शिक्षित भनाउँदो दम्पती नै हतारिन्छन् गर्भावस्थामा लि’ङ्ग पहिचान गर्न

Health

स्वास्थ्य

गर्भ रहेपछि दम्पतीबीच वहस हुन्छ, ‘छोरा वा छोरी ?’ यसमा धेरैजसो दम्पतीको साझा रोजाई हुन्छ, ‘छोरा ।’

आफुलाई शिक्षित, सभ्य, संभ्रान्त भन्न रुचाउनेहरुमा समेत यस किसिमको मानसिकता पाइन्छ । यसैको उपज हो, लिंग पहिचान गर्ने प्रवृत्ति । हुन त गर्भ रहेदेखि नै दम्पतीमा कौतुहलता हुन्छ, छोरा वा छोरी भन्ने । तर, उनीहरु छोरा वा छोरी दुबैलाई समान रुपले स्विकार्न भने तयार हुँदैनन् ।

लैंगिक विभेद विरुद्ध जतिसुकै चर्काे आवाज उठाएपनि व्यवहारिक रुपमा ‘छोरा नै चाहिने’ मानसिकता हराएको छैन । त्यसैले त छोराको प्रतिक्षा गर्दागर्दै धेरै सन्तान जन्माउने, छोरी जन्माएको निहुँमा हेलाहोचो गर्नेदेखि कन्या भ्रुण हत्या गर्नेसम्मको कृत्यहरु भित्र–भित्रै जारी छ ।

गर्भ रहेपछि लिंग पहिचान गर्नुलाई अनौठो मान्नुपर्ने आवश्यक्ता नहोला । तर, लिंग पहिचान गर्नुको पछाडिको मनोविज्ञानलाई केलाउने हो भने यो त्यती सकारात्मक पाटो होइन । अक्सर दम्पती छोराको इच्छा राखेर लिंग पहिचान गर्न हतारिन्छन् ।

हामीलाई के लाग्छ भने, लैंगिक विभेद अशिक्षित, गरिब वा पछाडिएको समाजमा मात्र हुन्छ । तर, सभ्य, संभ्रान्त र शिक्षित भनाउँदो समाजमा पनि यस्तो प्रवृत्ति जकडिएको पाइन्छ । अशिक्षित र पिछडिएको समाजले यस्ता कृत्य वा मनोविज्ञानलाई लुकाउन सक्दैनन् । शिक्षित एवं सभ्य समाजले भने यस्ता कुरालाई भित्र–भित्रै लुकाएर बाहिर भने अर्कै नाटक गर्छन् ।

बरु, पिछडिएको समाज वा अशिक्षित भनिएकाहरुले छोरा वा छोरीलाई समान रुपमा स्विकारे पनि सभ्य वा शिक्षित भनिने समाजले अनेक ढोंग रचिरहेको पाइन्छ । लिंग पहिचान गराउन खोज्ने अनि छोरी भए गर्भपतन रोज्ने अधिकांश पढेलेखेका, जागिरे अनि समाजमा स्थापितहरु नै अग्रसर भएको मेरो अनुभव छ, यद्यपी यो गैरकानुनी हो ।

के छ व्यवस्था ?

लिंग पहिचान गर्नु गैरकानुनी मानिन्छ, हामीकहाँ । लिंग पहिचान गर्नुको पछाडि दम्पतीको खराब नियत वा कन्या भ्रुण हत्याको बढ्दो शृंखलाको कारण पनि यसलाई कानुनी मान्यता दिइएको छैन । त्यसैले भिडियो एक्स रे अर्थात अल्ट्रासाउण्ड गरेर लिंग पहिचान गर्न नपाउने कानुनी व्यवस्था छ ।

क्रोमोजोमको अध्ययनबाट गर्भको लिंग पहिचान गरेको नपाइए पनि लुकिछिपी अल्ट्रासाउण्डबाट लिंग पहिचान गरेका उदाहरण प्रसस्त पाईन्छ ।

१४–१५ हप्ता अर्थात साढे तीन महिनाको गर्भको लिंग पहिचान गर्न सकिने रेडियोलोजिष्टहरुको भनाई भए तापनि अधिकांशं चिकित्सकले गर्भवती वा उनका आफन्तहरुलाई जानकारी गराउदैनन् । तर कतैकतै बढी शुल्क लिएर लिंग पहिचान गर्ने गरेको सुनिन्छ ।

लिंग पहिचानले गर्भवती महिला तथा परिवारलाई मानसिक तनाव दिन सक्ने भएकोले बच्चाको गडबडीको बारेमा उल्लेख गरे पनि ‘लिंग’ भन्न नहुने कानुनी मान्यता रहेको छ । नेपालमा २ हजार देखि ५ हजार सम्म शुल्क लिएर लि¨ पहिचान गर्ने गरेको कतिपय रेडियोलोजिष्टहरुले पनि स्वीकार गर्छन् ।

अर्कोतिर गर्भको बच्चा छोरा छ या छोरी पत्ता लगाउन भारतको सिलगढी, पुर्णिया, पटना, तथा गोरखपुर जाने गरेको पाईन्छ ।

गर्भपतन गर्न पाइन्छ तर लिंग पहिचान गरेर होइन

नेपालमा १२ हप्तासम्मको जुनसुकै गर्भ सुचिकृत संस्थामा गर्भपतन गराउन पाउने अधिकार गर्भवती महिलामा रहे पनि लिंग पहिचान गरेर गर्भपतन गराउन नपाउने स्पष्ट कानुन रहेको छ ।

समान्यतयाः लिंगको पहिचान गर्दा गर्भको अवधि १२ हप्ता भन्दा बढि भईसकेको कारणले पनि छोरा वा छोरी पत्ता लागिसके पछि गर्भपतन गर्न नपाउने हुन्छन् । तर यो केवल कानुनमा र पहँुच नभएकाहरुका लागि मात्र लागु हुन्छन् भन्दा फरक नपर्ला ।

लिंग पहिचान गरेर गर्भपतन गराउनेहरुको संख्या ठुलो छ । यसरी लिंग पहिचान गरेर आएकाहरुलाई गर्भपतन गराएका कारण केहि चिकित्सकहरुको नाममा नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत परेको छ । ती उजुरीहरु माथि अनुसन्धान भई रहेको नेपाल मेडिकल काउन्सिलले जानकारी दिएको छ । तर लिंग पहिचान गराउन तथा गर्भपतन गराउन किन बाध्य छन् नेपालीहरु ? यस तर्फ कसैले सोच्न सकेको छैन ।

छोरी नचाहेको अवस्थामा छोरी जन्माउनु पर्दा सुत्केरी आमाले भोगेका समाजिक तथा मानसिक पीडा र उनका ती अबोध बालिका माथि गरिने दूव्र्यवहार अझै ज्यूँका त्युँ छ । अंश र वंशका लागि वा पिण्ड अनि बुढेसकालको सहाराका लागि छोरा चाहिने मान्यताले गहिरो जरा गाडेको छ ।

महिलाको अदृश्य घाउ

छोरी नै मात्रै भएका कारण दोस्रो विवाह गर्नुपरेको अनि घर परिवारले वहिष्कार गर्ने डर पनि ग्रामिण महिलामा छ भने सन्तान मात्रै दुई पाउने र त्यो पनि छोरा छोरी दुवैको चाहना राख्ने शहरिय महिलाहरुमा रहेको छ । पहिलो सन्तान छोरी भए पछि दोस्रो सन्तान छोरी भए गर्भपतन गराउने चाहना राख्ने अधिकांश शहरी र कामकाजी दम्पतीले रोज्ने गरेको मैले पाएको छु । अझ यस्ता दम्पती उच्च शिक्षा हासिल गरेका र घरपरिवारलाई पनि खवर नगरी गोप्य गर्भपतन गराउनका लागि आउने गरेको पाईन्छ ।

यसरी गर्भपतन गर्दा खतरा के छ ? समाजिक असन्तुलन त छँदैछ, स्वास्थ्यका दृष्टिकोणले पनि १२ हप्ता पार गरिसकेको गर्भपतनलाई राम्रो मानिदैन ।

यस्तो गर्भपतन गर्दा पाठेघरमा प्वाल पर्ने, पाठेघर फुट्न सक्ने, अत्यधिक रक्तश्राव हुन सक्ने तथा संक्रमण हुन सक्ने हुन सक्छ । यी जटिलताहरुलाई समयमा नै व्यवस्थापन गर्न नसके गर्भवती महिलाको मृत्युु हुन सक्छ । यस्ता गर्भपतनले दिर्धकालिन रुपमा बाझोपन, महिनावारीमा गडबडी जस्ता समस्याहरु पनि गराउन सक्छ ।

जागिरे दम्पितीहरु समय मिलाएर सन्तान जन्माउन चान्छन्, तर त्यो सन्तान छोरा नै हुनुपर्ने सोच बनाउछन् । अनि लिंग पहिचान र गर्भपतनका लागि जायज वा नाजायज मार्ग खोज्ने गर्छन् । त्यसैले यस किसिमको गर्भपतन स्वास्थ्य भन्दा पनि समाजिक समस्या भन्दा फरक नपर्ला ।

छोरीको अधिकार सुनिश्चित नगरिए सम्म वा छोरामा आश्रित रहने परम्परा अन्त नभए सम्म यस्ता गर्भपतन रोक्न सकिएला त ? गर्भमा रहेको सन्तानको अधिकार सुनिश्चित गर्न गर्भपतनमा रोक लगाएर मात्र पुग्छ कि पुग्दैन ? एउटा दक्ष चिकित्सकलाई गर्भपतन गर्न रोक्न सकिन्छ ।

तर गर्भपतन गर्न रोक्न सकिन्छ ? नेपालमा रोके भारत जाने क्रम नबढ्ला भन्न सकिन्न । नेपालका योग्य एवं दक्ष चिकित्सकहरुले यो सेवा नदिए भारतमा रहेका केन्द्रहरुमा तथा हाम्रै मुलुकका असुरक्षित स्थानहरुमा नेपाली दम्पतीहरु नलुटिने ग्यारेन्टि कसरी गर्ने ? सबभन्दा महत्वपुर्ण तथ्य त छोरी जति सबै गर्भपतन गर्दै जाने हो भने समाजिक सन्तुलन कसरी कायम रहला ? यस्ता धेरै प्रश्नहरु हामी माझ रहेको छ ।

त्यसैले गर्भपतनलाई ब्यबस्थित गर्नुका साथै यस्ता समाजिक र संस्कृतिक बाध्यताहरुको अन्त गर्नु आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *