बालुवा बेचेर उत्तर कोरियाले लाखौं डलर कमाएको खुलासा

कोरिया जानाकारी

सोल

सन् २०१९ को मे महिनामा लुकास कुओ र लरेन सुङले अनौठो कुरा देखे । उत्तर कोरियाको हाएजु नजिक समुद्रमा १०० वटा जहाज भेला भएका थिए ।

वाशिङटनमा रहेको सेन्टर फर एड्भान्स्ड डिफेन्स स्टडीजका यी विश्लेषकहरूले उत्तर कोरियासँग जोडिएको समुद्र तथा उत्तरपूर्वी एसियामा आवागमनको निगरानी गर्ने गरेका छन् ।

प्योङयाङले कोइला र अन्य बहुमूल्य वस्तुहरू ठूलो संख्यामा बेच्ने गरेको आरोप लागेकोमा उनीहरूले निगरानी गरिरहेका छन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको प्रतिबन्धलाई छल्दै उत्तरले सामानहरू सामुद्रिक मार्ग भएर लग्ने गरेको छ ।

उत्तर कोरियाले सामानहरू बन्दरगाहबाट सार्ने भन्दा पनि समुद्रमै एउटा जहाजबाट अर्को जहाजमा सार्ने र कहाँबाट आएको हो भन्ने विषयमा झूट बोल्ने गरेका छन् । यसरी जहाजबाट जहाजमा सामान सार्दा उत्तरले लाखौं डलर कमाउने गरेको छ ।
कुओ र सुङले २७९ जहाजमा लाखौं डलर पर्ने सामानहरू ओसारपसार गरिरहेको पाए । ती जहाजले अन्तर्राष्ट्रिय प्रतिबन्धलाई छलेको जस्तो देखियो ।

ती जहाजमा बन्दूक, लागूऔषध, नक्कली मुद्रा वा संकटापन्न प्रजाति थिएनन् । तिनमा बालुवा राखिएको पाइयो ।

उत्तर कोरियाले बालुवाको व्यापार गर्नु पनि अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हो ।

प्रतिबन्ध लागेको भए पनि उत्तर कोरियाले पोहोर साल बालुवा बेचेरै दुई करोड २० लाख डलर कमाएको थियो । सन् २०१९ को मे महिनादेखि प्योङयाङले डिसेम्बरसम्म १० लाख टन बालुवा निर्यात गरेको थियो ।

यो बालुवा चीनले किनिरहेको र भौतिक संरचना निर्माणका लागि उसलाई व्यापक मात्रामा बालुवा चाहिएको निगरानीकर्ताहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *