“पेट भरिएको सपना”ले जित्यो प्रथम स्थान

कोरिया आज

१३ असार/सौल,अनेसास काेरिया

कोरियाव्यापी खुला नेपाली कविता लेखन प्रतियोगितामा कवि युवराज फुँयालको कविता “पेट भरिएको सपना”ले प्रथम स्थान हासिल गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया शाखाले हालै सम्पन्न गरेको उक्त प्रतियोगितामा कुल ४३ कविताहरूलाई उछिन्दै कोरियामै कार्यरत मोरङका कवि फुँयालको कविता प्रथम भएको हो ।

प्रतियोगितामा बाग्लुङका कवि निर्दोष शिवको कविता “के रैछ यो जिन्दगी”ले दोस्रो र नुवाकोटका कवि माधव लम्सालको कविता “लाहुरेको सम्झना”ले तेस्रो स्थान प्राप्त गर्न सफल भएको कविता प्रतियोगिता संयोजक आए एन अधिकारीले जानकारी दिनुभयो ।

कविहरू युवराज फुँयाल,निर्दोष शिव र माधव लम्साल लामो समयदेखि कोरियालाई कर्मथलो बनाउदै नेपाली साहित्य लेखनमा सक्रिय छन् ।विजयी कविहरूलाई वर्तमान महामारीको अवस्था अन्त्य भए लगत्तै एक कार्यक्रम आयोजना गरी पुरस्कृत गरिने संस्थाका अध्यक्ष डा. प्रमोद सारंगले जानकारी दिनुभयो ।

गत वर्ष संसारभर रहेका अनेसास च्याप्टरहरू मध्येबाट ‘फस्ट रनर अप’ घोषित कोरिया शाखाले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न साहित्यिक सभा, गोष्ठी र कार्यक्रम गर्दै आएको छ भने चर्चित अनलाइन कार्यक्रम ‘काव्य-सुधा लाइभ’ लाई पनि विगत ३ बर्ष यता निरन्तरता दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *