चिकित्सकको कस्तो व्यवहारले रोगीको मनोबल घट्छ ?

जिवनशैली

जिवनशैली

‘तिमीहरुमध्ये को सबैभन्दा राम्रो डाक्टर बन्न चाहन्छौं ?’

चिकित्साशास्त्रका अधिकांश विद्यार्थी गर्वसाथ हात उठाउँछन् ।प्रोफेसरले एक विद्यार्थीलाई इंगित गर्दै सोध्छन्, ‘तिमीलाई लाग्छ, के तिमी राम्रो डाक्टर बन्नेछौं ?’युवती उठ्दै फुर्तिसाथ भन्छिन्, ‘यस सर ।’

‘किन तिमीलाई त्यस्तो लाग्छ कि तिमी असल डाक्टर बन्नेछौं।चिकित्साशास्त्र पढिरहेकी युवती भन्छिन्, ‘किनभने मलाई बिरामीहरुप्रति लगाव छ । म उनीहरुको पीडा स्वयम् आफ्नो महसुष गर्नेछु । म डाक्टर होइन, एक मित्र बनेर उनीहरुको मद्दत गर्न चाहन्छु ।’

प्रोफेसर उपहासपूर्ण हाँसो हाँस्दै उच्च स्वरमा भन्छन्, ‘मैले २५ बर्षे करियरमा कुनै रोगीसँग कहिल्यै मित्रता गाँसिन । कुनै रोगीको पीडा अनुभव गरिन । मात्र रोगीको उपचार गरें । ’

विद्यार्थीहरु अलमल पर्छन् । ‘द्विविधा भयो ?’ प्रोफेसर भन्छन्, ‘म यसलाई अरु व्याख्या गर्नेछु ।’ उनी आफ्नो हात फैलाउँछन् र थप्छन्, ‘हजारौंको शल्यक्रिया ग¥यो यो हातले तर कहिल्यै काँपेन । तर, यदि मैले आफ्नी छोरीको शल्यक्रिया गरें भने यो हात काँप्नेछ । किन ? किनभने म मेरी छोरीलाई प्रेम गर्छु ।’

सन् २००३ मा प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘मुन्ना भाई एमबिबिएस’को दृश्य हो यो । राजकुमार हिरानी निर्देशित चलचित्रले चिकित्सा क्षेत्रमा व्याप्त वेथितीको चिरफार गरेको छ । चिकित्सालाई केवल एक पेशा र व्यवसायको रुपमा मात्र मान्नेहरुको कारण कसरी रोगीको मनोबल कमजोर बन्न पुग्छ भन्ने कुरा चलचित्रले देखाएको छ ।

प्रोफेसर अगाडि भन्छन्, ‘रोगीसँग मित्रता, सहानुभूति, लगाव चिकित्सकको एक कमजोरी हो । चिकित्सकका लागि एक बिरामी फगत रोगी शरीर मात्र हो ।’

एक चिकित्सकको जिम्मेवारी हो, रोगको पहिचान गर्नु र त्यसका लागि उचित उपचारको खोजी गर्नु । तर, के यतिमा मात्र उनको दायित्व पुरा हुन्छ ? चिकित्सकको यान्त्रिक व्यवहार नै काफी छ ? चिकित्सक र बिरामीबीच कुनै भावनात्मक सम्बन्ध रहँदैन ? लगाव वा प्रेम हुन्न ?

यो प्रश्न किनपनि उठ्छ भने अधिकांश रोगीले चिकित्सकबाट मानविय व्यवहारको अपेक्षा गर्छन् । एक मित्रवत् व्यवहारको अपेक्षा गर्छन् । चिकित्सकले आफ्नै सन्तान वा परिवार जस्तै व्यवहार गरोस् भन्ने अपेक्षा राख्छन् । तर, हाम्रा अस्पतालहरुमा एक रोगी कस्तो बोली–ब्यवहार झेलिरहेका छन् ?

अस्पतालमा पुगेपछि कुनैपनि रोगीको रोग पहिचान गर्ने, त्यसको औषधि उपचार गर्ने विधी खोजिन्छ । यस क्रममा रोगीको मनोदसा कस्तो छ ? उनी कति दयानिय अवस्थाबाट गुज्रिरहेका छन् ? उनी भावनात्मक रुपमा कति पीडित छन् भनेर बुझ्ने चेष्टा गरिदैन ।

अस्पतालको परिसरमा पुगेपछि रोगीको मनोदसा अरु खराब हुन्छ । आफुलाई कस्तो रोग लागेको हो ? उपचार कति जटिल होला ? खर्च कति लाग्ला ? रोग निको होला वा नहोला ? इत्यादि कुराले उनीहरुको मन अशान्त र भयभित हुन्छ । अर्कोतिर आफ्नो रोगको पीडा त छँदैछ ।

यसरी अस्पतालमा आइपुग्ने रोगीसँग कर्मचारी, नर्स र चिकित्सकहरु समेत रुखो बोली–व्यवहार गरिरहेका हुन्छन् । प्रहरीले अपराधीलाई केराकार गरे झै रोगीलाई कडा स्वरमा प्रश्न गर्ने, रोगीले सोधेको प्रश्नलाई बेवास्ता गर्ने, बुझ्ने भाषामा स्पष्ट जवाफ नदिने, अलमलाउने जस्ता व्यवहार भोग्नुपर्छ । अस्पतालमा गरिने यस्ता बोली–व्यवहारले एक रोगीको मनोबल अरु कमजोर हुनपुग्छ । जब एक रोगी हतोत्साही र भावनात्मक रुपले नै कमजोर हुनपुग्छन्, त्यसले उनको रोगलाई अरु जटिल बनाउने संभावना रहन्छ ।

भनिन्छ, कुनैपनि रोगको उपचारमा शल्यक्रिया, औषधि आदि मात्र पर्याप्त छैन । रोगीको मनोबल पनि उच्च हुनुपर्छ । उच्च मनोबलले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ । त्यसैले शारीरिक उपचारसँगै रोगीलाई भावनात्मक रुपले पनि निरोगी तुल्याउन जरुरी छ । कुनै बिरामीलाई फगत एक रोगी शरीरको रुपमा मात्र लिनु उचित हुँदैन । उनीहरुसँग मानविय र मित्रवत् व्यवहारको खाँचो हुन्छ । बिरामीप्रति लगाव र प्रेमको खाँचो हुन्छ ।अनलाईन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *