दक्षिण कोरियाको छङ्गेछन खोला जस्तै यसरी फेरिन सक्छ बागमती

कोरिया जानाकारी

दक्षिण कोरिया

नयाँ ठाउँमा पहिलोपटक जाँदा सबैलाई त्यहाँका ऐतिहासिक स्थल र पुराना तथा नयाँ वास्तुकला हेर्ने उत्सुकता हुन्छ।

कसैलाई पनि नयाँ ठाउँ पुगेर सबभन्दा पहिला त्यहाँको खोला हेरूँ भन्ने रहर विरलै होला।दक्षिण कोरियाको राजधानी सोलको छङ्गेछन त्यस्तै उत्सुकताले भरिएको खोला हो।

त्यसो त सोलमा अरू ठाउँ केही नभएर खोला हेर्न मन लागेको पक्कै होइन। त्यहाँ धेरै पुराना दरबार छन्। वास्तुशैलीका दृष्टिले उत्कृष्ट भवनहरू छन्। रमणीय रात्रिकालीन जीवन छ। तर, यी सबैभन्दा बढी मन लोभ्याउँछ, सहरको पुरानो भागबाट बग्ने छङ्गेछन खोलाले।
मलाई पनि सोल पुग्दा बढी रुचि त्यही खोला हेर्नमा थियो। यसको कारण, खोला सुन्दर भएर, मनमोहक भएर वा म आफू प्रकृतिप्रेमी भएर होइन।

एउटै कारण, छङ्गेछन खोलाको कथा काठमाडौं उपत्यकाका बागमती, विष्णुमतीजस्ता नदी र खोलाहरूसँग दुरुस्तै मिल्छ।
कुनै समय यो पनि बागमती, विष्णुमतीजस्तै दयनीय अवस्थाबाट गुज्रेको थियो। दोस्रो विश्वयुद्ध र कोरियाली युद्धपछि सुरू औद्योगिक विकाससँगै राजधानी सोलको जनसंख्या ह्वात्तै बढ्यो। यसको परिणाम छङ्गेछन खोलामा पनि देखियो। पानीको सट्टा कालो लेदो बग्न थाल्यो। खोला सहरको ढलमा परिणत भयो।

आज छङ्गेछनको कथाले सुखद मोड लिएको छ। यसलाई संसारकै सफल नदी पुनर्स्थापना आयोजनाका रूपमा लिइन्छ। जबकि, हजारौं वर्ष पुरानो सभ्यता र संस्कृतिको अभिन्न अंग मानिने हाम्रो बागमती र विष्णुमती अझै दुरावस्था झेल्न बाध्य छन्। छङ्गेछन खोलामा आएको परिवर्तन कुनै दैवी उपहार होइन, एउटा व्यक्तिको अठोटको नतिजा हो।

जसरी अहिले काठमाडौंका खोलाहरूमा किनारका दुवैतर्फ कंक्रिट पर्खाल लगाएर आकार खुम्च्याइँदैछ, खोलालाई नालामा परिणत गरिँदैछ, कुनै समय सोलको छङ्गेछनमा पनि त्यस्तै गरिएको थियो। सन् ७० दशकसम्म आइपुग्दा त खोलाको माथि–माथि छ लेनको राजमार्ग नै बनाइयो। चौबीसै घन्टा कुद्ने गाडीहरूले खोला देखिँदै नदेखिने अवस्थामा पुग्यो।
सन् २००३ मा आएर सोलका तत्कालीन मेयर ली मायोङ–बक, जो पछि दक्षिण कोरियाका राष्ट्रपति भए, उनले यो खोला पुनर्स्थापनाको परिकल्पना गरे। खोलामाथि बनाइएको राजमार्ग हटाएर पुरानै स्वरूपमा पुनर्जीवित गर्ने परियोजना अघि बढाए।

त्यसपछि करिब दुई वर्ष अवधिमा छङ्गेछन खोलाले कोल्टे फेर्‍यो, जसमा करिब ३६ करोड अमेरिकी डलर खर्च भएको थियो। यो खोलामा अहिले सफा पानी बग्छ। मान्छेले स्वच्छ खोलाको किनारमा आनन्दसँग हिँड्ने अवसर पाएका छन्। झन्डै ११ किलोमिटर लामो खोलाका विभिन्न ठाउँमा हरियाली पार्कहरू निर्माण गरिएका छन्। दुवै किनारमा मान्छेलाई आराम गर्न रूखको छहारी बनाइएको छ।

केही ठाउँमा कंक्रिट पर्खाल लगाएर खोला बाँधिएको त छ, तर त्यहाँ पनि सर्वसाधारण बस्न मिल्ने गरी डिजाइन गरिएको छ। त्यो पर्खाल हरियाली पार्ककै हिस्साजस्तो लाग्छ। यति मात्र होइन, दुवैतर्फका पार्कमा फूल र बिरुवाहरू रोपिएका छन्। प्राकृतिक वातावरण पाएर चरादेखि माछा र हाँसदेखि घाँससम्म फस्टाएका छन्। खोलाको किनारै किनार हिँड्दा पानीको कलकल र चराको चिरबिर सुन्न सकिन्छ। व्यस्त सहरको बीचमा छु भन्ने आभाष नै हुँदैन।

यही कारणले साँझपख र सप्ताहन्तमा धेरै मानिस छङ्गेछन खोला किनार हिँड्न आउँछन्। बेला–बेला सार्वजनिक कार्यक्रमहरू पनि हुन्छन्। यहाँको लाइट–शो एकदमै लोकप्रिय छ। यो आयोजना सुरू हुँदा धेरै नकारात्मक प्रतिक्रिया र विरोध सामना गर्नुपरेको थियो। आयोजनाका विरोधीहरू अझै पनि यसमा ठूलो रकम खर्च भएको र कृत्रिम रूपले पानी ‘रिचार्ज’ गरिएको भन्दै आलोचना गर्छन्। खोलाछेउका व्यापारीले पार्किङ हटाइएको कुरा उठाएर पनि विरोध गरेका थिए। छ लेनको राजमार्ग हटाउँदा भित्री सहरको आवागमन प्रभावित हुन्छ भन्ने धेरैको अनुमान थियो।तर, दुई वर्षमै खोलाले जसरी काँचली फेर्‍यो, त्यसका अगाडि अरू सबै कुरा गौण बने।

स्थानीयका लागि फुर्सदमा टहलिने ठाउँ बनेको छङ्गेछन खोला।

आज छङ्गेछन खोला पुनर्स्थापनाबाट सबभन्दा बढी यहाँका स्थानीय लाभान्वित छन्। घना सहरको बीचमा बस्ने सोलबासीले चौबीसै घन्टा कलकल बग्ने कञ्चन खोला र प्राकृतिक सौन्दर्यको आनन्द उठाउन पाएका छन्।यसले सोलको वातावरण रमणीय हुनुका साथै यहाँको हावा तुलनात्मक रूपले स्वच्छ राख्न मद्दत गरेको छ। स्वच्छ खोला र हरियालीले यहाँको तापक्रम चार–पाँच डिग्री घटाएको विभिन्न अध्ययनले देखाएका छन्।खोला पुनर्स्थापना आयोजना पानी सफा गर्न र किनारमा हरियाली पार्क बनाउन मात्र केन्द्रित थिएन। यसले सहरको समग्र विकासको प्रारूप तयार पारेको थियो। खासगरी सार्वजनिक यातायात सुधारको योजना अघि बढाइएको थियो।

सार्वजनिक यातायातमा सुधार आएपछि निजी गाडीको प्रयोग घट्दै गयो। सहरको धूलोधुवाँ र ट्राफिक जामको समस्या कम भयो। पहिले दिनको १ लाख ६० हजार गाडी गुड्ने छ लेनको राजमार्ग नभए पनि सहरलाई केही फरक परेन। यो आयोजनाको अर्को विशेषता भनेको, यसले खोलालाई सक्दो प्राकृतिक स्वरूपमा परिणत गर्न खोज्यो। वरिपरि मानवमैत्री संरचनाहरू निर्माण गरिए। हामीकहाँ जस्तो कंक्रिटको पर्खाल लगाएर खोला बाँध्ने र त्यहाँ रेस्टुरेन्ट र क्याफे खोलेर व्यावसायिकीकरण गरिएन। खोलाका दुवै किनारमा मान्छे हिँड्ने बाटो बनाइयो, बस्ने ठाउँ बनाइयो। जोसुकै व्यक्तिले जुनसुकै बेला निःशुल्क आवतजावत गर्न सक्ने र बस्न सक्ने वातावरण तयार भयो।

अहिले हामी काठमाडौंका नदी र खोला किनारलाई कंक्रिट पर्खालले बाँधेर कुरुप पारेको देख्छौं। पहिले–पहिले नदी कटान रोक्न दुवैतर्फ लामो जराहरू भएको रूखबिरुवा रोप्ने गरिन्थ्यो, अहिले खोला नै साँघुरो पारेर कंक्रिटको ढलान र पर्खाल लगाइएका छन्। यसले बर्खामा पानीको बहाव बढ्दा खोलाले प्राकृतिक धार समात्छ र वरिपरिका बस्ती डुबानमा पर्छन्।
मान्छेहरू बस्तीभित्र बाढी पस्यो भन्छन्, खासमा बस्तीभित्र बाढी पसेको होइन, खोला त आफ्नै बाटोमा हिँडेको हो। उसको ठाउँ मिचेर बस्ती बस्दा डुबानमा परेको हो।

हाम्रो निम्ति नदी–खोला भनेको प्राकृतिक सौन्दर्यको हिस्सा मात्र होइन। यो हाम्रो संस्कृतिसँग, जीवन र मृत्युसँग जोडिएको छ। हाम्रा धेरै मन्दिर, घाटहरू नदी किनारमै छन्। थुप्रै सामाजिक तथा धार्मिक क्रियाकलाप नदी किनारमै हुन्छन्। तर, अहिले हामी तिनै नदी–खोलाभन्दा टाढा बस्न रुचाउँछौं। खोलानजिक बनेका कृत्रिम संरचना र त्यहाँको प्रदूषणले नै हामीलाई त्यसबाट टाढा बनाइरहेको छ।

कतिपय ठाउँमा खोला किनार स–साना पार्क बनाइएको पनि हामी देख्छौं। तर, त्यही पार्कलाई वरिपरि बार लगाएर घेराबन्दी गरिएको छ। यसले मान्छे र खोलाबीच दुरी स्थापना भएको छ। नयाँ पुस्ता र यहाँका नयाँ बसोबासीले काठमाडौंको खोलाको महत्व बुझ्न सकेका छैनन्। खोलाको महत्व के हो भनेर हामीले बुझाउन पनि सकेका छैनौं।

कंक्रिट पर्खाल लगाएर हाम्रो खोला संरक्षण हुँदैन। यसको निम्ति खोला र मानिसको सम्बन्ध कसरी दरिलो बनाउन सकिन्छ भनेर सोच्नुपर्छ। दक्षिण कोरियाको सोल र छङ्गेछन खोला पुनर्स्थापनाबाट हामी धेरै कुरा सिक्न सक्छौं। उनीहरूले त सके भने हामी किन सक्दैनौं?-मोनालिसा महर्जन,सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *