दक्षिण कोरियाका रहेका विदेशी कामदारलाई खुशीको खवर !

कोरिया आज

सोल

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएर भिसा अवधि सकिएका विदेशी कामदारलाई सरकारले भिसा थप गरिदिने भएको छ ।

सरकारका अनुसार त्यस्ता कामदारहरूले भिसा अवधि थप भएको समयमा समेत काम गर्न पाउनेछन् ।विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण भिसा सकिएका कामदार स्वदेश फर्कन नपाएपछि तत्कालका लागि यो नियम ल्याइएको हो ।

यसअघि पनि कोरिया सरकारले अवधि सकिएका कामदारको भिसा ५० दिन थप गरिदिएको थियो । तर उक्त अवधिमा पनि आफ्नो देश फर्कन नसकेकाहरूलाई थोरै समयका लागि भिसा थप्दै आएको थियो । तर यसरी थपिएको भिसा अवधिमा कामदारलाई कार्य गर्ने अनुमति भने दिइएको थिएन ।

कोरियाली सरकारको निर्णयसँगै १६ देशबाट ईपीएसमार्फत कोरिया आएर कार्य अवधि सकेका ४० हजारभन्दा बढी कामदार लाभान्वित हुनेछन् । हाल दक्षिण कोरियामा ५ हजारभन्दा बढी नेपालीको भिसा अवधि सकिएको छ ।

कोरियाली प्रधानमन्त्री चुङ से क्युनले बुधबार विपद् व्यवस्थापनको बैठकमा बोल्दै नयाँ नियमबारे बताएका हुन् । उनले कोरियाको धेरै गाउँका कृषि फार्महरूमा कामदारको अभाव रहेकाले सरकारले नयाँ नियम ल्याउन लागेको पनि जनाए । ‘भिसा थपिएकाले अस्थायी रूपमा काम गर्न पाउने छन् । उनीहरूलाई कृषि फार्मतिर कामका लागि प्रोत्साहन गरिनेछ,’ उनले भने ।

२ सय ३८ नेपाली फर्किय

लामो समयदेखि भिसा सकिएर बसेका २ सय ३८ जना नेपाली कोरियन एयरमार्फत बिहीबार नेपाल फर्किएका छन । ५ हजारभन्दा बढी नेपाली भिसा अवधि सकिएर स्वदेश फर्कने पर्खाइमा छन् । बिहीबार फर्कनेसहित हालसम्म ७ सय जना कामदार मात्रै स्वदेश फर्कन पाएका छन् ।

लामो समयदेखि भिसा सकेर बसेका नेपालीले न त कम्पनीमा नियमित काम गर्न पाएका छन् न त स्वदेश फर्कन नै । यसरी काम पनि गर्न नपाउने र घर पनि जान नपाउँदा मानसिक समस्या देखिन थालेको ख्याङगिदो ह्वासाङसीमा बस्दै आएका राजकुमार कार्कीले बताए ।

‘हामी ४ महिनादेखि काम नगरी कोरियामा बसिरहेका छौं । पहिले कमाको पैसा खर्च गरिरहेका छौं । पैसा तिरेरै नेपाल जान्छौं भन्दा पनि घर जान पाइएको छैन,’ उनले भने । भदौ १ गतेदेखि नेपालले अन्तर्राष्ट्रिय उडान अनुमति दिने निर्णयपछि भने स्वदेश फर्कन सजिलो हुनेमा आशावादी छन् अर्का नेपाली पूर्णमान चाम्लिङ । कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *