कोराेनाले कोरियन भाषा परीक्षा अनिश्चित, कोटा मात्र आयो, तालिका छैन

कोरिया जानाकारी

काठमाडौं,। विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस बढ्दो संक्रमणका कारण यस वर्षको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियन भाषा परीक्षा पनि प्रभावित भएको छ ।कोरियाले २०२१ लागि हुने परीक्षाका लागि अहिलेसम्म कोटा पठाए पनि कार्यतालिका पठाएको छैन । जसका कारण परीक्षा सञ्चालकदेखि परीक्षाको तयारी गरिरहेका सबैलाई अन्योल भएको छ ।

नेपालमा समेत कोरोनाका संक्रमित थपिन थालेका कारण आफ्नो तर्फबाट गर्नुपर्ने तायरी पूरा गर्न नसकेको ईपीएस कोरिया शाखाका निर्देशक कृष्ण खनाल बताउँछन् ।यो वर्षदेखि कम्प्युटर प्रणालीबाट परीक्षा लिने तय भए पनि त्यसको तयारी सकिएको छैन । खनालका अनुसार यो वर्ष कोरियाले ५ हजारभन्दा बढी कामदार लैजाने

गरी कोटा (सिलिङ) पठाइसकेको छ । तर, प्रत्येक वर्ष चैतमा नै आवेदन लिने गरिएकोमा यो वर्ष लकडाउनका कारण प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिएका छन् ।केही वर्षदेखि कोरियन भाषा परीक्षा जेठको अन्तिम सातामा गरिंदै आएको थियो । तर, यस पटक कोरोना रोकथामका लागि जारी लकडाउनका कारण परीक्षाका लागि आवश्यक तयारी नभएकाले परीक्षा अनिश्चित भएको हो ।

नेपालबाट गत वर्ष मात्रै ९२ हजार कामदारले कोरियन भाषाका लागि परीक्षाका लागि आवेदन दिएका थिए । यो वर्ष त्यस्तो संख्या एक लाख नाघ्ने अनुमान थियो । ईपीएस कोरिया शाखाका निर्देशक खनाल भन्छन्, ‘यो वर्ष कोरियाले परीक्षामा नक्कली परीक्षार्थीलाई प्रवेश नै दिन नसकिने गरी बायोमेट्रिक प्रणाली लागू गर्न चाहेको थियो, त्यसको तयारीमा जुट्दै गर्दा कोरोनाको सन्त्रासका कारण तयारीहरु पूरा हुन पाएनन् ।’सरकारले माघको अन्तिम साताबाटै कोरोनाको त्रासको कारण देखाउँदै भाषा परीक्षा पास गरेर भिसा आएका कामदारलाई कोरिया पठाउन रोकेको थियो । कोरियामा कोरोना संक्रमण फैलिएपछि सरकारले जोखिम हुने भन्दै कामदार पठाउन रोकेपछि कोरियाले पत्र नै लेखेर आपत्ति जनाएको थियो ।

तर, चैतको ११ गतेबाट नेपालमा लकडाउन भएपछि अन्तर्राष्ट्रिय उडान नै बन्द भयो । त्यसपछि पनि कोही कामदार कोरिया जान पाएका छैनन् । कोरियाले भिसा दिएको ३ महिनाभित्रै कोरिया पुग्नुपर्ने नियम हुन्छ । तर, थुप्रै कामदारको यस्तो अवधि कटिसकेको छ । यस्तो अवस्थामा भिसा अवधिलाई मान्य बनाइरहन नेपालले कोरियालाई आग्रह गरेको निर्देशक खनालले बताए ।सन् २०२० का लागि कोरिया भाषा परीक्षा पास भएका १२ हजार कामदार अझै जाने क्रम शुरु भएको छैन । कोरोनाको महामारीअघिसम्म २०१८ र १९ का लागि पास भएकाहरु गइरहेका थिए । २०२० को लागि भाषा परीक्षा पास गरेकाहरुले अहिले ‘लेबर कन्ट्रयाक्ट आइरहे पनि उनीहरु जानसक्ने अवस्था छैन । भाषा परीक्षा पास भएको २ वर्षसम्म ‘लेबर कन्ट्रयाक्ट’ आएका कामदार कोरियामा जान पाउने व्यवस्था छ ।नयापेज बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *