चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै संसदमा संकल्प प्रस्ताव

समाचार

काठमाडौं

चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै त्यसलाई फिर्ता ल्याउने पहल गर्न माग गर्दै संघीय संसदको प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश भएको छ ।

नेपाली कांग्रेसका सांसदहरु देवेन्द्रराज कंडेल, सत्यनारायण शर्मा खनाल र सञ्जयकुमार गौतमले बुधबार प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गरेका हुन् ।

‘नेपालका विभिन्न जिल्लाहरु दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका ६४ हजार हेक्टर भन्दा बढी भूभाग अतिक्रमणमा परेको छ’ संकल्प प्रस्तावमा भनिएको छ ।

अतिक्रमणमा परेको भूभागलाई कुटनीतिक माध्यमबाट फिर्ता ल्याउनका लागि र त्यहाँको स्थिति एवं वास्तविक अतिक्रमणमा परेका भूभाग र गाउँको अवस्थाबारे संसदलाई जानकारी गराउन उनीहरुले माग गरेका छन् ।

नेपालको निशान छापमा अंकित नेपालको भौगोलिक, राजनीतिक नक्सा अनुसार नेपाल र चीनबीच १४१४.८८ किलोमिटर सिमाना रहेको र ९८ वटा सीमा स्तम्भहरु रहेको उल्लेख गर्दै कांग्रेसका सांसदहरुले ९८ वटा सीमा स्तम्भमध्ये केही सीमा स्तम्भ हराएका र केही नेपालभित्र सारिएको दाबी गरेका छन् ।

गोरखाको सीमानामा पर्ने ३५, ३७ र ३८ नम्बर सीमा स्तम्भ र सोलुखुम्बुको नम्पा भञ्ज्याङमा पर्ने ६२ नम्बर सीमा स्तम्भ हराएको संकल्प प्रस्तावमा उल्लेख छ ।

गोरखाको ३५ नम्बरको सीमा स्तम्भलाई चीनले नेपालभित्र सारेकोले उत्तरी गोरखाको रुई गाउँ चीनको अतिक्रमणमा पर्दा ७२ घरधुरी चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्न गएको र दार्चुलाको जीउजीउ भन्ने स्थानका १८ घरसमेत चिनिया अतिक्रमणमा परेको उनीहरुले उल्लेख गरेका छन् ।

संकल्प प्रस्ताव पेश गर्ने सांसद देवेन्द्रराज कंडेलले आफूहरुले चीनले भूमि अतिक्रमण गरेको प्रमाण संकलन गरेको बताए । ‘ठाउँ ठाउँमा खोलाले बहाव परिवर्तन गर्दा खोलालाई नै सीमाना मानेर चाइनिजहरुले अतिक्रमण गरेका छन् ।

खोला नेपालको भूमि मिच्दै आउने र उनीहरु पनि सीमा सार्दै आउने केही ठाउँमा भएको छ । यस्ता प्रमाणहरु हामीले जुटाएका छौं’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *