बुसानको ३० हजार डलर पुरस्कारमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली फिल्म

कोरिया जानाकारी

सिओल

ठूलो खबर पनि ढ्यांग्रो नठोकी आउने रहेछ। निर्देशक सुजित बिडारीले पनि जीवनकै सबैभन्दा ठूलो खबर सामान्य इमेल नोटिफिकेसनबाट पाए।

उनले निर्देशन गरेको ‘ऐना झ्यालको पुतली’ बुसान फिल्म फेस्टिभलको ‘न्यू करेन्ट सेक्सन’ प्रतिस्पर्धाको अन्तिम दसमा परेको थियो। ३० हजार अमेरिकी डलर (करिब ३५ लाख रुपैयाँ) को यो पुरस्कारको दौडमा प्रतिस्पर्धा गर्ने ‘ऐना झ्यालको पुतली’ पहिलो नेपाली फिल्म हो।

एक महिनाअघि उनले यो खबर सुन्दा उनलाई यो ठूलो उपलब्धि हो भन्ने हेक्कै भएन। त्यसैले उनी ठिक्क मात्रै खुसी भए। ‘ए राम्रै भयो’ खालको उनको खुसीको आयतन तब मात्रै बढ्यो, जब अरूले भन्न थाले, ‘बधाइ छ सुजित, तिमीले इतिहास रच्यौ।’

‘वाउ’ भन्दै क्रमशः अरूले बधाइको ओइरो लाएपछि बल्ल सुजितले पनि महशुस गरे, ‘ओहो, गजबै भएछ।”अलिअलि उत्साह, अलिअलि नर्भस अनुभव गरिरहेको छु,’ उनले भने।

कोरोना महामारीका कारण भर्चुअल रुपमा अक्टोबर २१ देखि कोरियाको बुसानमा चलिरहेको छ। बुसान न्यू करेन्ट सेक्सनमा दस फिल्मबीच प्रतिस्पर्धा हुँदैछन् जसमध्ये दुई फिल्म पुरस्कृत हुनेछन्।

ऐना झ्यालको पुतलीले विश्वकै उत्कृष्ट फिल्म बनाउने सूचीमा अगाडि रहेका जापान, कोरिया, चीन, भारतलगायत देशका फिल्मसँग प्रतिस्पर्धा गर्दैछ। ती देशका फिल्मसँग प्रतिस्पर्धा गर्न पाउने अवसर सुजित वा कुनै पनि नेपालीका लागि पुरस्कारसरह हो। सुजितलाई पनि यस्तै लागिरहेको छ।

‘बुसानसम्म पुग्न नै ठूलो उपलब्धि हो। पुरस्कार जिते त्यो झनै रमाइलो अनुभव हुनेछ,’ उनले भने।बुसान एसियाकै महत्वपूर्ण फिल्म महोत्सव हो। विश्वका कान, ओस्कार, बर्लिन, टोरन्टो, सुन्डान्सपछि बुसानकै नाम आउँछ। ऐना झ्यालको पुतली उडेर बुसानसम्म कसरी पुग्यो त?

‘तीन वर्षअघि एउटा वर्कसपमा बुसान पुग्ने अवसर मिलेको थियो,’ उनले सुनाए, ‘त्यही बेला एसियाका नयाँ निर्देशकहरू प्रवर्द्धन गर्ने महोत्सवमा आफ्नो फिल्म पनि देखाउन पाए गज्जब हुन्थ्यो भन्ने लागेको थियो।’
उनको चाहना पूरा भयो। गज्जब नै भइदियो।

लकडाउनका बेला सुजितले धेरै समय हेटौंडामा बिताए। लकडाउन खुकुलो भएपछि बुसानमा फिल्म दर्ता गर्ने भनेरै पोस्ट प्रोडक्सनको काम सकाउन तीन हप्ता खटिए। लकडाउनकै कारण अड्किएको पोस्ट प्रोडक्सनको काम बुसानकै बहानामा सकियो।बुसानकै सबैभन्दा मुख्य प्रतिस्पर्धामा भिडिरहेको ऐना झ्यालको पुतलीलाई समीक्षकहरूले इमानदारी साथ प्रस्तुत गरिएको कथा भनेर प्रतिक्रिया दिएका रहेछन्।

त्यही कथा संक्षिप्तमा सुनाए, ‘फिल्म पहाडी भेगमा आठ कक्षा पास गरेकी १३ वर्षीया केटीले माध्यमिक तहमा पढ्न गरेको संघर्षको कथा हो।’दुर्गम भेगमा आधारभूत शिक्षाका लागि धपेडी खेप्नु पर्ने बालबालिकाको कथामा उनले दिदीभाइको प्रेम पनि मिसाएका छन्।यसअघि उनले छोटो फिल्म ‘सावित्री’ निर्देशन गरेका थिए। फिल्ममा केकी अधिकारीले निर्वाह गरेको सावित्री चरित्रको मनोविज्ञानलाई सशक्त रुपमा उतारिएको छ।

ऐना झ्यालको पुतलीमा पनि पात्रको मनोदशा चित्रणमा जोड दिइएको उनले बताए। इमानदार कथा मानिएको फिल्मको पटकथा लेख्न सुजितले पाँच पटक दाहोर्‍याएका रहेछन्। छायांकन स्थल खोज्न र प्रि-प्रोडक्सनमा पनि तीन महिना खर्चिएका थिए।

फिल्मको छायांकन संखुवासभामा गरिएको छ। सुजित पूर्वी नेपाल र पश्चिम नेपालको बीचतिर पर्ने हेटौंडाका हुन्। उनका पात्रमा उनी पूरै पूर्वेली वा पूरै पश्चिमी लवज नआओस् भन्ने चाहन्थे। पूर्वी पहाड भए पनि उनलाई संखुवासभाको बोलीमा पूर्वेली लवज हाबी भएको लागेनछ। ऐना झ्यालको पुतलीमा संखुवासभाको सौन्दर्यसँगै त्यहीँका गाउँले कलाकार बनेका छन्। सुजितका अुनसार फिल्ममा नब्बे प्रतिशतभन्दा बढी नन-एक्टर छन्।

यो फिल्म खिच्नेबेला सुजितसँग छोटो फिल्म निर्देशनबाहेक केहीमा सहायक निर्देशक बनेको अनुभव थियो। पटकथाहरू पनि लेखेकै थिए।
तर ऐना झ्यालको पुतली लेख्ने बेला पुराना अनुभव खासै काम नलागेको उनले बताए।

भने, ‘पहिला थ्री-एक्ट संरचनामा बसेर पटकथा लेख्थेँ। यसपालि संरचनागत रुपमा बाँधिएर लेख्ने प्रयासमा धेरै समय खर्च भयो।’
फिल्ममा निजी भावना र नोस्टाल्जियाका कुरा छन्। त्यसैले लेख्ने बेला निजी र फुक्का शैली काम लागेछ। उनले भने, ‘कन्टेन्टले आफ्नो शैली आफैं बनाउने रहेछ।’ऐना झ्यालको पुतलीले सिकाएको मुख्य पाठ भने अर्कै छ।

यो पाठको कथा र पृष्ठभूमि यस्तो छ–फिल्म छायांकनमा जानेबेला सुजितकी श्रीमती गर्भवती थिइन्। त्यसैले डेलिभरी मिति आउनु अघिसम्म फिल्म सकाउने लक्ष्य थियो। तर फिल्म भनेको सामूहिक काम न हो। प्रतिकूल मौसम, प्राविधिक कठिनाइ र मानवीय सीमा। यस्ता धेरै कारणले छायांकन समयमा सकाउने उदाहरण कम भेटिन्छन्।

‘तर मलाई निर्देशक मै हुँ, मैले बल गरे सबै काम सकाएर घर फर्किन सकिन्छ भन्ने विश्वास थियो,’ उनले भने, ‘तर जब सोचजस्तो भएन आफ्नो सीमा महशुस भयो। अनि लाग्यो, मेरो हातमा त केही रहेनछ।’
श्रीमतीको सामान्य डेलिभरी भएको भए सुजितले फोनबाटै सबै सम्हाल्थे होला। तर शल्यक्रिया गर्नुपर्‍यो। बच्चाको स्वास्थ्यमा पनि समस्या देखियो।

सुजित आफूले सम्हाल्नै नसकेको त्यो जटिल समयले धेरै कुरा सिकाएको बताउँछन्। फिल्म निर्देशन होस् वा निजी जीवन, उनको नियन्त्रणमा थिएन। स्टोरी बोर्ड र ब्लकिङ सबै कुरा तयार भए पनि फिल्म खिच्दा कागजमा लेखिए जसरी काम नहुने थाहा पाउँदै गए।फिल्ममा झन्डै सबै नयाँ क्रु-मेम्बर हुनु सकारात्मक पक्ष हो। तर यही कुरा छायांकनमा जाँदा कमजोरी बनिदिने रहेछ। अझ, बालकलाकारलाई काम गराउन उनले सोचेभन्दा गाह्रो भइदियो।

‘कोठामा बनाएको योजना फिल्डमा मिलेन। यसले पनि फिल्म राम्रो बनाउने चुनौती थप्यो,’ उनले भने।प्रि-प्रोडक्सनदेखि छायांकन सकिने बेलासम्मको समय जोड्दा छ महिनाभन्दा बढी संखुवासभामा बित्यो। सुजितसँग यति लामो समय घरबाट टाढा बसेको अनुभव थिएन।
सुजित बिडारी उनले थपे, ‘त्यसमाथि बिहानदेखि रातिसम्म त्यही अनुहार, आज भोलि, पर्सि…। यो केमेस्ट्री र तनाव व्यवस्थापन गर्न असाध्यै गाह्रो हुने रहेछ।’

तर सुजित र उनको समूहले सबै चुनौतीपूर्ण घडी पार गरेर अहिले मिहेनतको फल पाउने समय आइसकेको छ। आज त्यही खुसी साट्ने महत्वपूर्ण दिन बनेको छ।’सावित्री’ होस् वा ‘ऐना झ्यालको पुतली’, सुजितले निर्देशकका रूपमा आफ्नो क्षमता देखाइसकेका छन्।
उनी फिल्ममा डुब्न थालेको २०६४ सालमा अस्कर कलेजमा फिल्म पढ्न थालेपछि हो। त्यसअघि उनी निर्माण व्यवसायको काम गर्थे।

‘म भावुक स्वाभावको मान्छे। तर मैले गर्ने पेसामा भावनाको खासै ठाउँ थिएन,’ उनले सुनाए, ‘दिक्दार अवस्थामा बसिरहेको समय थियो। दिनभर फिल्म हेरेर बिताउँथे।’यतिबेलासम्म फिल्म निर्देशन उनको प्राथमिकतामा आएकै थिएन। विज्ञापनमा रूचि राख्ने उनले विज्ञापन बनाउने तालिम समेत लिए। ग्राफिक डिजाइनिङ गरे। यस्तै रूचिले अस्कर कलेजसम्म पुर्‍यायो।

अस्कार कलेज पुगेपछि भने उनी फिल्मको गहिराइमा डुब्न थाले।
भन्छन्, ‘त्यहाँ पुगेर फिल्मको परिधि र गहिराई बुझियो। सिनेमा मात्रै नभई जीवन दृष्टि पाएपछि ओहो सिनेमा त विशाल रहेछ भन्ने भयो र यसमै डुबियो।’फिल्ममा चुर्लुम्मै डुब्ने यात्रामा बुसानको न्यू करेन्टसम्म पुगेका सुजित र ऐना झ्यालको पुतली समूहलाई शुभकामना !!Setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *