भिसा नसकिँदै कोरिया फर्किने व्यवस्था गरिदिन सरकारसँग आग्रह

कोरिया जानाकारी

शिव भुषाल-दक्षिण कोरियाबाट नेपाल बिदामा गएका नेपालीले आफूहरुको भिसा अवधि समाप्त हुन लागेको भन्दै सकेसम्म छिटो कोरिया फर्किने व्यवस्था मिलाईदिन नेपाल सरकारसँग आग्रह गरेका छन्।सरकारले लगाएको अन्तर्राष्ट्रिय उडान प्रतिबन्धका कारण नेपालमै रोकिएका एक हजारभन्दा बढी नेपालीले गैरआवासीय नेपाली संघ दक्षिण कोरियामार्फत सरकारसँग यस्तो अनुरोध गरेका हुन्।

नेपालमै भिसा सकिने र कोरिया प्रवेश गर्न नपाईने चिन्तामा रहेका नेपालीको समस्यालाई सरकारसँग पुर्‍याउन पहल गर्न भन्दै एनआरएनए कोरियाले मंगलबारदेखि उनीहरुको लगत लिन सुरु गरेको थियो।संघमार्फत् यस्तो अनुरोध पठाउन आग्रह गर्ने नेपालीको संख्या आईतबार बिहानसम्म १ हजार १ सय ४६ पुगेको संघका

महासचिव विमल सुवेदीले जानकारी दिए । यसरी नेपालमा रोकिनेहरुमा व्यापारी, विद्यार्थीलगायत ईपियस भिसाधारीहरु रहेको संघले जनाएको छ।कोरिया आउन चाहने ७ सय ६७ जना नेपालीको नामावलीसहित बुधवार एनआरएनए कोरियाले सिओलस्थित नेपाली दूतावासमार्फत् अनुरोध पत्र पठाएको थियो। संघले सरकारले अनुमति दिएमा चार्टर विमानमार्फत् नेपालीहरुलाई कोरिया फर्काईने बताएको छ।महासचिव सुवेदी थप्छन्, ‘‘हाम्रो पहिलो प्राथमिकता नेपालमा रहनुभएका नेपालीको भिसा अवधि नेपालबाट थप्ने गरी व्यवस्था मिलाईदिन आग्रह गर्ने हो, त्यो संभव भएन भने चार्टर विमानमार्फत् कोरिया फर्काउने नै हो ।’

संघको उक्त अनुरोधलाई दूतावासले परराष्ट्र मन्त्रालयमा बुधबार नै पठाईसके पनि जवाफ आउन बाँकी रहेको सिओलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख राम सिंह थापाले जानकारी दिए। नेपालमा रोकिएका नेपालीलाई कोरिया ल्याईसकेपछि अनिवार्य १४ दिन क्वारेण्टिनमा राख्ने जिम्मा एनआरएनए कोरियाले लिन तयार भएको र उनीहरुलाई चार्टर विमानमार्फत् कोरिया ल्याउन पहल गरिदिन आग्रह गरिएको व्यहोराको पत्र परराष्ट्रमा पठाईएको थापाले बताए। यसअघि दूतावासले नेपालमा बिदामा रहेका ईपिएस श्रमिकहरुको भिसा नेपालमै थप्ने व्यवस्था मिलाईदिन आग्रह गर्दै कोरियाको मानव संसाधन विभाग (एचआरडी) मा पत्राचार गरे पनि त्यसको पनि जवाफ नआएको थापाको भनाइ छ।

थापा भन्छन्,’कोरिया सरकारले कोरियामा रहेका बाहेक अन्य देशमा रहेका विदेशीको भिसा थप्ने नीति नल्याएकाले नेपालमै भिसा थप्न व्यवस्था गर्ने गरी जवाफ आए राम्रो तर त्यसमा भरपर्ने आधार छैन् । सके सम्म कोरियामै फर्काउने गरी पहल गर्दै छौँ ।’गरिरहेको काम छाडेर नेपाल बिदामा गएका ईपिएस श्रमिकहरु कोरिया रोजगारी गुम्ने चिन्तामा रहेको एनआरएन कोरियाले बताएको छ। कोरियामा ईपिएस श्रमिकको हकमा गरिरहेको कम्पनी छाडेमा तीन महिनाभित्र अर्को कम्पनीमा लागिसक्नुपर्ने कानुनी प्रावधान छ ।

कतिपय नेपालीहरु सोही अवधिमा छोटो समयका लागि नेपाल गई फर्किने गरेका छन ।कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले यसरी कम्पनी परिवर्तनकै बीच नेपालमै रोकिएका नेपाली श्रमिकको हकमा यहाँका सम्बन्धित निकायहरुमा पहल गरिने बताए । यो संकटको बेला भएकाले कुनै पनि देशका सरकार निर्दयी नबन्ने र समस्यालाई बुझ्ने विश्वास लिएको बाँस्तोलाको भनाइ छ।नेपाल लाईभबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *