एप्पलकै बाटोमा सामसुङ, स्मार्टफोनसँग चार्जर र इयरफोन नदिने

सुचना/प्रविधि

एप्पलले हालै सार्वजनिक आइफोन १२ सिरिजसँग चार्जर तथा इयरफोन नदिने घोषणा गरेसँगै आइफोन प्रयोगकर्ताहरु मात्र होइन विभिन्न स्मार्टफोन कम्पनीहरुले पनि एप्पलको आलोचना गरे ,यद्यपि स्मार्टफोनसँगै चार्जर र इयरफोन नदिने एप्पलको उक्त काइदालाई अन्य कम्पनीहरुले पछ्याउँदै छन् ।

एक रिपोर्ट अनुसार दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो आगामी फ्लागसिप स्मार्टफोनसँग चार्जर तथा इयरफोन नदिने योजना बनाएको छ ।समाचार अनुसार सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस २१ सँग चार्जर तथा इयरफोन हुनेछैन । सामसुङको यो निर्णयले वातावरण प्रदूषण कम गर्न सहयोग मात्र गर्ने छैन स्मार्टफोनबाट हुने कम्पनीको मुनाफामा पनि वृद्धि गर्नेछ ।

दक्षिण कोरियाली मिडियाहरुका अनुसार सामसुङले केवल एस २१ सिरिजका ग्यालेक्स एस २१ प्लस तथा ग्यालेक्सी एस २१ अल्ट्रामा पनि चार्जर र इयरफोन दिनेछैन ।यद्यपि कतिपयले चाहिँ इयरफोन र चार्जर एकसाथ हटाउनुको साटो सामसुङले सुरुमा स्मार्टफोनसँगै दिने इयरफोन हटाउने र अर्को चरणमा चार्जर पनि नराख्ने योजना बनाएको दाबी गरेका छन् ।

यद्यपि सामसुङले खर्च कटौती तथा आम्दानी वृद्धिका लागि विभिन्न खाले उपायहरुको अबलम्बन गर्दै आएको छ । सामसुङका कतिपय स्मार्टफोनले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछन् । तर यस्ता स्मार्टफोनसँग पनि कम्पनीले २५ वाटकै चार्जर दिने गर्दछ । यस्तोमा प्रयोगकर्ताले फास्ट चार्जिङका लागि सामसुङको अर्को छुट्टै चार्जर खरिद गर्नुपर्ने हुन्छ ।

एस २१ सिरिज जनवरीमा

सामसुङले सन् २०२१ को सुरुआतमै आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ । जनवरी महिनामा सार्वजनिक हुने एस २१ सिरिजमध्ये ग्यालेकसी एस २१ अल्ट्रा स्मार्टफोन कस्तो हुनेछ भन्ने बारेमा केही तथ्यहरु लिक भैसकेका छन् ।

सार्वजनिक भएका समाचारहरु अनुसार ग्यालेक्सी एस २१ अल्ट्रामा १०८ मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ भने सेल्फी क्यामरा ४० मेगापिक्सेलको हुनेछ ।एन्ड्रोइड ११ बाट चल्ने एस २१ अल्ट्रामा ६.८ इन्चको डाइनामिक एमोलेड डिस्प्ले रहनेछ ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *