टोकियो
दक्षिण पश्चिम जापानका विभिन्न स्थानहरुमा शुक्रबार र शनिवारको परेको भिषण वर्षापछि आएको बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।
बाढी, पहिरो र डुबानबाट नराम्रोसंग प्रभावित बनेको कुमामोतो र खागोशिमा प्रिफेक्चर प्रान्तका विभिन्न स्थानहरुमा १४ जना बेपत्ता छन् ।
कुमामोतो प्रिफेक्चरमा एक दशक यताकै ठूलो बर्षाले नदिहरुको सतह बढ्दा वस्ति क्षेत्रमा वितण्डा मच्चाएको हो ।
बेपत्ता व्यक्तिहरुको खोजी जारी राखिएको अधिकारीहरुले बताएका छन् ।
कुमामोतोको कुमा नदी सहित स्थानिय ११ बढी नदी तथा खोलामा पानीको सहत बढेर बस्तिमा पस्दा बिपदले बिनासको रुप लिएको थियो ।
सबैभन्दा बढी हितोसी, आशिकिता लगायत शहर प्रभावित बनेको छ । यि स्थानमा शहरनै जलमग्न बन्दा स्थानियलाई अन्य क्षेत्रमा उद्दार गरेर लगिएको छ ।
हालसम्म २ लाख बढी नागरिकको उद्दार गरिएको अधिकारीहरुले पुष्टि गरेका छन् । उनिहरुलाई १ सय बढी आश्रयस्थलहरुमा राखिएको छ ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको यो क्षेत्रमा धेरै व्यक्तिलाई एकैस्थानमा राख्नुपर्दा कोरोना संक्रमण फैलनसक्ने चिन्ता अधिकारीहरुले गरेका छन् ।
कुमा शहरमा रहेको एक बृद्धबृद्धा हेरचाह केन्द्रमा बाढी पस्दा मानविय क्षती धेरै हनुपुगेको बताईन्छ ।
उद्दार कार्य जारी रहेको बताउदै कुमामोतो प्रिफेक्चरका अधिकारीहरुले ३० वटा जिल्ला बाढी, पहिरो र डुबानबाट नराम्ररी प्रभावित भएको बताएका छन् ।
यहाँको मौसम एजेन्सीले आगामी केहीदिन लगातार बर्षा हुने सम्भावना रहेको बताउँदा प्रभावितहरु थप समस्यामा परेका छन् ।
प्रधानमन्त्री आबे शिन्जोले नागरिकको सुरक्षा पहिलो प्राथमिकता रहेको बताउँदै उद्दार र आश्रय स्थलको उचित व्यवस्थापनमा जोड दिन प्रिफेक्चर अधिकारीहरुलाई आग्रह गरेका छन् ।
जापान सरकारले स्थानिय सरकारलाई आवश्यक सहयोग उपलब्ध गराउने बताउँदै उद्दारमा आत्मरक्षा बल सहित सबै उद्दार संयन्त्रहरु परिचालन गरेको छ ।