एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको आफूसँग प्रमाण भएको दाबी गरेका छन् । यो भाइरस चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट फैलिएको उनको भनाई छ । बिहीबार एक जना पत्रकारले ट्रम्पलाई सोधे, ‘अहिले आएर तपाईंले केही देख्नुभयो जसले गर्दा वुहान इन्स्टिच्यु अफ भाइरोलोजी नै यो भाइरसको उद्गमस्थल थियो भन्नेमा
तपाईंको विश्वासलाई उच्च तहमा पुर्यायोस् ?’ ट्रम्पले जबाफमा भने, – ‘हो मसँग छ र मलाई लाग्छ( विश्व स्वास्थ्य सङ्गठनलाई लाज लाग्नुपर्ने हो किनकि उनीहरू चीनको जनसम्पर्क निकायजस्ता छन्।’ चीनले गल्तीले उक्त भाइरस बनाएको वा कसैले उद्देश्यका साथ यो बनाएको हुन सक्ने उनले बताए।
उनले भने, – ‘मलाई थाहा छैन चीनमा कति मानिसहरूलाई हिँडडुल गर्न दिइएन, तर उनीहरू अन्यत्र सबैतिर हिँडिरहेका थिए। त्यो एकदमै खराब हो। त्यो उनीहरूका लागि जवाफ दिन निकै गाह्रो प्रश्न हो ।’ बिहीवार न्यूयोर्क टाइम्सले ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले गुप्तचर निकायलाई उक्त भाइरस वुहानको प्रयोगशालाबाट निस्केको हो वा होइन भन्नेबारे जाँच गर्न निर्देशन दिएको खबर प्रकाशित गरेको थियो।