इकार्डीलाई इन्टर मिलानले नराख्ने

खेलकुद

एजेन्सी – इन्टर मिलानका उपाध्यक्ष जेभियर जेनेट्टीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा खेलिरहेका अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डी अर्काे सिजन क्लबमा फर्कने सम्भावना न्युन रहेको बताएका छन् ।

मैदानभित्र प्रभावशाली प्रदर्शन गरेपनि व्यवस्थापनसँग खटपट परेपछि सिजनको सुरुवातमा लोनमा पीएसजी पठाइएको थियो । उनले त्यहाँ उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । लगातार उच्च प्रदर्शन गरिरहेका कारण पीएसजीले इकार्डीलाई स्थायी रुपमा अनुबन्ध गर्ने योजना बनाइरहेको छ । जसका लागि इकार्डीले इन्टर मिलान छोड्ने घोषणा गर्नुपर्ने हुन्छ ।

इकार्डीका एजेन्ट तथा आफ्नो श्रीमती वान्डा नाराले भने पीएसजीले इकाडीलाई इटाली फिर्ता गर्न सक्ने बताइरहँदा क्लबका उपाध्यक्ष जेनेट्टीले उनको इटाली फर्कने सम्भावना नरहेको थपेका छन् । ‘मलाई थाहा छैन । मलाई त्यस्तो लाग्दैन । तर अहिले हामी स्थानान्तरणको बारेमा कुरा गरिरहेका छैनौं । अहिलेको अवस्थामा स्वास्थ्य नै ठुलो कुरा हो । यसबारे हामीसँग सोच्ने समय हुनेछ ।’ उनले इएसपिएनसँग भनेका छन् ।यसबीचमा जेनेट्टीले क्लबका अर्का फरवार्ड लोउटारो मार्टिनेज क्लबमा खुशी रहेको र उनी क्लबमै रहने बताएका छन् । जेनेट्टीले मार्टिनेज क्लबमा खुसी रहेको बताइरहँदा स्पेनिस क्लब बार्सिलोनाले उनलाई भित्र्याउने तयारी गरिरहेको छ । मार्टिनेज अनुबन्ध गर्न इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र चेल्सीले पनि चासो देखाइरहेका छन् ।

यो सिजन १६ गोल गरेका मार्टिनेजलाई बार्सिलोनाले लुइस सुआरेजको विकल्पमा लामो समयको अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । ‘इन्टरमा म उनलाई खुसी भएको देख्छु । उनले क्लबमा राम्रो परिचय बनाइसकेका छन् । हामी मार्टिनेजमा विश्वास गर्छाैं र उनको भविष्य इन्टरमै देख्छु, ‘ जेनेट्टीले थपे । २२ वर्षीय मार्टिनेज २०१८ मा अर्जेन्टिनी क्लब रेसिङबाट इन्टर मिलान पुगेका थिए । इन्टरमा उनको सम्झौता अझै तीन वर्ष बाँकी छ ।

इकार्डी भने सन् २०१३ देखि इन्टरमा मिलानमा रहेका छन् । उनी अर्काे इटालियन क्लब साम्पडोरियाबाट इन्टरमा आएका थिए । इकार्डीले इन्टरबाट २१९ खेलमा १२४ गोल गरेका छन् । यो सिजन पीएसजीबाट भने सबै प्रतियोगितामा ३८ खेलमा २० गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *