सुतेको सुत्यै मरिएला होसियार !

Health

डा. प्रकाशराज रेग्मी, (मुटुरोग विशेषज्ञ) ।

डा: रेग्मी

‘सुतेको सुत्यै भएछ, बिहान उठ्दै उठेन’, ‘सुत्दा राम्रै थियो, मध्यरातमा ऐया नभनी बितेछ’, ‘अलि–अलि रक्सी पिएर सुत्या हो, बिहान आँखै खोलेन, अस्पताल पुर्‍याउनै भ्याइएन ।’

यस्ता घटना धेरै सुन्नमा आइरहन्छन् । ठूला–ठूला नाम भएका व्यक्तिहरुको यसरी मृत्यु हुँदा अझ बढी चर्चा हुने गर्छ । विष पिलाएर मार्‍यो होला, धेरै रक्सी पियो होला, ड्रग्स लिने बानी थियो, धेरै तान्यो होला भनी अड्कलबाजी गर्ने चलन छ ।

धेरै चर्चित कलाकारहरु, राजनीतिज्ञहरु र समाजका चिरपरिचित व्यक्तिहरु राति राम्रै अवस्थामा सुतेका तर बिहान हुँदा ओछ्यानमै मृत अवस्थामा पाइएका थुप्रै घटना छन् । यसको पछाडि के रहस्य छ ? खोतल्ने प्रयास गरेको छु ।

मानिसको मृत्यु हुने मुख्य कारण मुटुको धड्कन बन्द हुनु हो । यसलाई कार्डियाक एरेस्ट भनिन्छ । यो अवस्था हृदयघात भएमा अथवा मुटुको धड्कन अत्यधिक बिग्रिएमा उत्पन्न हुन्छ । वैज्ञानिकहरुको धारणा यो छ कि कार्डियाक एरेस्ट मध्यरातदेखि बिहानीको समयमा बढी हुन्छ । यसै समयमा मुटुलाई अत्यधिक खतरा हुन्छ । सुतेको छु भनेर ढुक्क हुन सकिँदैन । मृत्यु धेरैजसो ओछ्यानमै हुन्छ । आखिर यस्तो किन हुन्छ ?

यो रहस्यलाई बुझ्नका लागि शरीरलाई चलाउने भित्री घडी ‘बायोलोजिकल क्लक’ अर्थात् जैविक घडीको बारेमा थाहा पाउनुपर्छ । यसका साथै हाम्रो शरीरको स्वचालित चौबीस घण्टे ताल (सर्काडियन रिदम) बारे पनि बुझ्नुपर्ने हुन्छ ।

हाम्रो शरीर आफैंभित्र एउटा घडी हुन्छ । शारीरिक प्रक्रियाहरु यही घडीअनुसार चल्छन् । सूर्योदयको उज्यालो र सूर्यास्तपछिको अँध्यारोले पनि शरीरको भित्री प्रक्रियाहरुलाई असर पार्छ । सूर्योदयको उज्यालोसँगै आँखा खुल्छ, बिहानीको नित्यकर्म, व्यायाम, नास्तासँगै शरीर सक्रिय भैसकेको हुन्छ । दिन चढ्दै जाँदा शरीर पनि अझ चलायमान, सक्रिय हुँदै जान्छ, मुटुको चाल बढ्छ, रक्तचाप बढ्छ, रक्तसञ्चालन बढ्छ । बेलुकी यो प्रक्रियामा सिथिलता आउन थाल्छ, जति–जति अँध्यारो हुँदै जान्छ उति–उति शरीर सिथिल हुँदै जान्छ । ९ बजेपछि निद्रा लाग्न थाल्छ, १० बजेतिर मानिस सुत्छ, शरीरको भित्री गति पनि सुस्त हुन्छ ।

मध्यरातको १२ बजेपछि शरीरलाई पुनः सक्रिय गराउने प्रक्रिया शुरु हुन्छ, जसका लागि एउटा रसायनको मात्रा शरीरमा बढ्न थाल्छ । यो रसायन वा हर्मोनको नाम हो कर्टिसोल । यसले सिथिल अवस्थामा रहेको शरीरको इन्जिनलाई एक धक्का दिन्छ र सञ्चालन शुरु गराउँछ । मुटुको धड्कन बढ्छ, रक्तचाप बढ्छ, ग्लुकोजको मात्रा बढ्छ, रक्तनलीहरु खुम्चिन थाल्छन्, मुटुलाई अलि जोडसँग काम गर्नुपर्ने अवस्था उत्पन्न हुन्छ । कहिलेकाहीँ मुटुले यो धक्का सहन सक्दैन, फलस्वरुप हृदयगति बन्द हुन्छ । मध्यरातको १ बजेदेखि शुरु भएको यो गतिविधि बढ्दै गएर बिहानीको ७ बजेसम्म पनि रहिरहन्छ । शरीर एउटा निश्चित गतिमा आएपछि यो प्रक्रिया रोकिन्छ र अर्को प्रक्रियाको थालनी हुन्छ, जसमा शरीर बिस्तारै चलायमान हुँदै जान्छ ।

मुटुको चाल यसभित्र जडित विद्युतीय प्रणालीमा निर्भर गर्छ । मुटुको एउटा कुनामा करेन्ट उत्पादन हुन्छ, त्यहाँबाट करेन्ट मुटुको मध्यभाग हुँदै सबैतिर पुग्छ र मुटुलाई धड्काउँछ । मुटुमा करेन्ट उत्पादन हुने, सञ्चालन हुने र मुटु धड्किने प्रक्रिया पनि जैविक घडीको तालसँग मेल खान्छ । मध्यरातदेखि बिहानीको समयमा मुटुको विद्युतीय प्रणालीमा विशेष प्रकारको सक्रियता उत्पन्न हुन्छ । यो समयमा विद्युत्को सर्किटमा गडबडी उत्पन्न हुने र सट भएर फ्यूज जाने अत्यधिक सम्भावना रहन्छ । वैज्ञानिकहरुले पत्ता लगाएअनुसार यो समयमा शरीरमा एकप्रकारको प्रोटिनको मात्रा घट्छ, जसले गर्दा मुटुभित्रको विद्युतीय प्रणालीमा नकारात्मक असर पर्न जान्छ । यो प्रोटिन बिहान ७ बजेपछि फेरि बढ्न थाल्छ र मुटुको विद्युतीय प्रणाली सामान्य अवस्थामा फर्किन्छ ।

यस प्रकार जैविक घडीको तालमा शरीर र मुटुको चाल परिवर्तन हुँदै जाने प्रणालीलाई सर्काडियन रिदम भनेको हो । हाम्रो शरीरको प्रकृति नै यस्तो छ कि मध्यरातदेखि बिहानीको समयसम्म मुटुलाई बढी खतरा छ । यसकारण यसै समयमा हृदयघात र कार्डियाक एरेस्ट अन्य समयमा भन्दा तीनदेखि पाँच गुणासम्म बढी हुन्छ । त्यसैले हामीले समाचारमा सुन्ने गर्छौं– ‘फलानो, राति ओछ्यानमै हृदयघात भएर मरेछ ।’

यसबाट हामीले केही पाठ सिक्नुपर्छ । मेरो सल्लाह–सुझाव यस प्रकार छ :

१. मध्यरात १ बजेदेखि बिहान ७ बजेसम्मको समय मुटुका लागि विशेष खतराको समय हो ।

२. उच्च रक्तचाप, मुटुको धमनीको रोग, कोलेस्ट्रोल आदिको औषधि सेवन गरिरहेका मुटुरोगीहरुले औषधिहरु बेलुकी खाना खाएपछि सेवन गर्दा मुटुलाई बढी मात्रामा सुरक्षा प्रदान गर्दछ ।

३. बिहान सबेरै अँध्यारोमै मर्निङ वाक गर्न जानेहरुले विशेष सावधानी अपनाउनुपर्छ । बिहानको औषधि छ भने त्यो खाएरै जाँदा राम्रो हुन्छ । व्यायाम एकैपल्ट कडा होइन कि बिस्तारै–बिस्तारै बढाउँदै लानुपर्छ ।

४. धूमपान र रक्सीको सेवन गर्नेबित्तिकै सुत्नुहुँदैन । मध्यरातसम्म बसेर चुरोट, रक्सी सेवन गर्दा झन् बढी खतरा हुन्छ ।

५. बेलुकीको खाना हलुका खाने, खाएपछि हलुका हिँड्ने, सुत्नुअगाडि गहिरो श्वास फेर्ने, नियमित औषधि सेवन गर्न नबिर्सने, सुत्ने ओछ्यान सफा र आरामदायी बनाउने, सधैँ एउटै समयमा सुत्ने र उठ्ने आदि कार्यले केही हदसम्म सुत्यासुत्यै मृत्यु हुने सम्भावनालाई कम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *