‘बा’ म अर्को जन्ममा हजुरको हरेक बचन पालना गर्नेछु !

विचार

बा

“हेर माइला भनेको मान ! हुँदा खादाको पसल बेचेर कोरिया जाने सपना छोड्दे ! नगै नछाड्ने होस भनेनी अहिले पसल नबेच !

उता ठिकै लाग्यो भने हामी बेचिदिउला तेरो पसल यदि गाह्रो भयो भने तेरो जेट प्लेन चढ्ने सपना पूरा गर अनि आइजा ! ” मेरा बाका यी वचन अहिलेसम्म कानमा उस्तै गरि गुन्जिरहन्छन !

मैले बाको अर्ति सुनिन ,टेरिन र चल्दोफिर्दो पसल बेचेर कोरियाको यात्रा तय गर्ने पक्का निधो गरे ! मेरो निर्णय अन्तिम चरणमा पुगेर कोरिया प्रस्थान गर्ने दिनमा बाले भन्नुभयो ” कुनै पनि बाउले आफ्नो सन्तानको नराम्रो सोच्दैन ! मैले भनेको मानिनस क्यारे !

पसल बेचेरै छोडिस ,त पछुताउनेछस ! घरको टाठोबाठो तै होस ! मैले तेरो भलाइको लागि सोचेर भनेको हु !त पनि बा होस , तैंले पनि तेरा छोराछोरीको लागि सोचेर नै निर्णय गरेको होलास ! ”
“ल राम्रोसँग जा ! अनि एउटा कुरा सुन्त ! ”

भन्नुन बा के कुरा हो ?
” तैंले तेरो र तेरा छोराछोरीको इच्छा पूरा गरेर नेपाल फर्किदा अन्तिममा मेरा लागि एक महिना काम गरेर आएस है !”हस बा ! हुन्छनी , भनेर बाको खुट्टा ढोगी कोरियाली भुमिको लागि पाइला बढाए ! बसपार्कमा बा धर्धरी रुनुभयो ! मैले मेरा बा रोएको पहिलोपटक देख्दै थिए !
कोरिया प्रबेश गरेर काम थालेको दिन नै मलाई आफैदेखी पस्चातापको पीडाले पोल्न थालिसकेको थियो !

मैले मेरा बा को अर्ती किन मानिन ? किन पसल बेच्नुपरेको मलाई ? फलामको काम र ज्यान दुखाइको पिडाले दैनिक बा को बोली नटेरेकोमा आत्मग्लानी हुन्थ्यो ! दिनभरिको ग्राइन्डिङ र भोलिपल्ट बिहान हातका औंलाहरु नचलेर -१५/१६ डिग्रीको तापक्रममा कामको समय भन्दा एक घन्टा अगाडि उठेर भाडोमा मनतातो पानी राखी त्यही पानीमा औंलाहरु डुबाएर बिस्तारै बिस्तारै चलाउदै आजको कामको लागि औंलाहरु स्वचालित बनाउनुपर्ने दैनिकको पिडाले दैनिक जसो मेरा बालाइ सम्झिएर रोएको छु !

हरेक पटक छुट्टिमा जादा कोरिया नफर्किने गरि पसल गर्ने सोच लिएर नेपाल गए तर मैले सोचेजस्तो ठाउँमा खाली ठाउँ थिएन र कोहि पसल बेच्न तयार थिएनन् ! जहाँ पायो त्यहीँ पसल गर्न मनले मानेन र कोरिया फर्किन बाध्य भए !

यस्तो क्रम धेरै पटक चल्यो मेरो तर म हरेक पटक निरास हुँदै पुनः कोरिया फर्किन बाध्य थिए ! छोराछोरीको उज्यालो भबिस्यको खातिर नेपालमा खाली बसेर सम्भव थिएन !मलाई दुख भोग्नुरहेछ र कोरियाली भुमिमा फर्केर आउनु मेरो बाध्यता बनी आइलाग्यो !

यो परदेशको भुमिमा अस्पतालको बेडबाट पनि मैले बा लाई सम्झिरहे ! गह्रौ सामान उठाउदा ढाड चसक्क हुँदा पनि मैले बा लाई सम्झिरहे ! बा भगवान हुन , मैले मेरो भगवानको उपदेश नमान्दा यी बितेका बर्षहरुमा कति पिडा र दुख भोगेर रोएको छु त्यो मलाई मात्रै थाहा छ ! देख्नेले बाहिरी खुसी मात्रै देख्छ मनका हजारौं बेदनाहरु कतिपय यस्ता हुन्छन् कि जुन कसैलाई भन्न सकिदैन र आफैंले आफैलाइ धिक्कार्दै पछुताउनु बाहेकका बिकल्पहरु हुदैनन् !

कम्जोर मुटु हुन्थ्यो भने मैले पनि आत्महत्याको बाटो रोजिसकेको हुन्थे होला तर म पनि बा हु तेसैले तपाईंले दिनुभएको कतिपय उदाहरणहरुलाइ साक्षी मानेर समाजले दिने कायरको पदबिबाट जोगिएको छु ! किनकी मैले पनि बा हुनुको कर्तव्य पुरा गर्नुछ र त संघर्ष गरिरहेछु !

बा मैले तपाईंलाई कुशे औंशिको दिन मात्रै होइन हरपल हरक्षण सम्झिरहेको छु ! म पनि छोराछोरीको बा हु ! तपाईंले भनेजस्तै मैले मेरा छोराछोरीको उदेश्य पुरा गर्न अझै केही समय बाकी छ र तपाईंको लागि एक महिना काम गर्न नै भ्याएको छैन बा ! तपाईंको लागि एक महिना काम गरेर सकेको दिन म नेपाल आउनेछु !

बा तपाईं मेरो श्रीस्ठिकर्ता हुनुहुन्छ ! यदि मान्छेको पुनर्जन्म हुन्छ भने अर्को जन्ममा पनि म तपाईंको छोरा भएर जन्मिन पाउ ! यो जन्ममा तपाईंको उपदेश नमान्दा मैले भोगेका पिडाहरुलाइ भुलाउन सकिरहेको छैन र प्राणपखेरु उडेर चितामा नजलुन्जेल सक्ने पनि छैन तर अर्को जन्ममा तपाईंको हरेक बचनको पालना गर्नेछु !

लक्ष्मी नारायण बस्नेत
दक्षिण कोरिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *