सोल
दक्षिण कोरियामा बर्डफ्लुको आतङ्क बढेपश्चात पोल्ट्रिजन्य बस्तुहरुको बिक्री तथा ढुवानीमा २४ घण्टे कर्फ्यु आदेश जारी गरिएको छ । देशैभर लागु हुने गरि ‘स्ट्याण्ड एण्ड स्टिल’ ( जे जहाँ छ त्यहीँ रहने) आदेश जारी गरिएको छ ।
उक्त आदेश पश्चात अब देशैभर रहेका पोल्ट्री फर्महरु, त्यहाँबाट कुखुरा तथा तिनलाई आवश्यक पदार्थ ओसारपसार गर्ने साधनहरु, ति साधन सञ्चालन गर्ने चालक, बिक्री केन्द्र तथा भण्डारण केन्द्रहरु २४ घण्टाका लागि बन्द गरिएका छन् ।
कोरियामा यस किसिमको ‘स्ट्याण्ड एण्ड स्टिल ‘ आदेश दिइएको यो दोश्रो पटक हो । यस अघि गत १२ डिसेम्बरमा समेत ४८ घण्टे देशब्यावी ‘स्ट्याण्ड एण्ड स्टिल’ आदेश दिइएको थियो । उक्त आदेश अटेर गर्ने जो कोहीलाई एक बर्ष जेल तथा ९००० अकेरिकी डलर जरिमाना गरिने अधिकारीले बताएका छन् ।
यस बर्ष मात्र खतरनाक बर्डफ्लु एच-५एन-८ भाइरसका २२ घटना देशभर भेटिइसकेका छन् । उक्त भाइरसका कारण देशभर रहेका पोल्ट्रीहरु प्रभावित हुन सक्ने बताउदै उच्च सावधानी अपनाउन खाद्य तथा कृषि मन्त्रालयले अनुरोध समेत गरेको छ ।