गर्मी विदामा जेजुदो मा मैले जे देखेँ – दिपा

विचार

दिपा मेवाहाङ राई /सिओल

अन्ततः जेजु जाने भइयो । अगस्त र जुलाई यसै पनि अत्यधिक गर्मी हुने महिना । यी महिनाहरूमा दक्षिण कोरियाको तापक्रम ३३ देखि ३९ डिग्रीसम्म पुग्छ ।

त्यसमाथि फिनेल हाउस (विशेष गरी एग्रिकल्चरका लागि प्लास्टिकको प्रयोग गरेर बनाइएको घर) भित्रको तापक्रम बाहिरको अनुपातमा अझ बढी हुन्छ । अत्यधिक गर्मी हुने भएकाले यहाँको कम्पनीले यो समयमा ‘यरुम ह्युगा’ अर्थात गर्मी बिदा दिने गर्छ ।

सामान्यतः अगस्टको पहिलो साताबाट सुरु हुने गर्मी बिदा ५ दिनदेखि दुई साता (कम्पनीको नियमअनुसार) सम्मको हुने गर्छ । हाम्रो कम्पनीले पनि अगस्त १ देखि ५ सम्म गर्मी बिदा तोक्यो । हामी यस्तै ताकमा हुन्छौँ । विदेशको जीवन । महिनांैसम्म लगातारको काम–काम । एकाध दिनको बिदा सरसफाइमै बित्छ ।

अलिक पर भनेको छेउछाउको बजारसम्म पुग्न भ्याइन्छ । कहिले लामो बिदा होला र चराजस्तो फुक्काफाल होऔँला भनेर औंला भाँची बस्छौँ । त्यसैले लामो बिदाको सदुपयोग गर्न अगाडि नै योजना बनाउँछौँ ।योपटकको रोजाइमा जेजु भ्रमण रह्यो । जेजु नै रोज्नुका केही कारण थिए । नेपाल ट्राभलका सञ्चालक ध्यान राईको फेसबुक वालमा देखेकी थिएँ, जेजुको घुमघाम ।

सुलभ प्याकेज । चार जनाभन्दा बढी सहभागी भए थप सुविधा । फेरि नेपाल हुँदा नै थाहा पाएकी थिएँ, दक्षिण कोरियाको अति रमणीय ठाउँ जेजुबारे । विदेशी पर्यटक मात्र नभई कोरियनहरूको पनि छनोटमा पर्दो रहेछ जेजु । बस् रहरको पखेटा फड्फडाइहाल्यो । नेपाल फर्कनुअघि एकपटक जेजु भ्रमण गर्ने । जेजु कञ्चन पानीको बहाव हेर्ने । त्यसको अथाह सौन्दर्यमा एकपटक चुर्लुम्म डुबुल्की मार्ने । अव्यक्त मेरो चाहना सम्बोधन गरिदिनुहुने दाजु ध्यान राईप्रति म हृदयले नतमस्तक भएँ ।

म्यासेन्जरमा जेजु भ्रमण टोली
जेजु जाने त भइयो । अब भरपर्दो साथीहरूको समूह बनाउनुपर्ने भयो । मन मिल्ने, साथ दिने अनि आपत–विपत्मा भर लाग्ने साथी समूह बनाउन थालियो । फेसबुक म्यासेन्जरमा दक्षिण कोरिया किरात राई यायोक्खाका निवर्तमान अध्यक्ष बालकृष्ण बान्तवा दाजु, वर्तमान अध्यक्ष पदम दुमि दाजु, खोटाङ सेवा समाजका अध्यक्ष चित्र घले दाजु, वरिष्ठ अध्यक्ष अनुप चाम्लिङ, इतर आवाज अभियानका अभियान्ता आत्मीय सखी सुष्मा रानाहँमा, अनिल किराती दाजु, ट्राभल सञ्चालक दाजु ध्यान राई र केही दाइहरूलगायत ११ जना जोडियौँ । प्रत्यक्ष भेटघाट गरेर सल्लाह गर्न नपाउँदाको भर्ताल यही म्यासेन्जरले गरिदियो । हामीले प्रविधिको यो स्वरूपको भरमग्दुर उपयोग गर्यौं ।

जेजु प्याकेजभित्र जम्मा सात ठाउँ रहेछ । म्यासेन्जरबाटै जेजु जाने आउने समय, टिकट, बासस्थानलगायत सम्पूर्ण जानकारी गर्यौँ, गरायौँ ।कोभिड–१९ चलिरहेकै थियो । कम्पनीमा कामको सघनता उस्तै । पूर्वघोषित बिदा भएकाले मात्र योजना बनेको थियो । तर जेजु उडानको पूर्वसन्ध्यासम्मै काममा व्यस्त भइयो । सरसफाइ, लगेज प्याकदेखि सारा काम थाती थियो । अरू दिनभन्दा अलिकति अगाडि काम सकेर हिँड्न पाए हुन्थ्यो लागिरह्यो । तर कम्पनीको म्यानेजर मौन थियो । ऊ हाम्रो समस्या अनदेखा गरिरहेको थियो । मलाई भित्रभित्रै रिस उठ्दै आयो । मलाई लाग्यो अब जेजु गइँदैन । अबेला भइसक्यो । सबैले छाडेर हिँडिसके होलान् । म मुर्मुरिँदै म्यानेजर नजिक गएँ ।

“भोलिबाट बिदा हो कि होइन ?” म्यानेजरलाई योसहित मैले तीनपटक सोधिसकेकी थिएँ । “जेजु जान पाइन भने ट्राभल्सलाई बुझाएको रकम कम्पनीले भर्पाइ गर्नुपर्छ ।” मैले पुनः म्यानेजरलाई घुक्र्याएँ । साँझको ७ बज्नै लाग्दा बल्ल काम सकियो । कोरोनाको जोखिम अझै नहटेकाले अनिवार्य रूपमा मास्क प्रयोग गर्नु, धेरै भिड भएको ठाउँमा नजानु भन्ने उर्दी कस्दै गर्मी बिदाको बोनस खातामा हालिदिएको बताए कम्पनी मालिकले । यो सुनेर त्यतिबेलासम्मको सारा रिस हरायो । गर्मी बिदा रमाइलो गरी बिताउनू भन्दै बिदा मागियो । मखलेल हुँदै म र सुष्मा रुमतिर लाग्यौँ ।

रुममा आइपुगेर हतारहतार नुहाई–धुवाई सक्यौँ । लगेज कस्यौँ । उत्तिकै हतारमा सुष्मा र म दौडियौँ दोङदेमुन (जहाँ अत्यधिक मात्रामा नेपाली भेटिन्छ) तर्फ । हामी दोङदेमुनमा खोटाङ सेवा समाज कोरियाले स्थापना गरेको सेल्टरमा पुग्याैं । जुन सेल्टर होम (आवास गृह) मा कथम्कदाचित काम छाड्नुपरेका, बिरामी भएका नेपालीलाई राखिन्छ । त्यहाँ पुगेर लगेज राख्यौँ । फेरि कुद्यौँ सपिङ कम्प्लेक्सतिर । यात्राका लागि आवश्यक चस्मा, जुत्ता, घडी र कपडा खरिद गर्यौँ ।

आधा रात त्यसै बितिगयो । साथीहरूसँग हाम्रो भेटघाट कमै हुन्छ । जब हुन्छ सारा गफ आजै, अहिल्यै सक्याउँ भन्ने हुन्छ । त्यस रात पनि त्यस्तै भयो । गफगाफ रमाइलो हुँदै गयो । जबकि भोलिपल्ट बिहान ७.०५ बजे एयरपोर्ट पुग्नुपर्ने थियो । घडीको सुई बिहानको २ः३० मा अडिएको देखेपछि हामीलाई निदाउनपर्छ भन्ने लाग्यो ।

पछिल्लो दुई सातादेखि लगातार वर्षा भइरहेको थियो । दक्षिण कोरियामा लगभग १२ वर्षपछि यसरी लगातार पानी परेको भन्ने सुन्नमा आएको थियो । करिब तीन घण्टा निदाएर ब्युँझिँदा पनि पानी परिरहेकै थियो । एक हातमा छाता अर्को हातमा लगेज तानेर हिँड्यौं । केही मिनेट हिँडेपछि मेरो लगेज ब्यागको एउटा पाङ्ग्रा खुस्किएछ । मैले पत्तै पाइनँ । अनिल किराती दाजुले भन्नुभएपछि पो थाहा पाएँ । झिस्मिसै भएकाले मोबाइलको लाइट बालेर खोज्यौँ । तर भेटिएन । त्यस बेला अर्को लगेज ब्याग लिन सम्भव पनि थिएन । तीन पाङ्ग्रे लगेज ब्याग गुडाएरै जेजु भ्रमणका लागि निस्किएँ ।

ध्यान दाजुको ट्राभल टुर्सको गाडीमा गुड्यौँ गिम्फो एयरपोर्टका लागि । दोङ्देमुनदेखि गिम्फोको दूरी ४५ मिनेटको रहेछ । अध्यागमनका कर्मचारी बालकृष्ण दाजुको पासपोर्टमा जेन्डर नलेखिएको देखेर एकछिन हेरेको–हेर्यै भए । यो प्रसंगमा हामी खुब हास्याैं । अन्त्यमा हामीले उहाँको नामै फेरिदियाैं । बालु नाना ।

एयरपोर्टको सामान्य चेकिङ प्रक्रिया सकियो । लगेजलगायतको झन्झट पनि सकियो । यतिन्जेलमा पेटमा भोकले उत्पात मच्चायो । सेभेन इलेभेनतिर हान्नियौँ हामी । कफी, बर्गर र चकलेट किनेर बोर्डिङ पास लिनतिर लाग्यौँ । अन्तिम चेकिङमा भने समस्या आयो । भाषाका कारण । हामीमध्ये चार जनालाई । जसका कारण लगेजभित्र क्यामेराको ब्याट्री, पावरबैंक छाड्नुपर्यो । निकैबेरको विवादपश्चात् फर्किंदा ती सामानहरू लिन सकिने बताए । जेजुको सम्झना क्यामेरामा कैद गर्ने मेरो सपना सपनैमा सीमित हुने कुराले म रन्थनिएँ !

अन्ततः हामी जेजुका लागि उड्यौँ ।

सौलबाट जेजुको दूरी करिब ४५३ किलोमिटर छ । समयअवधि ४५ मिनेट प्लेनमा । पानीजहाजमा करिब साढे ६ घण्टा । जेजु एउटा टापु हो । दक्षिण कोरियाको एक प्रान्तको समुद्रको बीचमा पर्छ । दक्षिण कोरियामा र जेजुमा बोलिने भाषा उस्तै भए पनि उच्चारण भिन्न (नेपालमा पूर्वेली र पश्चिमेली भाषाजस्तै) रहेछ । त्यसबाहेक केही शब्दहरू बिल्कुलै फरक भेटिए ।जेजुबाट समुद्रलाई नजिकबाट नियाल्न सकिने रहेछ । सुन्तला धेरै फल्ने भएकाले जेजुलाई सुन्तलाको प्रान्त पनि भनिँदोरहेछ । त्यहाँ उत्पादित सुन्तला दक्षिण कोरियाका विभिन्न ठाउँसम्म पुर्याइने रहेछ ।

हामी जेजु पुग्दा “नेपाल फ्यामेली” लेखिएको डिस्प्ले कार्डसहित ट्राभल टुर्सका एकजना दाइ एयरपोर्टमा उभिरहेको भेट्यौं । आपसमा सबैले अभिवादन गर्यौँ । हामी जम्मा ११ जनाको समूह थियौँ । तर तीनजनाको टिकट बेलुकाको मात्र भएकाले हामी आठजना मात्रै जेजु ओर्लिएका थियौँ । हामीले बसमा सामान राख्यौँ । म बसको अगाडिको सिटमा बसेँ । बस चालक कोरियन दाइ नै हाम्रो गाइड रहेछन् । हाम्रो जेजु भ्रमणको समय तालिका बनेको रहेछ । गाइडले त्यही समय तालिकाअनुसार कहाँकहाँ घुम्ने ? कति समयसम्म रहने, सबै जानकारी गराए । अनि सुरु भयो हाम्रो जेजु घुमफिर ।

ड्रागन हेड रक :
समुद्रलाई दोस्रोपटक नजिकबाट छुन पाएकी थिएँ । समुद्रको छेउछेउ हिँडिरहँदा शरीरमा स्पर्श गर्न आइपुग्ने हावाका झोँकाले बेग्लै आनन्दभूति दिलायो । सम्भवतः हाम्रो समूहका सबैले त्यस्तै महसुस गरे । हामीले पहिलो सामूहिक फोटो त्यही समुद्रलाई पृष्ठभूमि बनाएर खिच्यौँ ।

समुद्र फैलिएर परपरसम्म पुगेको थियो । मलाई समुद्र जादुगरजस्तै लाग्यो । त्यो भिन्दाभिन्दै रङको देखियो । छेउमा सेतो, अलिक पर पहेलो, अलिक पर नीलो । अझ अलिक पर कालो ! यो रोमाञ्चकारी दृश्यावलोकनले मनमा तृप्ति दिलायो ।

त्यो मनोरम वातावरणमा ४५ मिनेट घुमेपछि खानाका लागि होटेलतिर गयौँ । म कोरिया आएर दोस्रोपटक माछाको परिकार खान तम्सिएँ । माछाको काँडा अड्किने डरले म प्रायः माछा खान्नँ, तर जेजुको फ्रेस माछा खाँदा त्यो डर हरायो । माछा खाने तरिका पनि जान्नुपर्ने रहेछ । अनिल दाजुले तरिका सिकाउनुभयो । त्यस दिन मैले माछा मज्जाले खाएँ ।

खानापश्चात् हामी पुनः बसमा चढ्यौँ । हाम्रो गाइड आवश्यकता बेगर नबोल्ने । आवश्यक जानकारी दिनपर्ने भए मात्रै बोल्थे । नत्र आफ्नै सुरमा बस चलाउने । अघिसम्म भोकले शिथिल दाइहरूको शरीरमा स्फूर्ति बढेछ क्यार । बसमै गीत गाउन थाल्नुभयो । कोही नाच्न थाल्नुभयो । मैले पहिलोपटक त्यहीँ सुनेँ “सोचे झैं जिन्दगी रैन छ” भन्ने गीत । लगातार तीनपटक सुन्दा पनि ‘जिन्दगी रैन छ’लाई ‘जिन्दगी रोइराछ’ सुनेछु । पछाडि फर्केर “यो गीतले जिन्दगी रोइराछ भन्छ त ?” सोधेँ । सबै गल्लल हाँसे ।

यत्तिकैमा हाम्रो दोहोरो भूमिकाका गुरुजी, गाइडले अनाउन्स गरे । “अब हावाबाट निस्कने विद्युत् हेर्न जाने । यसबारे पहिला पनि सुनेकी थिएँ । तर कसरी निस्किन्छ ? भन्ने थाहा थिएन । तर केही कठिनाइका कारण परैबाट हेरेर हामी फर्र्कियौँ ।

आन्देकमियोनको चियाबारी
चियाबारी । यो शब्द स्मरण हुनेबित्तिकै इलामको कन्याम चियाबारी आँखाभरि नाच्न थाल्छ । इलामको पर्यटकीय क्षेत्रमध्ये विशेष स्थान, कन्याम । कन्यामको सुन्दर दृश्यपान गर्न बाह्रैमहिना पर्यटकको ओइरो लाग्छ । कन्यामको चियाबारीको तुलनामा कोरियाको चियाबारीको सुन्दरता फिक्का लाग्यो । झापाको टोकला चियाबारीको तुलनामा भने केही हेर्न लायक थियो । तत्क्षण कन्यामसँगको केही यादहरू बल्झियो हृदयमा । बल्झिए तीतामीठा क्षण । मन तम्तमाइलो भयो ।

चियाबारीमै साथी–सङ्गीहरूसँग सुँगुरको मासु पोलेर खाएको मेरो बचपन ब्युँतिएर आएजस्तै लाग्यो । वर्षौंपछि त्यस्तै चियाबारीमा म हिँडिरहेकी थिएँ । यादको उरुङ लिएर म त्यो भिडमा एक्लै–एक्लै हिँडेजस्तो आभाष भयो । खासमा मेरो यादलाई बिथोलिरहने सुष्मा रानाहँमा त्यहाँ थिइनन् । सुष्मा र चित्र घले दाजु चियाबारीमा थिएनन् । उनीहरू रिसाएका थिए, एकदमसँग । गाइडसँग ।

गाइडले हामीलाई एयरपोर्टबाट सीधै घुमफिरमा लगेका थिए । खासमा पहिले होटेलमा पुगेर पे्रmस भएर निस्कने हाम्रो योजना थियो, तर समयको पाबन्दीको ख्याल गर्दै होला, गाइडले आप्mनो सेड्युल त्यसरी बनाएको । गाइडसँगको रिसले चियाबारी घुम्नबाट उनीहरू वञ्चित रहे । गाइडसँगको रिस त मभित्र पनि कायम थियो । तर म हत्तपत्त रिस देखाउन जान्दिनँ । सायद् यो मेरो कमजोरी हो । त्यहाँका अलिअलि फोटो मोबाइलमा कैद गरेर फर्किएँ ।

बिहान आउँदा छुटेका साथीहरू एयरपोर्टमा आइपुग्ने समय भयो । हामी पुनः एयरपोर्ट फर्कियौँ बिहान आउँदा छुटेका साथीहरूलाई रिसिभ गर्न । अब भने हाम्रो समूहले पूर्णता प्राप्त गर्यो । साथीहरूसँगको भेटले रिस मरेर गयो । हामी खानाका लागि नजिकैको होटेलमा पस्यौँ ।

होटेलको बसाइ व्यवस्थाले गर्दा हामी दुई समूहमा विभाजित भएर बस्यौँ । साङ्यपसल (सुँगुरको मासु पोलेर खाने परिकार) को अर्डर गर्यौँ । सोलमा खानेभन्दा भिन्न स्वादमा त्यो आइपुग्यो । साङ्यपसलसँगै पिउन सोजु (लोकल तर ब्रान्ड गरिएको रक्सी) पनि मगायौँ । हामी रमाइलो गफगाफसँगै खान–पिउनमा मस्त भयौँ ।

हाम्रो अर्को भिजिटमा जेजुको हाल्लासान अर्थात् हाल्ला पहाड हुनुपथ्र्यो । हामी सबैको इच्छा त्यही थियो, तर प्याकेजमा नभएकाले जान पाएनौँ । हाल्ला पहाड चढ्न नपाएको क्षतिपूर्ति हामीले हाल्लासानलाई गिलासबाट पिएर लियौँ ।

लभल्यान्ड
हाम्रो अर्को गन्तव्य थियो, लभल्यान्ड । प्रेमिल शब्द । २००४ मा निर्माण गरिएको लभल्यान्डको विशेषता भनेको विविध प्रकारका मूर्तिहरू रहेछ । संख्यामा १४० । ती मूर्तिहरू काठ, माटो, ढुङ्गा, धातु आदिको प्रयोग गरी बनाइएको रहेछ । विशेषतः कुनै सिद्धान्तबाट प्रेरित नभई व्यवहारिक यौनालापका मूर्तिहरू निर्माण गरिएको रहेछ । त्यसैले लभल्यान्ड जेजु भ्रमणको प्याकेजमा नछुट्ने स्थान रहेछ ।

त्यसपछि बल्ल आरामका लागि होटेलतर्फ प्रस्थान गर्यौँ । होटेल पुग्दा रातको १० बजिसकेको थियो । आ–आफ्नो कोठाको चाबी लियौँ । जानुअघि गाइडले भोलिपल्टको भ्रमण तालिकाबारे जानकारी गराए । बिहानको नास्ता ८ बजे । ९ बजे हिँडिसक्ने ।

यात्रामा निस्किएकाले पाँच दिनका लागि सौलको नियमितको आलर्म बन्द गरेकी थिएँ । अत्यधिक थकानले होला मज्जाले निदाइएछ । भोलिपल्ट बिहान ९ बजे बालकृष्ण दाजुको फोनले पो ब्युँझायो । हतारहतार तयार भएर बसमा पुग्दा ९ः१५ भइसकेको थियो ।

“हेल्लो” गाइडलाई सम्बोधन गरेँ । गाइड रिसाएको थियो । कोरियनहरू टाइम टु टाइम हिँड्छन् । समयको ख्याल नगर्दा उनीहरू मुरमुरिन्छन् ।“कोरियाको टाइम, १ मिनेट छिटो पनि हुँदैन । १ मिनेट ढिलो पनि हुनुहँुदैन । सुत्ने नै भए सौलमा सुत्नु । किन घुम्न आएको ?” बसमा चढेपछि हाम्रो कोरियन गाइड मुरमुरिएर बोले । हामी थपक्क असल स्रोता भएर बस्यौँ ।

क्यामेलिया हिल गार्डेन
दोस्रो दिनको पहिलो भिजिट थियो क्यामेलिया हिल । यो हिलबारे धेरथोर जानकारी दिने एकजना गेटमै भेटिए । हामी फूलहरूको सुन्दर बगैँचामा प्रवेश गर्यौँ । बगैँचाको बीचमा पोखरी रहेछ । पोखरीमा भर्खर कोपिला लाग्दै गरेको कमल थियो । त्यसले क्यामेलिया हिलको सुन्दरतामा थप शोभा बढाएको थियो । सुन्दरता थपघट हुनुअघि क्यामेरामा कैद गर्न हामी हतारियौँ ।

नेपालमा क्यामेलियालाई हंसराज भनिन्छ । विश्वकै लामो क्यामेलिया गार्डेनमध्येमा यो गार्डेन पहिलो स्थानमा पर्छ । पहिलोपल्ट सन् १९७९ मा बनेको यो गार्डेन २० हेक्टरमा फैलिएको रहेछ । यो गार्डेनबाट विश्वका ८० देशमा प्लान्टका लागि निर्यात हुँदो रहेछ । पाँच सय प्रजातिको क्यामेलिया यो गार्डेनमा रहेको पाइयो ।

विश्वभरि पाइने क्यामेलियाको सुगन्ध आठ प्रकारको हुन्छ । त्यसमध्येको ६ प्रकारको बासनादार क्यामेलिया यहि गार्डेनमा रहेछ । यसबाहेक विभिन्न जातका फूलको प्लानेट पनि रहेछ । शान्त अनि मनमोहक क्यामेलिया हिल गार्डेनमा डेढ घण्टा बितेको हामीले पत्तै पाएनौँ !

ग्योङ्जोङ
क्यामेलिया हिलपछिको हाम्रो अर्को भिजिट थियो ग्योङ्जोङ । यसलाई पुरानो सुन्तला बगान पनि भन्दा रहेछन् । त्यहाँको विशेषता भनेको बाह्रैमास सुन्तला फल्ने रहेछ । एउटै बोटमा एकैपटक फूल, चिचिला र पाकेका सुन्तला देख्दा हामी अचम्मित भयौँ ! त्यहाँ रातो च्याउको खेती पनि गरिँदो रहेछ । अरूतिर त्यो रातो च्याउको नाम ‘डीएक्सएन’ भए पनि त्यहाँबाट आफ्नै ब्रान्डको नाममा विभिन्न स्थानमा निर्यात गरिँदो रहेछ । त्यो च्याउबाट बनेको कफी पिउँदै हामीले त्यसको फाइदाबारे जानकारी लियौँ । रातो च्याउको उपादेयता थाहा पाएर दाइहरूले किन्नु पनि भयो । यतिन्जेलसम्ममा खाना खाने समय भइसकेको थियो । हामीले खानापश्चात् पुनः कफीको चुस्की लियौँ ।

चेयोनजियोनको झरना
हाम्रो अर्को गन्तव्य थियो चेयोनजियोनको झरना । गाडी पार्किङबाट करिब १० मिनेट दूरीमा भेटियो उक्त झरना । २२ मिटर अग्लो २० मिटर गहिरो र १२ मिटरको फराकिलो यो झरना पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको रहेछ । त्यहाँ हामीले २० मिनेट बितायौँ । झरनाको सौन्दर्यपान गरिरहँदा हामीलाई केही नयाँ चकचक गरौँ भन्ने लाग्यो । सुष्माको झोलामा नेपालका चर्चित कविहरूको कवितासंग्र्रह रहेछ । हामीले त्यसबाट छानेर केही कविता वाचन गरेको भिडियो बनायौँ ।

घुमघामको समयमा सबै निस्फिक्री घुम्ने भएकाले समूहका हामी केही बेरलाई छुटिन्थ्यौँ । तर तोकिएको समयमा गाडीमा भेला हुन्थ्यौँ । बेलाबेलामा बालकृष्ण दाजु जोक सुनाउनुहुन्थ्यो । ती जोक सुनेर हामी मरीमरी हाँस्थ्यौँ । आफ्नै रोस्ट बनाउन सिपालु अरूको रोस्ट त झन् कतिकति बनाउनुभयो । हामी पनि अरूको रोस्टको स्वाद मज्जा मानीमानी लिइरहेका थियौँ । यसले हाम्रो भ्रमणलाई साँच्चै स्मरणीय बनाउँदै लगेको थियो ।

चेन्जीदोङको सेगुइपो सबमेरिन
अबको यात्रा समुद्रमुनिको थियो । २० मिनेटको प्रतीक्षापश्चात् पानीजहाज चढेर पानीभित्रको संसार चियाउन पुग्यौँ । पानीभित्रको संसार अचम्मको थियो । सयौँ थरीका माछा, सामुद्रिक जीवहरूको संसार घुमिरहँदा मनमा कताकता खुसी अनि कताकता भय पनि उत्पन्न भयो । कतै त्यो सिसाको गारो भत्की पो जाला कि ? हामी त्यहीँभित्र निसास्सिएर पो मरौंला कि ? यस्तैयस्तै के–के तर्कना मनमा खेलाउँदै समुद्रको संसार हेर्याँै ।

त्यसपछि ३० मिनेट समुद्रका छालहरूसँगै छचल्कियौं । मैले पहिलोपल्ट समुद्रमा पौडिने अाँट गरेँ । सुष्मा त पौडीबाज नै पो रहिछ । ऊ मस्तसँग बाँकटे हानेर पौडिँदै थिई ।यात्रा समुद्रमय थियो । त्यो साँझको खाना पनि सामुद्रिक नै थियो । धेरैजसो काँचो र जीवित जीव थिए । केही तातोपानीमा उमालिएको । हामीले ती जिउँदो अस्तित्वलाई केहीछिनमै मृत बनायौँ । हामी होटेल फर्कियौं । भोलिपल्टको रुटिन बताएर गाइड फर्किए ।

सेङसनइपको घोडा चढ्ने ठाउँ
तेर्सो दिन अर्थात् भ्रमणको अन्तिम दिन ।हामी त्यहाँ पुग्दा घोडाको सरसफाइ, खानपिन चल्दै थियो । समय नभइसकेकाले एकछिन बसेर कफी पियाँै । केहीबेरमा तयारी सकेको जानकारी आयो । साथीहरू जो घोडा चढ्न इच्छुक थिए, उनीहरूले नेपाली दुई हजारका दरले दाम तिरेर चढे । हामी अनिच्छुकहरू कफीको चुस्कीमा गफिँदै समय व्यतित गर्न थाल्यौँ ।

जेजुको पुरानो गाउँ प्योसनमेन
हाम्रो जेजु यात्राको अन्तिम दिनको अन्तिम भिजिट थियो प्योसनमेन । यो जेजुको प्राचीनकाल ग्रामीण बस्ती झल्काउने सङ्ग्रहालय हो । प्राचीनकालमा जेजुका बासिन्दाहरू बसेको घर, तिनले प्रयोग गर्ने गरेको औजार, ढिकी, जाँतो, जीवजन्तुका लागि बनाइएका घरहरूलगायत दृश्य अवलोकन गर्यौँ ।

अन्त्यमा जेजुको कोसेली किनेर फर्कियौँ । यो जेजु यात्राको बिट मराइ थियो । जेजु महिनौं घुमे पनि धीत नमर्ने ठाउँ रहेछ । हामीसँग त सीमित स्रोत, साधन र समय मात्रै थियो । चाहेर पनि अन्यत्र धेरै ठाउँमा जान सकिएन । तोकिएको समय तालिकाअनुसार एयरपोर्ट आयौँ । तीन दिनसम्म सँगसँगै रहेका गाइडलाई मनैदेखि धन्यवाद दिँदै जेजुको सम्झना हृदयको क्यानभासभरि कोरेर सौल फर्कियौँ ।बार्ह्रखरी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *