ओकायामा ।
पश्चिम जापानको ओकायामा प्रिफेक्चर प्रहरीले मास्क कालोबजारी गरेको आशंकामा एक कम्पनीका कार्यकारीलाई पक्राउ गरेको छ ।
खागावा प्रिफेक्चरको ताकामाचु शहरका ३४ वर्षिय जुन्की फुजी माथि प्रहरीले आम जनताको जीवन अवस्था स्थिर बनाउने आपतकालीन उपायहरु सम्बन्धी ऐन उल्लंघन गरेको अभियोग लगाएको छ ।
कोरोना भाइरसको महामारी बढ्दै गएपछि सरकारले मार्च १५ देखि जापानमा मास्कको पुनः विक्रीमा प्रतिबन्ध लगाएको थियो । मास्कको कालोबजारी गरेको आरोपमा जापानमा संदिग्ध पक्राउ गरिएको यो पहिलो पटक भएको ओकायामा प्रिफेक्चर प्रहरीले बताएको छ ।
अप्रिल २९ मा फुजीले आयातकर्ताबाट ३० लाख ८० हजार येनमा ७० हजार थान नन–उभन फेब्रिक मास्क किनेका थिए । ती व्यक्तिले हरेक मास्क ४४ येनमा किने ।
तर यी मध्ये १४ हजार थान मास्क खागावा प्रिफेक्चरको साकाइदे शहरका मानिसलाई ६ लाख ९३ हजार येनमा विक्री गरे । अर्थात् उनले एउटा मास्क ४९ दशमलव ५ येनमा बेचे । भोलिपल्ट उनले २ हजार थान मास्क प्रतिगोटा ५० दशमलव ६ येनमा ओकायामा प्रिफेक्चरको आसाकुची शहरका अर्का मानिसलाई बेचे ।
फुजीले ती दुबै मानिससँग परिचत भएको बताइएको छ । उसले आफूमाथिको आरोप स्वीकार गरे कि गरेनन् भन्नेबारे प्रहरीले केही पनि बताएको छैन । अप्रिलको शुरुमा कसैले यसबारे ऊजुरी गरेपछि प्रहरीले शंका लागेर अनुसन्धान गरेको थियो ।पछिल्लो समय मास्कको कालोबजारी सम्बन्धी अन्य घटनाहरु पनि प्रकाशमा आएका छन् ।