सोल
दक्षिण कोरियामा गम्भिर प्रकृतिका कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएपश्चात त्यस्ता बिरामी उपचार गर्ने अस्पताल शैय्या अभाव हुन थालेको छ ।
स्वास्थ्य तथा समाजकल्याण मन्त्रालयका अनुसार हाल दक्षिण कोरियाका गम्भिर प्रकृतिका बिरामीहरुको उपचार गरिने देशभरका ५४८ अस्पतालहरुमा जम्मा ६६ शैय्या मात्र खाली छन् ।
यता हालै गरिएको एक अध्ययनले कोरोना भाइरस करिव ६.५ मिटरको दुरी सम्मबाट समेत सर्ने बताएको छ । ज्येनबुक नेशनल युनिभर्सिटीले हालै गरेको अध्ययन अनुसार कोरोना भाइरसका जिवाणुहरु ६.५ मिटर परसम्म समेत पुग्ने गरेको पाइएको हो ।
यो अध्ययन पश्चात कोरोना भाइरस २ मिटरसम्म मात्र सर्छ भन्ने मान्यतालाई समेत चुनौति दिएको कोरियाली समाचार संस्थाहरुले बताएका छन् ।
हाल कोरोना भाइरस संक्रमण अनौठो किसिमले फैलिरहेको बताउदै अध्ययनकर्ताहरुले सबैलाई सावधानी अपनाउन अनुरोध समेत गरेका छन् । अध्ययनकर्ताहरुले कोरोना भाइरसको खार खोप निर्माण नभइञ्जेल सरकारले लागु गरेका स्वास्थ्य मापदण्डहरुको अनिवार्य पालना गर्न समेत भनेका छन् ।
यता दक्षिण कोरियाली राजधानी सोलमा प्रति एक हजार जनसंख्यामा १ जनामा कोरोना भाइरस संक्रमण पाइएको अध्ययनले देखाएको छ । यो दर उच्च रहेको बताउदै दक्षिण कोरियाली स्वास्थ्य विज्ञहरुले चेतावनी समेत दिएका छन् ।