ओई, घर किनिस्?

विचार

विचार

कोरोना महामारीपछिको लकडाउन सुरु नहुँदै पोखरा पुगेका श्रीमती र छोरालाई लकडाउन अलि खुकुलो भएपछि काठमाडौं ल्याउने विचारले म वडा कार्यालय पुगें पासको लागि सिफारिस बनाउन।

सरकारले वडाको सिफारिसमा जिल्ला प्रशासनले पास जारी गर्न सक्ने सूचना निकालेपछि म सरकारी सूचनाको अक्षरस पालना गरी त्यहाँ पुगेको थिएँ। आफ्नो कुरा बेलिविस्तार लगाएपछि वडाकी कर्मचारीले लेख्दै गरेको सिफारिस बन्द गरिन् जब उनले थाहा पाइन्, त्यहाँ मेरो घर छैन र म डेरामा बस्ने हो। सरकारी सूचनामा कतै पनि आफ्नो घर हुनेले पास पाउने र डेरावालले नपाउने भन्ने उल्लेख थिएन।

म उनीसँग बाझ्न वा उनको हाकिमसँग भेटेर कुरा गर्न सक्थें तर आफ्नो मनस्थिति परिवर्तन गरी त्यहाँबाट निस्कें।मैले प्रत्यक्ष व्यहोर्न त परेन तर कोरोना संकटमा डेरावालहरुले कोरोनाको त्राससँगै घरधनीहरुको तितो व्यवहार भोग्नु परेको देखियो। डेरावाल चाहिं कोरोना सार्नकै लागि बनेजस्तो वा उनीहरु संक्रमणप्रति सचेत नभए जस्तो गरेर घराबाटै निकाल्ने वा चाहिनेभन्दा वढी निगरानी गर्ने र घर गएकालाई नफर्कन दबाब दिने गरेको पाइयो। यो ठाउँ छोडेर बाहिर गएका पनि त आफ्नो ज्यूज्यानको माया गरेर जोगिएरै बसेका होलान् नि।

उदाहरणको लागि काठमाडौंभन्दा पोखरामा संक्रमितको संख्या सधैं कम रह्यो तर मैलै पोखराबाट परिवारलाई बोलाउन सकिनँ, कारण छरछिमेकबाट हुनसक्ने सम्भावित नमिठो व्यवहार, यो सबैको जड चाहिं म डेरावाल हुनु थियो। लामो समय सहरको बसाइ र डेरावाल हुनुका अनगिन्ती तिता-मिठा भोगाइहरु होलान् धेरैका। गतिशील समय र समाजमा अहिलेका सहर र समाज निर्माणमा म जस्ता डेरावालको आर्थिक, सामाजिक, शैक्षिक वा राजनीतिक योगदान पनि धेरै नै होला।
घर छोडेर काम विशेषले जहाँजहाँ पुगिन्छ, त्यहाँत्यहाँ एक थान घर बनाउन सबैलाई कहाँ सम्भव होला र? सहर वा घरधनीको मात्र के कुरा, सायद सहर छिरेको घेरै वर्ष भएर होला, अब त भाइसाथी र आफन्तले पनि मलाई डेरावालको रुपमा देख्न नचाहेको अनुभूति भएको छ।
केही वर्ष पहिले ‘ओई विहे गरिस्?’ वा ‘बच्चाबच्ची कति छन् त?’ भन्नेले आजकल पहिलो प्रश्न नै ‘ओई घर बनाइस्?’ वा एक कदम अगाडि बढेर ‘घर कहाँ बनाइस् रे?’ अझै कतिले त ‘के हो यार घर पनि नदेखाउने, कत्ति न हाम्ले खाइदिने जस्तो?’ यस्ता प्रश्न व्यंग्य हो कि अपेक्षा? पत्तो पाउन सक्दिनँ म कहिलेकाहीं।

अजिव जब लाग्छ तब केही वर्षअघि डेरामै बस्न पनि मुस्किलमुस्किल पर्ने साथीकी श्रीमती अहिले घर एउटा घर किनेपछि भन्दिनुहुन्छ, ‘सर त कहाँ हामी जस्तो एक तला हो र ठूलै महल किन्ने भनेर अझै डेरामा बस्नुभएको होला नि?’ मलाई विश्वास छ, ती साथीकी श्रीमतीले अर्को पटक भेट्दा मलाई ‘आइस्यो गैस्यो’ मा दनक दिनुहुने छ किनभने कतिपय मित्रजनले घर किनेकै कारण मलाई पहिले ‘सर’, पछि नाममा ‘जी’ अनि गाडी पनि थपेपछि ‘भाइ’ भन्न थालेको विर्सेको छैन। अनि, कतिपयसँग पहिलो पटक फोनमा कुरा भएको हुन्छ, ‘म फलानो ठाउँबाट फलानो बोल्दै छु’ भन्न नपाउँदै काम कुरो अर्केतिर छ, कुराको सुरुवातमा उताबाट आउँछ, ‘ए ए, अनि त्यहाँ तपाइँको घर कि डेरा रे?’ भनेपछि अब मैले फोन गर्दा, ‘नमस्कार म गुल्मी जिल्ला घर भई हाल ललितपुरको इमाडोलमा डेरामा बस्ने वर्ष यतिको रमेश बोल्दै छु’ भन्नु पर्ने हो कि?

मानिसका आफ्नै कथा, व्यथा, चाहना वा वाध्यता हुन्छन्, अनि आफ्नै योजना पनि। तर आजकल मेरो उमेर पनि त्यस्तै भएर होला म डेरावाल भएको धेरै शुभचिन्तकलाई पिरै पर्न लागेकोमा दुखित छु। आफन्त वा पुराना अनि नयाँ साथीभाइको जमघट वा कुनै सामाजिक वा पारिवारिक कार्यक्रममा सबै विषयवस्तुलाई मेरो डेरावाल जिन्दगीले ओझेल पार्न लागेको छ। यसो कहिलेकाहीं विदेशतिर पनि पुग्ने गरेकोले होला कतिपयको झटारो हुन्छ, ‘त्यत्रो डलर ल्याएर कता हालिस् हँ?’ मानौं यो प्रश्नकर्तालाई मैले कति डलर ल्याएँ भन्ने बैंक स्टेटमेन्ट नै देखाएझैं, जब कि म डलर हुने देशमा खासै धेरै समय बसेकै छैन।

खोई अहिलेको सामाजिक संरचना कस्तो भयो? टोल-छिमेकमा ठूलै महल बन्यो भने हामी वाहवाह भन्छौं, त्यो घरधनीलाई ठूलै मान्छौं। हामीले किन नसोच्ने, त्यत्रो महल ठडिन कति रकम लाग्यो होला? स्रोत के होला? अनि त्यसको कर सरकारलाई तिरिएको होला? कसैको प्रगतिमा रीसराग गर्नु त परेन, तर आफ्नो वरिपरिको गतिविधि निगरानी नगर्ने, हरेक कुरामा आँखा चिम्लने अनि देश बनेन भनेर रोइकराइ गर्ने, यो लय अलि मिलेन कि?

अहिले हामीलाई कसले कुन क्षेत्रमा केकस्तो योगदान गर्दैछ, आफ्नो विधामा राम्रै पो गरेको होला कि वा वैज्ञानिक बनेर केही आविष्कारै गरेको छ कि, त्यसको केही सरोकार छैन। उसले घर छोडेको वा फलानो देश वा सहर बस्न लागेको यति भयो भनेपछि जमिन कता किन्यो? घर कता वा कत्रो बनायो वा कुन ब्राण्डको गाडी छ, गाडी हो भने नयाँ होकि पुरानो किनेर काम चलाएछ? अहिले हामी यिनै प्रश्नको वरिपरि फनफनी घुमिरहेका छौं। हुन त ती सबै काम गरिरहँदा पनि घरै बनाउन नहुने भन्ने हैन, तर हाम्रो अर्जुनदृष्टि कता छ भन्न खोजेको मात्र हो।
जसरी आप्रावासीहरुलाई रैथानेले विभेद र हेयको दृष्टिले हेर्छन्, डेरावाललाई यता त्यस्तै आँखाले हेर्ने गरेको अनुभूति हुन्छ। आप्रवासीको रगत-पसिनामा ती देश बने अनि हामी एक ठाउँबाट अर्को ठाँमा पुगेर गरेको मिहिनेतले तपाई हाम्रा ठाउँ वा सहर गुल्जार भएका होइनन् र?
रैथानेले बाहिरको मानिसलाई वा घरवालाले डेरावाललाई दोस्रो दर्जाको वा आउटसाइडरको व्यवहार गर्ने सोचमा परिवर्तन गर्नु जरुरी देखिन्छ। हुन त अलि अस्तिसम्म डेरामै बस्नेहरु अर्थात् नवघरवालाहरुको चुरीफुरी हेर्दा भने रमाइलो नै हुन्छ। मलाइ एउटा घरबेटीले त ‘डेरावालाले पनि फ्रिज र वासिङ मेसिन राख्छन्?’ भनेर झपारेकै छन्।

वास्तवमा आफ्नै घरमा बस्नुको आनन्द डेरामा त कहाँ होला र। त्यो त बीसौं वर्ष डेरामा बस्नेलाई झनै थाहा होला। त्यसैले उसको घर भइदिए हुन्थ्यो भन्ने चाहना राख्ने शुभचिन्तकहरुको मागलाई मैले सकारात्मक रुपमै लिएको छु।मलाइ याद छ, भूकम्पपछि मैले घरबेटीसँगका केही रमाइला किस्साहरु फेसबुकमा राखेपछि एक जना शुभचिन्तकले गम्भीर भएर लामै लिखित सुझाव दिनु भएको थियो, ‘के घरबेटी घरबेटी भन्दै अनेक थोक लेखेको? अहिलेसम्म एउटा घर पनि किनेको रहेनछ भनेर सबैलाई थाहा दिनुपर्छ?’ अर्थात् म डेरावाल हुँ भनेर इज्जत फाल्ने काम बन्द गर्नुपर्योई मैले। त्यो लिखित सुझावको जवाफ मैले अहिलेसम्म दिएको छैन।
अन्त्यमा, यो अनुभूतिलाई मेरो डेरावाल हुनुको कुण्ठाभन्दा पनि अहिलेको समयको हाम्रो चिन्तनको रुपमा बुझिदिनु पर्ला र मेरा धेरै शुभचिन्तकहरुको प्रश्न ‘ओई घर किनिस्?’ को सामूहिक जवाफ पनि, ताकि अब हाम्रो भेट हुँदा यो मिठो प्रश्न सोध्ने कष्ट उहाँहरुलाई नहोस।नेपाल लाईभबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *