काठको बाकसमा फर्किएका ‘अधुरा सपना’

कोरिया जानाकारी

काठमाडौं

शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा सन्नाटा छायो । जसै आकाश कालो नीलो बनेको थियो, त्यहाँ जम्मा भएकाहरुको अनुहार त्योभन्दा बढी धुम्म थियो ।

एकैदिनमा २४ नेपालीको शव आएकाले यहाँ भीडभाड थियो, त्यही भीडमा विरक्तिएर बसेकी थिइन् बुढीआमा कोइकुमाया घले ।

उमेर ७० काट्न लागेकी उनलाई यो चटक्क परेको एयरपोर्टमा बस्न सक परिरहेको छ, उनलाई यहाँ यति छिट्टै आउन मनै थिएन, मन भारी बनाएर काठमाडौंमा टेक्नु पनि थिएन ।

सात महिनाअघि विदेश जाने बेलामा छोरी सोनुले भनेकी नै थिइन्, ‘२ वर्षपछि भेटुँला है आमा ।’

अबको डेढ वर्षपछि खुसीसाथ छोरीको स्वागतको लागि यहाँ आउनेबारे सोचेकी थिइन् कोइकुमायाले । तर, विधाताले छल्यो, उनी छोरीलाई हैन, उनको शब बुझ्न विमानस्थल आउनुपर्‍यो ।

अरु आफन्तले ‘तपाईं जानुपर्दैन आमा’ भनेकै हुन्, तर उनको मन मानेन्, ‘मेरी छोरी लिन म जान नपाउनु ?’

उनी विमानस्थलमा कहिले छटपटाउँदै थिइन् त, कहिले एकोहोरो टोलाउँदै थिइन् । वरपर जम्मा भएका आफन्तले उनलाई सम्हालिन साथ दिएका नै थिए, र पनि आमाको मन न हो, उनी बेला–बेला भक्कानिन्थन् । शब निकालिने गेटतिर हेरिरहन्थिन् ।

सोनुलाई दुबई गएको चार महिनामै ब्लड क्यान्सरले छिनेर लग्यो । जानेबेलासम्म हट्टाकट्टा मान्छेलाई त्यति छिट्टै रोगले कसरी च्याप्यो होला ? सोनुका आफन्तहरुको प्रश्न अनुत्तरित छ ।

रोग लागेको थाहा भएको एकहप्तामै सोनुले संसार छाडेको सत्य कुरा आफन्तहलाई त कुनै नमिठो कथा काहानीजस्तो बन्न पुगेको छ ।

सोनुका १८ वर्षका छोरा छन्, नेपाल आर्मीको तालिम सकेर ‘पासिङ आउट’को तयारी गर्दैछन् । आफू र भाइकै लागि भनेर तर, आमाले कुवेतमा पुगेर ज्यान गुमाउँदा उनी विक्षिप्त छन् ।

सेनाले तालिममा उनलाई कठोर बन्न सिकाएको छ । तर, आमा गुमाउँदाको पीडाका सामु त्यो कठोरता काम लाग्दैन । अब १५ वर्षका भाइ र बुवाको रेखदेख उनैले गर्नुपर्ने भएको छ ।

आमाको सपना अधुरै

त्रिभुवन विमानस्थलमा लकडाउनअघिसम्म दिनमा करिब दुईवटा शव आउँथे । गुजारा नचलेपछि परिवारको छाक टार्ने सपना लिएर आकाशमा उडेका धेरै युवाहरु बाकसमा फर्किनुपर्ने बाध्यताको सिलसिला लामो समयदेखि चलिरहेकै छ ।

यही दुःखदायी काहानीका एक पात्र हुन् धर्मकुमार थापा । ६ महिना नेपालमा छुट्टी मनाएर फर्किनासाथै धर्मले कतारमा ज्यान गुमाउनुपर्‍यो । हेमन्त रानाको गीतमा भनिएजस्तो ४० कटेर पनि रमाउन नपाएका उनले ५० कटेपछि त कसो जिन्दगी रमाइलो नहोला भन्ने नसोचेका होइनन् ।

‘बुढ्यौली लाग्नै लाग्यो, अब धेरै समय विदेश बस्दिनँ’ भनेर विदेसिएका धर्मलाई दैवले चटक्कै चुँडेर लगिदियो । ४९ वर्ष उमेरमा पराइ भूमिमा ज्यान गुमाएका धर्मकुमारका जेठा छोरा राजकुमार भोजपुरको षडानन्दबाट भर्खर काठमाडौं झरेका छन् ।

उनले किशोर अवस्था पार गरेका छैनन्, र पनि अब बुबाको शवमा काँध उनैले हाल्नु छ । आमाको मात्रै हैन, अरु दुई भाइको सहारा बन्नु छ । ठीकठाक चलिरहेको जिन्दगीमा आएको यो दुःखको पहाडलाई पार लगाउनु छ । फेरि ठीकठाक बनाएर जिन्दगी चलाउनु छ ।

हिजोसम्म बुवाकै भरमा बाँचिरहेका राजकुमारलाई अब परिवारका लागि ‘राजा’को जस्तै जिम्मेवारी बोक्नु छ । उनलाई अब बुवाको भूमिका आफैंले देखाउने बेला आएको राम्रोसँग थाहा छ । त्यसैले त आत्मविश्वासका साथ भन्छन्, ‘अब परिवारलाई मैले नै सबै हेर्नुपर्छ, आमा र भाइहरुलाई साथ दिनुपर्छ ।’

राजकुमारलाई जिन्दगीले यसरी छल गर्ला भन्ने कुनै कल्पनासम्म थिएन । उनलाई आफ्ना बुवा कहिलेदेखि विदेश जान थाले भन्नेसम्म पत्तो छैन, उनी जब बुझ्ने उमेरका भए, त्यतिबेलासम्म धर्मकुमार विदेशमै थिए ।

धर्म समय–समयमा नेपाल आइरहन्थे । छोराछोरीका लागि लुगाकपडा र उपहारहरु ल्याइरहन्थे । यसपटक त धर्मसँग उनको शब मात्रै आइपुग्यो, गुलियो चकलेट लिएर आउने बाबुको शवले राजकुमारहरुको मन अमिलो बनायो । र, समय साह्रै तीतो र नमीठो पनि ।

लकडाउनअघि नै कतारमा धर्मकुमारले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । सरकार र कम्पनीले त उतै सद्गत गर्न जोडबल गरिरहेकै थिए । तर, राजकुमारकी आमा तयार थिइनन्, उनकी दिदी पनि अन्तिमपटक बुवाको मुख हेर्न चाहन्थिन् ।

तर, आमाले लकडाउन नखुल्दै धर्मको शव काठमाडौं आउने भयो, घरबाट आमा, दिदी र भाइहरु काठमाडौं आउन सम्भव भएन । त्यसैले राजकुमार नै अघि सर्नुपर्‍यो । अब यो वर्षामा भोजपुरसम्म शव लैजान पनि नसकिने भयो ।

‘पशुपतिमा लगेर जलाउँछौं, घर लैजान सम्भव भएन,’ उनले भक्कानिँदै भने, ‘आमा र दिदीले बुवाको मुख हेर्ने धोको राख्नुभएको थियो, पूरा हुन पाएन ।’

उनी शुक्रबार बेलुका नै गाडी रिजर्भ गरेर भोजपुर जानेछन्, घरमा आमालाई सम्हाल्नु छ ।
कर्म गर्नेलाई भाग्यले अन्याय गर्‍यो

विदेशबाट फर्किने बासकहरुमा शव मात्र हैन, अधुरा र अपुरा सपना पनि फर्किन्छन् । ‘कर्मको फाल मीठो हुन्छ’ भनेर विदेशिएकालाई ‘भाग्य’ले ‘मृत्यु’को बिल्ला भिराएर फर्काउँछ ।

सिन्धुपाल्चोकका पेम्बानोर्बु लामासँग पनि भाग्यले यस्तै अन्याय गर्‍यो । २९ वर्षका पेम्बा ३ वर्षदेखि विदेशमै थिए । एक वर्षअघि घर छुट्टीमा आएर फर्किँदा आफन्तलाई भनेका थिए, अब फर्किएर बिहे गर्छु । तर, न उनको बिहे गर्ने सपना पूरा भयो, न धन कमाएर परिवारलाई खुसीसाथ राख्ने योजना नै । उनी बिरानो भूमिमै बिलाउनुपर्‍यो ।

उनी पछिल्लोपटक विदेश फर्किँदासम्म सबै ठीकठाक थिए । छरितो ज्यान भएका पेम्बालाई पनि थाहा थिएन कि उनलाई यति चाँडै संसारबाट विदा हुनुपर्छ ।

उनमा एकाएक ब्रेन ट्युमर देखियो । अस्पताल भर्ना भए । तर, उपचारकै क्रममा ज्यान गयो । हेलम्बु ३ घर भएका पेम्बा बित्दा उनको परिवारमा ठूलो बज्रपात परेको छ ।

पेम्बा परिवारका एक मात्रै छोरा, त्यसमाथि सबै आर्थिक जिम्मेवारी आफैंले बोकेका थिए । आमा, बुवा र बहिनीलाई भनेका थिए, ‘म छँदैछु केको पीर ।’

उनी दुबईमा केएफसीको चेन रेष्टुरेन्टमा काम गर्थे । ठीकै कमाउँथे । परिवारलाई उतिसारो पीर पनि थिएन ।

एकाकएक पेम्बा अस्ताएपछि उनको परिवार विक्षिप्त बनेको छ, उनका फूपुका छोरा भन्छन्, ‘हामी सबै शोकमा डुबेका छौं । तर, सम्हालिनैपर्छ ।’

पेम्बाको शव उतै अन्त्येष्टि गर्न प्रस्ताव आएकै थियो । तर, आफ्नो परम्परा अनुसार नेपालमै गर्ने परिवारको अडान थियो । त्यसैले त पेम्बा नफर्किए पनि उनको शव फर्किएको छ, र अब पेम्बाको अस्तु आफ्नै सिन्धुपाल्चोकको माटोमा मिल्नेछ ।

आडभरोसा ढल्यो

यो एयरपोर्टको भीडमा सबैका आफ्नै दुःख कहानी छन्, शोक छ । रोदन र पीडा छ । त्यहीँ उभिएकी छिन् कल्पना आले । उनी बारम्बर आँखामा चुहिएको आँशु पुस्छिन्, मन सम्हालेर रुनबाट रोक्न खोज्छिन् । तर, पनि पीडाले उनका आँखाका डिल ओभाउनै दिँदैनन् ।

कल्पनाका भाइ मानबहादुर आले, पनि बाकसमै फर्किएका छन् । ३१ वर्षकै उमेरमा मानबहादुरले कुवेतमा ज्यान गुमाउनुपर्‍यो । साँझसम्म फोनमा बोलेका मानबहादुर बिहान उठ्दा जीवित थिएनन् ।

त्यसैले त कल्पनालाई यो सत्य स्वीकार्न गाह्रो भइरहेको छ । आफ्नो मात्रै हैन, साइला दाइको परिवारको पनि आडभरोसा थिए, मानबहादुर ।

दाइ भारत गएर नफर्किएपछि दाइका छोराछोरी पनि आफैंले राखेर हुर्काउने, बढाउने र पढाउने सपना र योजना थियो उनको । ५ जना बालबच्चाको हेरचाह गर्नकै लागि हो, उनले विदेश जाने निर्णय लिएको ।

तर, उनी यो संसारमा छोटो समयको पाहुना मात्रै बने । विदेशमा रात साँझ–बिहान नभनी हाड घोटिरहेका उनको सास दैवले छिनेर लग्यो । त्यो पनि अकारण, कुनै संकेतसम्म नगरी ।

‘बेलुका भाइलाई विदेशको क्वारेन्टाइनमा खाना पुर्‍याएर आएर सुतेको मान्छे बिहान थिएन,’ कल्पना भन्छिन्, ‘भगवानले हामीलाई नराम्ररी छले ।’

कस-कसको शव ल्याइयो ?

शुक्रबार मात्रै २४ नेपालीको शब काठमाडौं आइपुगेको छ । कतारबाट कतार एयरवेजमार्फत २०, कुवेतबाट जजिरा एयरमार्फत २ र दुबईबाट नेपाल एयरलाइन्स र साउदीबाट हिमालय एयरलाइन्स मार्फत एक-एक वटा शब काठमाडौं आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

कतारबाट बर्दियाका शुकराम थारु, सर्लाहीका अरुणकुमार पञ्जीपुर, मस्तक सैक र मनोज पासवान, महोत्तरीका शिवकुमार राउत र अनिल चौधरी, धनुषाका चाउतारवा मण्डल खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यमबहादुर थापा, सिराहाका काशीनन्द्र यादव र रुपेशकुमार मण्डल, कपिलवस्तुका मोहम्मद अलामा मुसलमान, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापामगरको शव काठमाडौं आएको छ ।

त्यस्तै कतारबाटै सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङका युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा र मंगलबहादुर तामाङ, उदयपुरका मीनबहादुर थापा र सुर्खेतका नरबहादुर कामीको शव ल्याइएको छ ।

कुवेतबाट नुवाकोटकी सोनी तामाङ र संखुुवासभाका मानबहादुर आलेको शव पनि ल्याइएको छ । यूएईबाट पनि सिन्धुपाल्चोकको पेम्बानुर्बू शेर्पा शव पनि आएको छ ।

यही शबहरुलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा काफन्तले सद्गत गर्ने स्थानसम्म पुर्‍याउनेछ । केही परिवारले शब ढुवानीका लागि बोर्डमा निवेदन दिएका छन् भने केही परिवार काठमाडौं आउन बााकी छ । बोर्डले लकडाउनका कारण काठमाडौं आउन सम्भव नभएका मृतकका परिवारसँग सम्पर्क गरेर घरसम्मै शव लैजाने व्यवस्था गर्ने कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *