पशुपंक्षी झै के हामी वर्तमानमा रमाउन सक्छौं ?

जिवनशैली

जिवनशैली

एउटा चराले बिहानभर उड्दा–उड्दा एउटा रुखमा फल भेट्छ । त्यही फलले आफ्नो भोक मेट्छ । रुखमा लटरम्म फलहरु छन् । तर, आफ्नो सानो पेट भरिएपछि चरालाई पुग्छ । चरा भुर्र उडेर अन्तै जान्छ ।

तर, त्यही ठाउँमा मान्छे भइदिएको भए ?भोकको झोंकमा मान्छेले आफुलाई चाहिनेभन्दा बढी खानेकुरा खाइदिन्थे । भरपेट खाएपछि पनि मान्छेको मन कहाँ अघाउँछ । रुखमा भेटिएका फलहरु छाडेर जान लोभ लाग्छ । उसले या त त्यही रुखमा आफ्नो डेरा जमाउँछ, वा रुखका फलहरु टिपरे आफ्नो घरतर्फ लैजान्छ ।

एउटा चरालाई आफ्नो पेट भरेपछि पुग्छ । त्यसपछि उनलाई उक्त फल अरुले खाओस् वा बोटमै रहोस्, कुहिएर झरोस् वा कसैले टिपेर लगोस् कुनै सरोकार रहँदैन । आफ्नो पेट भरेपछि चरा सन्तुष्ट हुन्छ ।

तर, मान्छे यसरी सन्तोष मान्दैन । भरपेट फल खाइसकेपछि मान्छेमा लोभ पैदा हुन्छ, ‘बाँकी फल किन छाड्ने ?’ बोटमै छाड्नु वा अरुले खानु भन्दा आफ्ना लागि जगेडा गर्नु उचित ठान्छ । त्यही कारण मान्छेले उक्त फल आफ्नो खातिर भण्डारण गर्छ । यदि उक्त फल आफुले टिप्न नपाएको वा राख्न नपाएको भए मान्छेको मन वेचैन हुन्थ्यो । राती चैनले निदाउन सक्दैनथ्यो । किनभने त्यही फल टिप्न वा ल्याउन नपाएकोमा उनको मनमा ठूलो असन्तोष पैदा हुन्थ्यो ।

मान्छेले भोलिको बारेमा सोच्छन् । भरे वा भोलि के खाने, के गर्ने भन्ने कुराले मान्छेलाई पिरोल्छ । त्यही कारण आज भरपेट खाएर पनि मान्छेको मन अघाउँदैन । भोलिकै चिन्ताले मान्छेमा लोभ र असन्तोष पैदा हुन्छ ।

तर, पशुपंक्षीले ?पशुपंक्षी भोलिका लागि चिन्तित हुँदैन । एक पेट खाइसकेपछि उनीहरु सन्तुष्ट हुन्छन्, प्रफुल्ल हुन्छन् ।अरुभन्दा बढी चेतनशिल प्राणी भएकाले पनि मान्छले भविष्यका लागि सोच्छ । भोलिका दिनलाई पनि आज जस्तै सहज र सरल बनाउने यत्न गर्छ । अझ वर्तमानमा कष्ट खेपेर भविष्यलाई सहज बनाउन चाहन्छ । भविष्यलाई कल्पेर नै मान्छेले वर्तमानलाई भुल्छन् ।

वर्तमानमा जस्तोसुकै कष्ट सहनु परोस्, जस्तोसुकै अभाव खेप्नुपरोस्, जस्तोसुकै श्रम गर्नु परोस्, मान्छे तयार रहन्छ । तयार यसकारण रहन्छ कि आज गरेको दुःखले भोलिको दिन सुखद् बनाउनेछ । भोलिको कल्पनामै मान्छे वर्तमानमा रमाइरहेका हुन्छन् ।

वर्तमानको क्षण, अवस्था सोचेर मान्छे सायदै रमाउँछ । वर्तमानलाई स्विकार्न समेत डराउँछ । भविष्यको सुनौलो कल्पना गर्दै मान्छे वर्तमानमा अनेकन कष्ट र दुःख सहन तयार हुन्छ ।

तर, पशुपंक्षी भविष्यलाई कल्पेर रमाउँदैन । वर्तमानमा रमाउँछ । वर्तमानमै बाँच्छ । आजको क्षण राम्ररी खान पाए, राम्ररी बस्न पाए उनीहरुलाई पुग्छ । भोलि खान पाइएला नपाइएला, भोलि बस्न पाइएला नपाइएला, भोलि दुःख पाइएला वा नपाइएला ? तिनीहरुलाई यस कुराले कतिपनि चिन्तित र दुःखी तुल्याउँदैन ।के मान्छे यसरी वर्तमानमा रमाउन सक्छ ? वर्तमानमै बाँच्न सक्छ ? भविष्यका लागि चिन्नित र भयभित नहुन सक्छ ?

विद्वानहरु भन्छन्, ‘वर्तमानमा बाँच । यर्थाथलाई स्वीकार गर । जीवनलाई उत्सव बनाऔं ।’ हिजो जे भयो, त्यसमा पछुतो नगर । भोलि के हुनेछ, त्यसमा चिन्ता नगर । आजलाई राम्रो बनाऔं ।भनिन्छ, जंगलमा बस्ने आदिवासी समुदायहरु पनि पशुपंक्षी जस्तै भोलिको कुराले उति धेरै चिन्तित हुँदैनन् । उनीहरु जंगलमा फल्ने फलफूल, कन्दमुल खाएर, जीवजन्तुको शिकार गरेर बाँच्छन् । आज भरपेट खान पाएपछि उनीहरु भोलिका लागि सोच्दैनन् । उनीहरु विश्वास गर्छन्, प्रकृतिले बाँच्नका लागि पर्याप्त दिन्छ । प्रकृतिप्रति आशावादी र कृतज्ञ भएरै उनीहरु वर्तमानमा रमाइरहेका हुन्छन् भनिन्छ ।

तर, आधुनिक समाजका मान्छेहरु आज जति प्राप्त हुन्छ, त्यसबाट सन्तुष्ट हुँदैनन् । आजलाई पुगेपछि भोलिका लागि सोच्छ । भोलिलाई पुगेपछि, पर्सीका लागि सोच्छ । एउटा पुस्तालाई पर्याप्त पुग्ने धनदौलत भएर पनि मान्छे सन्तोष मान्दैन । आफ्नो मृत्युपछि आफ्ना छोरानातीले के खान्छन्, के गर्छन् भन्ने कुराले मान्छेलाई चिन्तित र दुःखी बनाइरहन्छ ।

भोलिलाई सम्झेर उत्साहित हुनु पक्कै राम्रो हो । भोलिको आशा संगालेर बाँच्नु पक्कै सुखद हो । तर, भोलिको भय र चिन्ताले हामीलाई वर्तमानमा रमाउन दिदैन । वर्तमानमा बाँँच्न दिदैन । भोलिको भयले हामीमा अति लोभ पैदा हुन्छ । असन्तोष पैदा हुन्छ । त्यही लोभ र असन्तोषले हामीलाई भ्रष्ट बनाउँछ । जस्तोसुकै कृत्य गरेर भएपनि धनदौलत थुपार्ने चक्करमा लाग्छौं । यो चक्करमा फसेपछि हामीले सन्तोष र सुख सधैका लागि गुमाउँछौं । किनभने लोभ र असन्तोषको भकारी कहिल्यै भरिदैन, कतिले पनि भरिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *