कारण विश्व अर्थतन्त्रले समेत यस वर्ष ८८ खर्ब डलरसम्म गुमाउने अनुमान भर्खरै मात्र बहुपक्षीय कर्जादाता निकाय एशियाली विकास बैंकले गरेको थियो । जर्मन अर्थतन्त्र पनि मन्दीमा गएको गत हप्ता सार्वजनिक भएको तथ्यांकले देखाएको छ । महामारी नियन्त्रण गर्न लागू गरिएको कठोर बन्दाबन्दीका कारण अन्य प्रमुख अर्थतन्त्र समेत प्रभावित भएका छन् ।

विश्वका अन्य देशहरुमा जस्तो जापानमा कठोर खालको लकडाउन लागू गरिएको छैन । अप्रिलको शुरुमा सरकारले सबैभन्दा धेरै संक्रमण देखिएको प्रिफेक्चरमा आपतकाल लगाएको थियो । पछि यसलाई देशव्यापी बनाइयो । गत हप्ता अत्यधिक संक्रमण देखिएका ८ प्रिफेक्चर बाहेक अन्य ३९ प्रिफेक्चरमा आपतकाल हटाइएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *