दृढता र इच्छाशक्तिबाट रोगसँग लड्न सकिन्छ

जिवनशैली

स्वास्थ्य जिवनशैली

मनुष्य आफ्नो विचारद्वारा बनेको हुन्छ । ‘यो पुरुष श्रद्धामय छ जो जस्तो श्रद्धा गर्छ त्यो त्यस्तै हुन्छ’ भनी उपनिषद्मा भनिएको छ ।

मनुष्य विचार विशेषको मुद्गल हो । यसकारण आरोग्यताको दृढ भावना र मन्त्र जप एवं ध्यानद्वारा पनि रोग निवृत्ति हुन्छ । यस विषययमा यहाँ संक्षेपमा चर्चा गरौं ।

प्रत्येक मनुष्यामा एक ईश्वर प्रदत्त स्वाभाविक शक्ति हुन्छ जसलाई हामी आधुनिक शब्दमा प्राणीको निजी विद्युत शक्ति अथवा मानवीय आकर्षण शक्ति पनि भन्न सक्छौं । यो शक्ति मानिसमा जति अधिक मात्रामा हुन्छ उति नै ऊ प्रभावकारी, तेजस्वी, उत्साही, आत्मविश्वासी, आशावादी र कार्यकुशल हुन्छ ।

यसको न्यूनतम मात्राले मनुष्यलाई निराशावादी निरुत्साही बनाउँछ र उसको जीवन अशान्तिमय र असफल बनाउँछ । शास्त्रीय भाषामा हामी यसलाई प्राणशक्ति पनि भन्न सक्छौं, जो विद्युत शक्तिको मिल्दोजुल्दो छ ।यो शक्तिको केन्द्र मनुष्याको शिर हो जो मस्तिष्क एवं ज्ञानेन्द्रियहरुको स्थान हो । यसकारण यसको किरण मनुष्यको आकृति, आँखा, मुख, नाक र मस्तिष्कद्वारा निस्किरहन्छ ।

यसैले हामी जीवनका धेरैजसो कामहरु हातद्वारा गर्दछौं । यो शक्ति जो किरणको रुपमा मुख आदिबाट निस्किरहन्छ ओज या तेज भन्न सकिन्छ । अंग्रेजीमा यसलाई औरा भनिन्छ । यसैलाई प्राणतत्व अथवा विद्युत प्रभाह पनि भन्छन् ।यो मस्तिष्क र हातका औंलाहरुको अन्तिम भागबाट प्रकाशको पुञ्ज पुञ्जको रुपमा निक्लेको देखिन्छ । यसै शक्तिमा हाम्रा धर्मशास्त्रहरुको अनेक गुप्त रहस्यमय शिद्धान्तको व्याख्या लुकेको छ, जसलाई हामी रुढीवादी या अन्धविश्वास भनेर बुद्धिको कमजोरीको कारणले विश्वासपूर्वक स्वीकार गर्न सक्दैनौं ।

यो प्राणशक्तिको विषयमा विभिन्न प्राविधिक लेखहरु पाइन्छन् जुन लेखहरुले प्राणलाई गतिशील ब्रम्ह हो र गतिशील ईश्वर हो भन्नेसम्म उल्लेख गरेका छन् ।प्राणीको यही विद्युत् प्रवाह या प्राणशक्तिलाई बढाएर आँखाको त्राटकद्वारा नाकबाट, सासद्वारा, मुखबाट फुकेर, हातबाट मर्जनद्वारा, मस्तिष्कबाट शुभ भावना र दृढतापूर्वक आदेश अर्थात सूचनाद्वारा शारीरिक तथा मानसिक रोग निवृत्ति गर्न सकिन्छ । हाम्रो देशमा यो विद्या प्रचिनकालदेखि चलिआएको हो ।

पाश्चात्य देशमा यसको आधुनिका आविश्ष्कार संमोहन शक्तिको नामले प्रशिद्ध छ । इच्छाशक्तिको विकासको िनयम स्वस्थ्य किसिमको शक्ति पनि बिना आवश्यक्ता व्याय नगर्नु, कर्तव्यमा दृढ रहनु, दृढ आत्मविश्वास र संकल्प, बल, श्रद्धा र उत्साह, सदाचार, निर्भयता, शुभ विचार, चित्त प्रसन्नता, आसन, प्राणायाम आदिको अभ्यास, मनको एकाग्रता, ईश्वरभक्ति यी सबै इच्छाशक्तिको विकासमा सहायक छन् ।

इच्छाशक्तिको ह्रासको कारण

शरीर तथा मन अस्वस्थ हुनु, ब्रम्हचर्या नियमको एल्लंघन, शारीरिक तथा मानसिक शक्तिलाई बिना आवश्यक्ता व्यय गर्नु, संशयात्मकता, कायरता, दुराचार, भय, काम, क्रोध, घमण्ड, अर्काको अनिष्टचिन्तन, चित्त चान्चल्य, अशान्ति र नास्तिकता यी सबै इच्छाशक्ति ह्रासको कारण हुन् ।

त्राटकको अभ्यास

यौगिक विधिपूर्वक स्फटिक अथवा कालो विन्दुमा मेरो नेत्रको ज्ञानतन्तु बलवान् भइरहेछ, नेत्र प्रभावशाली र आकर्षक भइरहेछ भन्ने भावनाले त्राटक गर्नु ।

दीर्घ श्वास प्रश्वासको अभ्यास

म प्राण शक्तिलाई शरीरमा खिचिरहेछु प्राणशक्ति मेरो रौं रौंमा प्रविष्ट भएर मलाई उत्साह, जीवनशक्ति र आरोग्यता प्रदान गरिरहेछ । म सूर्यतुल्य तेजस्वी बनिरहेछु भन्ने भावनाले प्राणायाम गर्नुपर्छ ।

आरोग्यता र स्वास्थ्यको दृढ भावना

आरोग्य र आनन्दको जप साधै म स्वस्थ छु, ममा आलस्य प्रमाद छैन, म पूर्णतय निरोग र बलिष्ठ छु, ममा कर्तव्य कदाचित प्रमाद गर्ने छैन भन्ने विचार गर्नुपर्छ ।

म्यानचेष्टरका एक चिकित्सक ब्रेडले सन् १८४१ मा कृतिम निद्रा उत्पन्न गरेर रोगीको रोगलाई सूचना तथा आदेशद्वारा निवृत्त गर्न सकिन्छ भन्ने अनुभव गरेका थिए । प्राणशक्तिको प्रभावले नै इच्छाशक्तिको विकासद्वारा इष्ट प्रकृतिको ग्रहण तथा अनिष्यट प्रकृतिको त्याग गर्न सकिन्छ । दृढ इच्छाशक्तिको प्रयोगकर्ताले सर्वप्रथम आफुलाई नियन्त्रणमा राख्नु आवश्यक छ । जो स्वयम् आफुलाई आफ्नो वशमा राख्न सक्दैन उसले अर्को माथि केही प्रभाव पार्न सक्दैन । अतः आफुमा जुन दृष्ट प्रकृति छ त्यसको परित्याग र राम्रो प्रकृतिको ग्रहण निश्चयरुपले पुरा आत्मविश्वास र दृढ संकल्पसाथ गर्नुपर्छ । मनुष्यको मनमा राम्रो र नराम्रो विचार जसरी बराबर उठिरहन्छ त्यसैगरी त्यसको बल पनि बढिरहन्छ । अन्तमा कुनै समय त्यो विचार यति बलियो हुन्छ कि मानिस त्यही विचार अनुसार काम गर्न बाध्य हुन्छ ।

यसकारण जुन अनिष्ट प्रकृतिको त्याग गर्नु छ त्यसलाई तुरुन्त छोड्न पुरा आत्मविश्वास साथ दृढसंकल्प गरेर त्यस विचारलाई मनबाट पूर्णत हटाइदिनुपर्छ । यसरी बारम्बार हटाएपछि यस्तो विचार दुर्बल हुँदै जान्छ र नष्ट हुन्छ । विचार नरहेपछि त्यस प्रकारको कर्म हुन पनि स्वत हट्छ । खराब कार्य छुटेपछि अनिष्ट प्रवृत्ति पनि हट्छ । यसरी नै जुन प्रकृति ग्रहण गर्नु छ त्यसको विचारलाई मनमा प्रबल गर्दै दृढ प्रकृतिको रुपमा ल्याउन सकिन्छ ।

खप्तडबाबाको चर्चित पुस्तक ‘स्वास्थ्य विज्ञान’बाट साभार । प्रकाशक तथा वितरक : बुकहिल पब्लिकेसन्स प्रालि

Leave a Reply

Your email address will not be published. Required fields are marked *