कोरियामा ४५ सय नेपाली कामदारको भिसा सकिँदै, तर रित्तो कोरियन एयर नेपाल उडान गर्दै

कोरिया जानाकारी

शिव भुसाल,सिओल–

पोखरा लेखनाथका राजु सापकोटा तीन महिनादेखि कोरियामा भिषा अवधि सक्किएर पनि नेपाल फर्किन पाएका छैनन्।

स्वदेश फर्कन उनी सरकारी पहल नहुँदा उनी कोरियामा यतिबेला अलपत्र छन्। सापकोटाको मार्च २३ मा नेपाल फर्किने टिकट थियो, तर नेपाल सरकारले कोरिया सहित विदेशबाट नेपाल जाने सबै उडानमा प्रतिबन्ध लगाएपछि उनि कोरियामै रोकिए।

उनी तीन महिनादेखि न काम गर्न पाएका छन् न त आफ्नो देश नै फर्किन। उनी भन्छन्, ‘भिषा सकिएर नेपाल जाने मुखैमा नेपालले अन्तर्राष्ट्रिय उडानमा रोक लगायो, यहाँ बाहिर काम गर्न जाउँ भने ज्यानको जोखिम, जसरी भएपनि आफ्नै घर जान पाए हुन्थ्यो।’

त्यस्तै झापाका हर्देव गणेश र सुवाश ढकालको गुनासो पनि सापकोटाकै जस्तै छ। यहि विचमा नेपाल सरकारले कोरियामा अलपत्र नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ। नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको विमान कोरिया पठाएर उनिहरूको उद्धार गर्ने सरकारी तयारी थियो।तर, निगमले कोरियामा विमान अवतरणको अनुमति पाएको छैन।

यसअघि यहाँको सरकारसँग सिओलस्थित नेपाली दूतावास मार्फत कोरियामा विमान अवतरणको अनुमति माग गरेपनि हरेक पटक यहाँको सरकारले अनुमति दिन अस्विकार गर्दै आएको छ।

दूतावासले पटक —पटक कोरियामा विमान अवतरणको अनुमति मागेपनि यहाँको सरकारले अनुमति दिन नमानेकाले नेपाल वायुसेवा कोरिया आउनसक्ने अवस्था नरहेको सरोकारवालाको दाबी छ।

तर कोरियाले यसअघि नेपालबाट कोरिया कामदार ल्याउनकालागि भएकाले अनुमति नदिएको र अहिले उद्धार गर्न आउने भएकाले अनुमति पाउन सक्ने दावी नेपाली दूतावास सिओलका उपनियोग प्रमुख रामसिंह थापाको छ ।

थापा थप्छन्, ‘प्रक्रिया सुरु भइसक्यो अव पर्यटन मन्त्रालयले नेपाल स्थित कोरियन दूतावास समक्ष अनुरोध पत्र पठाउँछ, त्यसपछि मात्र अनुमति पाउने वा नपाउने विषयको टुङगो लाग्छ।’

यसअघि नेपाल विदामा गएका कोरियामा कार्यरत नेपालीको भिषा अवधि समाप्त हुन लागेको भन्दै गैर आवासीयय नेपाली संघको अनुरोधमा नेपाल सरकारले वायुसेवा निगमकै जहाज कोरिया पठाउने प्रयास असफल भएको थियो।

सरकारले त्यतिवेला कोरियामा विमान अवतरणकालागि यहाँको भूमि पूर्वाधार तथा यातायात मन्त्रालयसँग गरेको अनुरोधमा मन्त्रालयले नेपालले आफ्नो विमान कोरियामा उडान भर्न कोरिया सरकारको हवाई सुरक्षा मापदण्ड पुर्याउनुपर्ने उल्लेख थियो। उडान सुरक्षा मापदण्ड सम्झौता नभएकाले नेपाल वायुसेवा निगमलाई अवतरण दिन नसकिने कोरियाले जनाएको थियो।

कोरियामा नेपाली विमानलाई अनुमती दिन लामो समय लाग्ने भएकाले अहिले तत्काल नेपाल वायुसेवालाई कोरियामा अवतरणको अनुमति दिन नसकिने बताउँछन कोरियाको अन्तर्राष्ट्रिय हवाई उडान हेर्ने विदेश मन्त्रालयका कर्मचारी ह्वाङ व्यङछल।

नेपाल वायुसेवाका विमान कोरिया आउन सक्ने सम्भावना अत्यन्तै न्यून हुँदा पनि सरकारले भने नेपाल चार्टर उडानमा जाँदै गरेको कोरियन एयरसँग अहिलेसम्म समन्वय गरेको छैन।

कोरियामा अलपत्र नेपालीहरू सरकारले कहिले उद्धार गर्छ भन्दै पर्खिएर बसेका छन तर आगामी मे १६ र २० का लागि कोरियन एयरका चार्टर विमान भने नेपाल खालि जहाज गएर नेपाली कामदार लिएर फर्किने तयारीमा छन्।

सरकारले वायुसेवाकै विमान पठाएर उद्धार गर्ने भनेपनि लाग्ने हवाई शुल्क स्वयम व्यक्तिले तिनुपर्ने सर्तमा दूतावासले हस्ताक्षर गराइर्सकेको छ। यस्तो अवस्थामा सकेसम्म कम शुल्कमा नेपालीको उद्धार गर्नुपर्नेमा सरकारले कोरियन एयरका विमानलाई रित्तै नेपाल जाने अनुमति दिएर यहाँ अलपत्र नेपालीलाई पुन महङ्गोमा विमान चार्टर गराउने बाटोमा लागेको पिडितहरूको गुनासो छ।

उनिहरू भन्छन्,‘हामी लाग्ने शुल्क तिर्न तयार छौँ, हामिलाई सस्तोमा र छिटो नेपाल लैजाने विषयमा सरकारको ध्यान जाओस्।’

सरकारले कोरियन एयरका चार्टर विमानहरू नेपाल जाउँञ्जेल नेपाल वायुसेवाले अनुमति माग्दै छ भनि टार्दै आएको कामदारहरूको गुनासो छ। नेपाल एयरलाइन्सले अनुमति नपाएको भन्दै अन्त्यमा महङगोमा कोरियन एयर नै चार्टर गरेर यहाँका नेपाली कामदारलाई चर्को शुल्क तिराउने गुनासो पिडितहरूको छ।

कोरियामा जुन महिनाको अन्त्य सम्ममा ४ हजार ५ सय नेपालीको भिषा अवधि सकिँदै छ। ९ सय ७२ जनाले आफ्नै शुल्कमा नेपाल फर्किन तयार रहेको बताउँदै दूतावासमा फारम भरेका छन्।

नेपाल फर्किन चाहने ९ सय ७२ जनाको विवरण सरकारलाई पठाइसकिएको सिओलस्थित नेपाली दूतावासले जनाएको छ।नेपाल लाईभबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *