संवैधानिक पदबाटै थरको नामाकरण !

जिवनशैली

काठमाडौं

धनकुटा घर भएका कुलबहादुर गुरुङले धादिङकी बिन्दा गुरुङसँग विवाह गरे । उनी सुविधा र अन्य कारणले धादिङमा नै घर बनाएर बस्न थाले । रहँदाबस्दा उनको नाम नै ‘धनकुटा’ रहन गयो । उनको वास्तविक नाम धेरैले बिर्सिँदै गए ।

कुनै समयमा प्रहरीको हवल्दार बनेका व्यक्तिको तीन पुस्तासम्मलाई ‘हवल्दारको सन्तान’ को रूपमा चिनाउने गरिन्थ्यो । यो चलन गाउँघरमा अहिले पनि देख्न सकिन्छ । लाहुरबाट आएकालाई पुस्तौंसम्म लाहुरेको सन्तान भनेर चिन्ने गरिन्छ ।

विभिन्न ऐतिहासिक दस्तावेज र अभिलेखहरूको अध्ययन गर्दा विभिन्न पदलाई नै बिस्तारै थरको रूपमा उल्लेख गर्ने गरेको पाइन्छ । अहिले प्रचलनमा आएका कतिपय थरहरू मध्यकालका प्रमुख प्रशासनिक पदबाट नामाकरण गरिएको इतिहासविद्हरू बताउँछन् । अहिले प्रचलनमा रहेका केही थरहरू प्राचीन र मध्यकालीन प्रशासनिक पदको नामसँग मिल्ने पनि गरेको छ ।

पूर्णप्रकाश नेपाल ‘यात्री’ ले प्राचीन नेपालमा प्रकाशित गरेको एक आलेख अनुसार मध्यकालीन राज्य व्यवस्थामा पहिलो पाँचवटा उच्च पदमध्ये सबैभन्दा माथि कुमार त्यसपछि क्रमशः अधिकारी, सामन्त, अडै र कार्कीहरू थिए । सोही पदमा काम गरिसकेकाहरूको सन्तानले पछि आफ्नो थर नै सोही पद अनुसार राख्दै गएको यात्री बताउँछन् ।

त्यतिबेला कार्की भन्ने पद पाँचौं ठूलो संवैधानिक पद थियो । यो ठूला ५ पदमध्ये अधिकारी र कार्की अहिले पहाडी भेगमा थर विशेषको नाम बनेको छ । सरकारी अधिकारी जनाउनको लागि पनि अधिकारी शब्दको प्रयोग गरिएको भए पनि अधिकारी अहिले मुख्यतः थर विशेषलाई जनाउनका लागि प्रयोग गर्ने गरिन्छ ।

मध्यकालीन अभिलेखहरूमा झण्डै एक दर्जन पदको उल्लेख छ जुन अहिले आएर नेपाली समाजमा थर विशेषको लागि जनाउन प्रयोग गरिन्छ ।

यात्रीले आफ्नो आलेखमा उल्लेख गरेअनुसार अधिकारी, सामन्त, अडै, कार्की, रावत, खड्का, श्रीमन्त, उमराव, थापा, महरा, रोक्काय र बोहराको नाममा मध्यकालमा प्रशस्ती समेत लेखेको पाइएको छ । कट्टेल र मिश्रलाई त्यतिबेला पेसागत आधारमा बुझ्ने गरिन्थ्यो ।

अर्काेतर्फ रावत वा राउल वा राउत राज खलकको चौतारीया सरहको पदलाई जनाउनका लागि प्रयोग गरिन्थ्यो । यो भने कुनै अभिलेखमा उल्लेख गरिएकोभन्दा पनि भाषाशास्त्रको आधारमा गरिएको अनुमान मात्र हो । भाषाशास्त्री जयशंकर जोशीले यस शब्दको व्युत्पत्तिमूलक व्याख्या गरी राउतहरू दरवारीया पदलाई जनाउने तत्कालीन नाम भएको कुरा दर्शाएका छन् ।

त्यस्तै, खड्गबाहक(खड्गाह) मध्यकालीन राज्य व्यवस्थामा सैनिक संगठनको एउटा पद थियो । तत्कालीन समयमा राजकुमार सैनिकका प्रमुख हुन्थे भने सो पद राजाभन्दा पछिको महत्वपूर्ण हुन्थ्यो । सैनिक संगठनमा नै कुमार, अडै, कार्की, उमराव, खड्का, महरा, थापा र बोहोरा जस्ता पद त्यतिबेलाको सैनिक संगठनमा थियो भन्ने मत आफ्नो आलेखमा यात्रीले प्रस्तुत गरेका छन् ।

अधिकार प्रयोजनको हिसाबले प्रधानसेनापति पदमा राजकुमार निर्विरोध चयन हुन्थे । कुनैकुनै राजाका पालामा वा राजा बढी उदार भएको अवस्थामा त्यस्तो अधिकार अधिकारी वा अमात्यले पनि पाउन सक्थे । विभिन्न अभिलेख र अन्य प्रमाणको आधारमा खड्का पद गुल्मपति वा शास्त्रागारको प्रमुखको पदलाई चिनाउन प्रयोग गरिन्थ्यो भन्ने मान्यता छ ।

बस्नेत मध्यकालीन राज्य व्यवस्थामा दरबारसम्बन्धी मुद्दामामला हेर्ने पद हो । त्यस्तै, विष्ट शब्द पनि बस्नेत, कार्की र खड्का जस्तै प्रशासकीय पद थियो भन्ने बुझिन्छ । विषयपति (प्रमुख जिल्ला अधिकारी) जनाउने पद ‘विष्टप’ वा ‘विष्टपा’ को अपभ्रंश रूप विष्ट भएको मान्ने गरिन्छ । विष्टपको अर्थ लोकनायक भन्ने हुन्छ ।

महत र ठकुरीको उत्पत्तिको विषयमा यात्री लेख्छन् ‘पहिले श्रीमन्त वा श्रृणोत शब्दले मध्यकालीन धार्मिक अधिकरणको प्रमुख पदलाई चिनाउँ’थ्यो ।’ श्रीमन्त, श्रृणोत र महन्त भन्ने तीन शाखामध्ये श्रीमन्तहरूले पछि आफूलाई महतमान्न थाले, महन्त शब्दले सन्यासी शब्दलाई चिनाउन थालियो भने श्रृणोतहरूले आफूलाई ठकुरी ठान्न लागेको उनी बताउँछन् ।

गाउँघरमा सरकारी खबर सुनाउँदै हिँड्ने कटुवाल एउटा पद हो । सोही पदको मान्छेले बिस्तारै थर नै कटुवाल राख्न थाले । अन्ततः कटुवाल पेसामा नलाग्नेहरूको थर पनि कटुवाल राख्न थालियो।

लिच्छविकालीन समाजमा कस्तो थरको चलन थियो भन्ने अभिलेखमा खासै उल्लेख भएको छैन । तर मध्यकालमा विकास भएका कतिपय प्रशासनिक पदहरू भने अहिले आएर थरको रूपमा विकास भएको पाइन्छ ।

तत्कालीन राजाहरूले दिएको राणा उपाधिलाई जंगबहादुरका सन्ततिहरूले पछि आफ्नो थरको रूपमा विकास गराए । अहिले पनि धेरैले ‘जंगबहादुर राणा’ वा ‘जबरा’ थर लेख्ने गरेका छन् । यो राणाकालीन र धेरैले जानकारी राखेको विषय भएकोले बुझ्न सहज छ । तर मध्यकालीन प्रशासनिक पदको बारेमा खोजी गर्नको लागि केही कठिनाइ हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *