होम स्कुलिङ : बालबच्चालाई घरमै लेखपढ, बुवाआमा शिक्षक

जानाकारी

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण झण्डै ६ महिनादेखि शिक्षण संस्थामा पठनपाठन हुन सकिरहेको छैन । स्कुल नखुल्दा विद्यार्थीहरू लगामविहीन घोडा जस्तै खुल्ला भएका छन् । धेरै अभिभावकको गुनासो आफ्नो बच्चाले घरमा पुस्तक पनि हेरेन भनेर सुन्न सकिन्छ ।

कतिपयले बच्चालाई पढाइमा ध्यान दिनको लागि अनलाइन कक्षामा जोड्ने गरेका छन् भने कतिपय शिक्षित अभिभावकहरू भिन्न तरिकाले बच्चालाई घरमै पढाउन पनि सुरु गरेका छन् । यो लामो समयको शैक्षिक संस्थामा भएको बन्दका कारण होम स्कुलिङको अवधारणाले पनि विश्वमा फेरि बहसको अवसर पाएको छ ।

महात्मा गान्धीले भनेका थिए, एउटा असल संस्कार भएको घरभन्दा ठूलो विद्यालय हुनै सक्दैन । एउटा सदाचारी आमाबुबाभन्दा ठूलो प्रशिक्षक कोही हुनै सक्दैन । उनको यही भनाइलाई मिल्दोजुल्दो गरी मार्क ट्वीनजस्ता चर्चित लेखकले समेत लेखेका छन् ‘मैले कहिलै पनि स्कूललाई मेरो र मेरो शिक्षाको बीचमा आउन दिइन ।’

यस्ता धेरै अभिभावक र शिक्षा क्षेत्रका जानकारहरू छन् उनीहरू घरमा पठनपाठन गराउनु नै विद्यालय पठाउनुभन्दा उचित ठान्छन् । तर यसको लागि घरमा पनि फुर्सदिला र शिक्षित अभिभावक भने हुनु आवश्यक छ ।

होम स्कुलिङ अवधारणाको सुरुवात अमेरिकी शिक्षाविद् एवं स्कुल सुधार अभियानका अभियान्ता जोन हल्ट लगायतले १९७० को दशकमा गरेका हुन् । उनीहरूले स्कुलमा बच्चालाई कक्षाकोठाभित्र गर्ने दमनकारी व्यवहारले उनीहरूको दिमागमा शिक्षाको प्रभाव छाड्न सकिँदैन भन्ने मान्यतासहित बच्चालाई घरमा नै राखेर उचित शिक्षा दिन सकिने अवधारणाको विकास गरेका हुन् । अहिले यो अवधारणाले कोरोना भाइरसको महामारीसँगै विश्वभरि फेरि एक पटक होम स्कुलिङको अवधारणाले चर्चा पाएको छ ।

कोरोना भाइरसको महामारीका कारण अहिले विद्यालयहरू बन्द छ । अनलाइन कक्षाको रूपमा सञ्चालित कक्षा पनि कतिपय बोर्डिङ स्कुलहरूले अतिरिक्त शुल्क लिन नपाउने भएपछि बन्द गरिसकेका छन् । यस्तो अवस्थामा नेपालमा पनि होम स्कुलिङको अवधारणा उपयुक्त हुने सक्ने शिक्षाविद्हरू बताउँछन् ।

कसरी पढाइन्छ होम स्कुलिङमा ?

होम स्कुलिङको अवधारणाले विद्यार्थीलाई घरमा नै अभिभावकले सम्पूर्ण पठनपाठनको काम सम्पन्न गराउने र विद्यालयले विद्यार्थीलाई परीक्षामा मात्रै समावेश गराउने गर्छन् । शिक्षाविद् विद्यानाथ कोइराला कुनै पनि विद्यालयले समन्वयकारी व्यवहार देखाउने हो भने होम स्कुलिङको अवधारणा नेपालमा सान्दर्भिक र संभव हुने बताउँछन् । अहिले लकडाउनको समयमा र अरू बेलामा समेत यो अवधारणा प्रभावकारी रहेको उनी बताउँछन् ।

कति आवश्यक छ होम स्कुलिङ ?

कोइराला नेपालमा यसको महत्व नबुझेर मात्रै नत्र यो आवश्यक रहेको बताउँछन् । नेपालमा कतिपय अभिभावकहरू विभिन्न सेवाबाट अवकासप्राप्त हुन्छन् । उनीहरू घरमा फुर्सदिला हुन्छन् भने उनीहरूमा पनि सिकाइको लागि पर्याप्त ज्ञान हुन्छ । उता स्कुलमा बच्चाले चित्तबुझ्दो शिक्षा नपाएको भान अभिभावकलाई भइरहेको हुन सक्छ । त्यसैले यस्तो अवस्थामा नेपालमा पनि होम स्कुलिङको अवधारणा उपयुक्त रहेको उनको बुझाइ छ ।

अमेरिकाबाट सुरु भएको होम स्कुलिङको अवधारणा विशेषगरी शिक्षित र फुर्सदिला अभिभावकहरूले स्कुलमा आफ्नो सन्तानलाई दिइने शिक्षाप्रति चित्त नबुझाएर घरमा नै अध्ययन गराउने र परीक्षाको लागि मात्रै स्कुल पठाउने अवधारणा हो ।

यो अवधारणा अहिलेसम्म नेपालमा लागू हुन सकेको छैन । तर कोइराला लगायत कतिपय शिक्षाविद्हरू यो अवधारणाको पक्षपाती छन् । ‘कुनै पनि घरमा अवकासप्राप्त शिक्षक वा प्राध्यापकहरू हुन सक्छन् । उनीहरूलाई विद्यालयले पठाएको पठनपाठन शैली चित्त नबुझ्न सक्छ ।’ कोइरालाले भने ‘त्यस्तो अवस्थामा बच्चालाई घरमा नै गुणस्तरीय शिक्षा दिन्छु भन्दा दिए भइहाल्यो नि त ।’

त्यतिमात्रै नभएर कतिपय अभिभावकहरू बच्चालाई सैद्धान्तिक मात्रै नभएर व्यवहारिक ज्ञानमा समेत अभ्यस्त गराउन चाहन्छन् । त्यस्तो अवस्थामा होम स्कुलिङको अवधारणा प्रभावकारी हुन सक्ने कोइराला बताउँछन् ।

जस्तो स्कुलमा कुनै बच्चालाई चिया बनाउने सैद्धान्तिक ज्ञान दिइन्छ भने त्यो समयमा घरमा उसैलाई भान्सामा लगेर चिया बनाउन सकिन्छ । पैसाको बचत, व्यवहारिक ज्ञान र घरमा रहेको विज्ञताको उपयोग जस्ता कारणले पनि यो अवधारणा उपयोगी हुने उनीहरू बताउँछन् ।

होम स्कुलिङमा स्कुलसँग किन जोडिनैपर्छ ?

अहिलेको शिक्षा पद्धतिले ज्ञानलाई भन्दा पनि डिग्रीलाई महत्व दिने गर्छ । रोजगारी होस् या त मान्छेको प्रतिष्ठा समेत डिग्रीसँग जोडिएको हुन्छ न कि ज्ञानसँग । त्यसैले डिग्री हासिल गर्नको लागि पनि होम स्कुलिङमा समेत स्कुलसँग भने जोडिनै पर्ने हुन्छ ।

होम स्कुलिङका फाइदाहरू

केही कमजोरीहरूका बाबजुद होम स्कुलिङका धेरै फाइदाहरू समेत छन् । यसको मुख्य फाइदा भनेको नै बच्चाले के सिक्न चाहेको छ र कुन मुडमा सिक्न चाहेको छ भन्ने कुरालाई ध्यान दिएर व्यवहार गर्न सक्नु हो । जस्तो, बिहान हतारहतार उठेर विद्यालयको लागि तयारी गरिरहनु आवश्यक हुँदैन । पढाइ र प्रस्तुतीकरणको दबाबमा विद्यार्थी हुँदैनन् । सौहार्दपूर्ण वातावरणमा बच्चाले सिक्न सक्छ भन्ने यस अवधारणा पक्षधरको मान्यता छ । सामूहिक रुपमा बुझ्नुपर्ने बाध्यता पनि यसमा हुँदैन ।

एकातर्फ स्कुल पठाउँदा एक अर्कासँगको झगडा र कुटाकुटको सम्भावना कम हुन्छ भने बच्चाको संस्कार र गलत कामबाट जोगाउन पनि होम स्कुलिङले भूमिका खेल्ने गर्छ ।

होम स्कुलिङका बेफाइदा

फाइदासँगै यसका केही बेफाइदा पनि छन् । सबैभन्दा समस्याको कुरा त घरमा बच्चालाई धेरै पुल्पुल्याएर राखियो भने बच्चाले अभिभावकलाई नटेर्ने प्रवृत्ति बढ्न सक्छ । स्कुल पनि नपठाउँदा यसले बच्चालाई बिगार्न सक्ने सबैभन्दा ठूलो जोखिम हो । होम स्कुलिङमा कुनै पनि शिक्षित अभिभमावकले दिनभरि बच्चालाई हेरचाह गर्नुपर्छ । साथीभाइको अभाव हुन्छ, यस्तो अवस्थामा बच्चालाई एक्लोपनले सताउन सक्छ । सामाजिक रूपमा गर्ने व्यवहारमा परिवर्तन आउन सक्छ । शारीरिक रूपमा कम सक्रिय हुने हुँदा अल्छिपना बढ्न सक्छ । स्कुलबाट सिक्ने अनुशासन नसिक्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *