पहिलोपटक कोरिया आएका नेपाली विद्यार्थीलाई कोरोना संक्रमण, उपचार खर्च आफैंले तिर्नुपर्ने

कोरिया आज

शिव भुषाल/सिओल

मलेसियाको क्वालालम्पुर ट्राञ्जिट भएर शुक्रबार दक्षिण कोरिया आएका एक नेपाली विद्यार्थीमा सोही दिन नै कोरोना संक्रमण पुष्टि भएको छ। उनी बिहीबारको मलेसियन एयरलाइन्समा क्वालालम्पुर र क्वालालम्पुरबाट कोरियन एयरमा कोरियाको ईञ्छन आएका थिए।

इञ्छनबाट जेजु पुगेका उनमा शुक्रबार साँझ नै संक्रमण पुष्टि भएको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका महासचिव डा. विमल सुवेदीले जानकारी दिए। नेपालबाट उनीसँगै ९ जना सोही ट्राञ्जिट भएर आएको भएपनि आठ जनाको भने रिपोर्ट नेगेटिभ आएको र उनिहरु क्वारेन्टाइनमा रहेको बताइएको छ। संक्रमितलाई हाल जेजु नेस्नल युनिभर्सिटीमा राखिएको छ।

यहाँ बस्दै आएका विदेशीलाई कोरोना संक्रमण पुष्टि भएमा सम्पुर्ण उपचार खर्च सरकाले नै गरिदिने भएपनि, शुक्रबार संक्रमित नेपाली विद्यार्थीले भने सम्पुर्ण उपचार खर्च स्वयंले नै तिर्नुपर्ने बताइएको छ।कोरिया सरकाले गत महिना परिवर्तन गरेको नयाँ नियमअनुसार विदेशबाट आउने विदेशीलाई कोरोना संक्रमण पुष्टि भएको खण्डमा सम्पुर्ण उपचार खर्च बिरामी स्वयंले तिर्नुपर्ने उल्लेख छ।

डा. सुवेदी भन्छन्‚ ‘कोरोना महामारीले कोरियामै भएका विद्यार्थी समेत समस्या परिरहेको अवस्थामा नेपालबाट नयाँ आएका विद्यार्थीले आउँदाको दिनदेखि नै समस्याको सामना गर्नुपर्ने भएको छ।’आफूले नेपालका कन्सलटेन्सीहरुलाई यस्तो महामारीमा कोरियामा नेपाली विद्यार्थी नपठाउन सुझाएको भएपनि उनीहरुले विभिन्न देशको ट्राञ्जिट मिलाएर विद्यार्थी पठाउने प्रयास गरिरहेको सुवेदी बताउँछन्।

कोरियाका नेपाली विद्यार्थीहरुको संस्था ‘सोनसिक’का अध्यक्ष राजाराम श्रेष्ठले अहिलेको अवस्थामा माहामारी रहुञ्जेल नेपाली विद्यार्थी कोरिया नपठाइदिन नेपालमा सञ्चालित कन्सल्टेन्सीहरुलाई आग्रह गरेका छन। कोरियाको नियम कानुन थाहा नहुँदा सामान्य समयमा कोरिया आउने विद्यार्थीले समेत कोरियामा चर्को आर्थिक समस्या झेल्नुपरेको स्मरण गराउँदै श्रेष्ठले अहिलेको यो महामारीको समयमा हतार गरेर कोरिया नआउन कोरिया आउने तयारी गरिरहेका नेपाली विद्यार्थीसँग आग्रह गरेका छन्।

श्रेष्ठ थप्छन् ‘कोरियाका युनिभर्सिटीहरुले अनलाइन कक्षाहरु सञ्चालन गरिरहेकाले माहामारी मत्थर नहुँदासम्म नेपालबाटै अनलाइन कक्षामा सहभागी हुनुहोस्।’ कन्सल्टेन्सीदेखि चर्को रकम बुझाउँदै आएका नेपाली विद्यार्थीले चर्को हवाई भाडासँगै कोरियामा आएर यहाँका अस्पताललाई उत्तिकै शुल्क तिनुपर्ने भएको छ।

संक्रमित विद्यार्थीले कम्तिमा ५ लाख नेपाली रुपैयाँ उपचारमा मात्र खर्च गर्नुपर्ने अनुमान छ। यसका साथै नयाँ आउने विदेशिले दैनिक १ लाख वन तिरेर सरकारी क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य छ। कोरोना नेगेटिभ देखिएका विद्यार्थीले समेत मानसिक समस्या झेल्नुपर्ने भएकाले सकेसम्म अहिलेको अवस्था कोरियामा नआउन यहाँका नेपाली विद्यार्थीहरुको आग्रह छ।

कोरोनाका कारण रोजगारी गुमिरहेको अवस्थामा तत्काल रोजगारी पाउने अवस्था पनि नभएको र कोरियामा नयाँ आउने विद्यार्थीले ६ महिनासम्म पार्ट टाइम जागिर गर्न समेत नपाउने नियम रहेको सरोकारवालाको भनाइ छ।

सोही कन्सलटेन्सीमार्फत् बिहीबार थप ९ जना मलेसियन एयरमा मलेसिया ट्राञ्जिट हुँदै कोरिया आउने तयारीमा रहेको बताइएको छ।
योसँगै कोरियामा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ।नेपाल लाईभबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *