कोरियामा कोभिडको तेस्रो लहर, नेपालीहरू पनि संक्रमित

कोरिया जानाकारी

सिओल

दक्षिण कोरियामा जाडो बढ्दै गएसँगै कोभिड–१९ को तेस्रो लहरको संक्रमण देखा परेको छ । संक्रमितको संख्या बढेपछि सोमबारदेखि सरकारले ठूला सहरी क्षेत्रमा कडा नियमहरू लागू गरेको छ ।

गत अगस्टमा सरकारको विरोधमा दसौं लाख मानिसले सोल क्षेत्रमा र्‍याली गरेपछि कोभिडको संक्रमण थप फैलिएको थियो ।

हाल देखिएको कोभिडको संक्रमण ५ करोड १० लाखभन्दा बढी मानिस बसोबास गर्ने राजधानी सोल र ख्याङ्गी प्रान्तमा बढी छ । सोमबार सोल क्षेत्रका १ सय ९ तथा ख्याङ्गी प्रान्तका ७४ जनामा संक्रमण पुष्टि भएको थियो । दुवै बाक्लो जनसंख्या भएका क्षेत्र हुन् ।

झन्डै ४ महिना कोभिड–१९ को संक्रमण नियन्त्रणमा लिएको कोरियाले अति आवश्यक कामबाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ ।

लकडाउन नै नगरे पनि सामान्य भइसकेको मानिसको दैनिकी फेरिएको छ । देशभर १० जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने नियम लागू गरिएको छ । सार्वजनिक स्थलमा माक्स नलगाएमा एक लाख वन जरिवाना हुने नियम छ ।

ठूला पार्टी हल, सिनेमा हल फेरि बन्द भएका छन् । विद्यालयहरू खुलेको भए पनि विद्यार्थीलाई आलोपालो गरेर पढाउने व्यवस्था गरिएको कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले जनाएको छ ।

पछिल्ला पाँच दिनमा संक्रमित हुनेको संख्या ३ सयभन्दा बढी छ । पछिल्लो २४ घण्टामा ३ सय ८२ जना संक्रमित भेटिएका छन् भने ३ जनाको मृत्यु भएको छ । कोभिडका कारण कोरियामा अहिलेसम्म ३१ हजार ७ सय ३५ संक्रमित भइसकेको छन् भने ५ सय १३ जनाले ज्यान गुमाएका छन्

‘अहिले फेरि संक्रमण डरलाग्दो अवस्थामा देखिएको छ । अति आवश्यक काम नपरी बाहिर ननिस्कन अनुरोध गर्छौं । सबै मिलेर नै महामारी नियन्त्रण गर्न सक्ने हो,’ कोरियाली प्रधानमन्त्री छङ से क्युनले भनेका छन् ।

संक्रमण नियन्त्रणमा नआए अझ कडा नियमहरू लागू गर्ने पनि केसीडीसीले जनाएको छ । अगस्टमा रोग नियन्त्रणमा आएको भन्दै सरकारले विद्यालय, सिनेमा हल, धार्मिक स्थल, जिम तथा रेस्टुरेन्टहरू खोल्न दिएको थियो ।

नेपालीहरू पनि संक्रमित, अधिकांश विद्यार्थी

गत फेब्रुअरीको अन्त्यमा कोरियामा देखा परेको कोभिड–१९ बाट हालसम्म ३३ जना नेपाली संक्रमित भएका छन् । तीमध्ये अधिकांश विद्यार्थी छन् । गत महिना नेपालबाट अध्ययनका लागि कोरिया आएका २० जना विद्यार्थीमा कोभिड–१९ को संक्रमण देखिएको थियो ।

अक्टोबर १० मा मलेसिया हुँदै कोरिया आएका १४ जना विद्यार्थीमा संक्रमण देखिएको थियो । उनीहरू सबै एकै उडानमा कोरिया आएका देखिएको राजधानी सोल नजिकैको गोयाङ नगरले जनाएको थियो ।

उनीहरू गोयाङमा हरेको कोरियाली भाषा स्कुलमा अध्ययनका लागि आएका थिए । रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कोरिया आएका २ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *