अफ्ठ्यारोमा पर्दैछन् जापानमा विदेशी विधार्थीहरु

जापान समाचार

कोबे । मार्चमा जापानी भाषा विद्यालयबाट स्नातक तहको पढाइ पूरा गरेका विद्यार्थीहरु अहिले समस्यामा परेका छन् । कोरोना भाइरसको संक्रमणका कारण उडान बन्द भएपछि घर फर्किन चाहानेहरुले पनि फर्कन पाएका छैनन् । जापानमै बस्न उपयुक्त भिसा नहुँदा काम गर्न पनि नपाएको माइनिची सिन्बुनमा खबर छ ।पढाइ सकिएर बसिरहेका भियतनामी विद्यार्थीहरुले अप्रिल १० मा ह्योगो प्रिफेक्चरको

राजधानी कोबे शहरका मेयरलाई जीविकाको लागि टेवा माग्दै अनुरोधपत्र बुझाएका थिए । उनीहरुले आफुसंग भएको बचत रकम पनि सकिंदै गएकाले सहयोगको याचना गरेका हुन् ।जति नै मितव्ययी भएर खर्च गरे पनि एक डेढ महिनालाई पनि नपुग्ने पैसा छ, यस्तोमा काम गर्न पाउ भन्नु बाहेक विकल्पै छैन विदेशी ग्रायाजुयटहरुसंग ।

केहीले भिसा समाप्त भएकै दिनका लागि घर जान भनेर टिकट पनि किनेका थियौं तर जानु अगाडि नै उडानहरु रद्द भएपछि स्वदेश पनि फर्किन सकेनौं। अपार्टमेन्टका भाडा तिर्नबाट बच्ने धेरैजसो साथीभाइको कोठामा सरेका छन् । कोठाभाडा तिर्न नपरेपछि खानु पर्यो, मोबाइलको बिल तिर्ने पर्यो । विद्यार्थीहरुले आफ्नो याचना–पत्रमा भनेका छन् ।अध्यागन नियन्त्रण ऐनले पढ्नका लागि आवासीय हैसियत भएकाहरुलाई हप्तामा अधिकतम् २८ घण्टा काम गर्ने अनुमति दिएको छ । त्यो पनि विद्यालयमा भर्ना भएका बेलामा मात्रै काम गर्न पाउने नियम छ । तर पढाए सकिएपछि उनीहरुको रोजगारी गैरकानूनी भएको छ ।

कोरोना भाइरसको महामारीका कारण अध्यागमन विभागले भिसा म्याद सकिन थालेकाहरुलाई भिसा एक्सचेञ्ज अन्तर्गत छोटो अवधिको भिसा दिएको भने छ ।पढाइ सकिएका विद्यार्थीहरुले ९० दिनको भिसा त पाएका छन् । तर उनीहरुलाई काम गर्ने अनुमति भने अझै पनि छैन । पढाइ सकेपछि घर फर्किन नपाएर अलपत्र बस्न बाध्य विदेशी विद्यार्थीको संख्या यकिन छैन केहीले काम गर्न नपाएपनि केहीले भने भत्ता पाइरहेको हुन सक्ने बताइएको छ । यस्तोमा धेरैले सरकारी सहयोगको अपेक्षा गरेका छन् । सरकारले सहयोग गर्न नसकेपनि पार्ट–टाइम काम गर्ने अनुमति दियोस् भन्नेहरु पनि छन् ।

अधिकांश विदेशी विद्यार्थीहरुले पार्ट–टाइम काम गरेरै पढ्ने र खाने बस्ने खर्चबर्च जुटाउँछन् । बचेको केही रकम घर पनि पठाउँछन् । उनीहरुसँग खासै धेरै बचत हुँदैन । बस्ने अनुमति दिएर काम गर्न नदिनु वा अन्य खालको सहयोग नदिनु चाँहि बाँचे बाँच नत्र मर भनेर छाडिदिनु भएको विश्लेषकहरु बताउँछन् ।हालैका वर्षमा जापानमा विदेशी विद्यार्थीको संख्या बढेको छ । सन् २००८ मा १ लाख ३८ हजार रहेको विदेशी विद्यार्थीको संख्या सन् २०१८ सम्ममा २ दशमलव ४ गुणाले बढी ३ लाख ३७ हजारमा पुगेको न्याय मन्त्रालयले संकलन गरेर राखेको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गरेको अनुसन्धान अनुसार सन् २०१८ मा करीब २ लाख ९० हजार विदेशी विद्यार्थीले पार्ट–टाइम काम गरेका थिए । यो कुलमध्ये करीब ९० प्रतिशत हो । श्रम बजारमा कामदारको अभाव चुलिएपछि स–साना कामका लागि विदेशी विद्यार्थी र अन्य विदेशीहरुमाथि भर पर्नु परेको छ ।पढाइ सकेर पनि घर जान नसक्ने विद्यार्थीप्रति दायित्व सम्झेर सरकारले उनीहरुलाई काम गर्न दिनु पर्ने विदेशी विद्यार्थीका समस्या हेर्ने विज्ञ तथा कोबो यूनिभर्सिटीमा एशियाली रोजगार कानूनका सह–प्राध्यापक योशिहिसा साइतो बताउँछन् ।

नेपाली विद्यार्थीहरुको हकमा भने यस्ता घटनाहरु सार्वजनिक भएका छैनन, यही परिस्थिती लामो समय रहेमा समस्या बिकराल बन्ने जानकारहरु बताउँदछन् । यस्तो अवस्थामा यहाँस्थित सामाजिक संघसंस्था, समाजका अगुवा तथा सरकारी निकायका प्रतिनिधीहरुको भूमिका महत्वपूर्ण देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *