सोल
दक्षिण कोरियाको रोग तथा प्रकोप नियन्त्रण केन्द्रले हाल भईरहेका गतिविधिहरुलाई तत्काल नसच्याइएमा सिङ्गो स्वास्थ्य प्रणाली नै तहस नहस हुने चेतावनी दिएको छ ।
केन्द्रका निर्देशक जङ्ग इयोन क्योङले पछिल्ला दिनहरुमा भईरहेका गतिविधिहरुले स्वास्थ्य प्रणाली नै ध्वस्त पार्ने बताएका हुन् ।
चर्चमा भइरहेका भीडभाड बढाउने गतिविधि , राजनैतिक माग सहितका ठूलो संख्यामा भइरहेका जुलुस , अनावश्यक भीडभाड लगायतका गतिविधिले सरकारको कोरोना विरुद्धको लडाइमा त ठेस पुर्याएको नै छ ।
सिङ्गो देशकै स्वास्थ्य प्रणाली समेत ध्वस्त हुने स्थितिमा पुगेको बताउदै निर्देशक क्योङले समयमै यस्ता गतिविधिहरु माथि नियन्त्रण नगरिए ठूलो दुर्घटना हुने चेतावननी दिएका छन् ।
राष्ट्रपति विरुद्धको जुलुसमा संक्रमणको केन्द्रविन्दु मानिएको चर्चबाट धेरै सहभागी रहेको बताउदै त्यहाँबाट फैलिन सक्ने संक्रमण कल्पना बाहिर हुने उनले बताएका छन् ।
जियोङ्जी प्रान्तका सैयौं चर्चहरुमा कोरोना संक्रमण पाइएको बताउदै निर्देशक क्योङले देशले ठूलो स्वास्थ्य दुर्घटना बेहोर्नु पर्ने चेतावनी समेत दिएका छन् ।
हाल सामाजिक दुरीमा ध्यान नदिने , भीडभाड बढाउने क्रम समेत ह्वात्तै बढेका कारण कुन पनि बेला कोरोना संक्रमण विस्फोट हुन सक्ने जसले सिङ्गो स्वास्थ्य प्रणाली नै ध्वस्त हुने उनले चेतावनी दिएका हुन् ।